प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो।
बैठकपछि नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागि हुने तयारी भएको जानकारी दिए। उनले संसदभित्र रहेका दलहरुको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताए।
उनले भने, ‘प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्तामध्ये प्रधानमन्त्रीलाई अनुकुल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने भनेर हामीले व्यवस्थित गरेका छौँ। त्यस सन्दर्भमा ४ गते नै प्रधानमन्त्रीले प्रश्नोत्तरमा सहभागि हुने तयारी हुँदैछ। त्यो हुँदा संसदभित्र रहेका दलहरुको स्ट्रेन्थको आधारमा प्रश्नहरु प्रधानमन्त्रीलाई सोध्नेगरी समझदारी बनेको छ।’
प्रकाशित: ३१ वैशाख २०८० ११:५८ आइतबार