५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकीमा थपिए चारजना नयाँ मन्त्री, दीपक मनांगे बाहिरिए

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिपरिषद् बिस्तार गरेका छन्। शुक्रबार चारजना मन्त्री थप्दै मुख्यमन्त्री पाण्डेले मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन्। आकांक्षी धेरै हुँदा मन्त्री छान्न मुख्यमन्त्री पाण्डेलाई हम्मेहम्मे परेको थियो। शुक्रबार चारजना मन्त्री थपिएसँगै पाण्डे नेतृत्वको सरकारमा सात सदस्यीय मन्त्रीपरिषद् रहनेछ। 

अन्तिम समयमा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनांगे)को सट्टामा तनहुँका जीतप्रकाश आलेलाई उनले मन्त्री बनाउँदै शुक्रबार टिममा चारजना मन्त्री थपेका छन्। १५ दिन अघि मुख्यमन्त्री पाण्डेले सपथ लिँदै दुईजनालाई मन्त्री बनाएका थिए। ती दुवैजना मन्त्रीले कुनैपनि मन्त्रालयको जिम्मेवारी पाएका थिएनन्।  

शुक्रबार नयाँ मन्त्री थपिएसँगै सबै मन्त्रीको कार्यभार समेत तोकिएको छ। अन्तिम समयमा मन्त्री बनेका जीतप्रकाश आलेले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्। दीपेन्द्रबहादुर थापालाई उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी दिइएको छ। महेन्द्रध्वज जिसीलाई कृषि तथा भूमि व्यवस्था, सरस्वती अर्याल तिवारीलाई उर्जा तथा जलश्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ।  

त्यस्तै रेशमबहादुर जुग्जालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात र सुशीला सिंखडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। थपिएका चारजना नयाँ मन्त्रीहरुलाई शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ दिलाएका हुन्।  

थपिएका नयाँ मन्त्रीहरुमा कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा, तनहुँका जीतप्रकाश आले र माओवादीबाट रेशम जुग्जाली रहेका छन्। यसअघि मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई पनि मन्त्री बनाएका थिए। तिवारी र सिम्खडालाई विना विभागीय मन्त्री बनाइएको थियो। पछिल्लो पटक मन्त्रीपरिषद्लाई पूर्णता दिँदै यसअघि विना विभागीय मन्त्रीहरुलाई पनि मन्त्रालयको जिम्मा दिइएको हो।  

प्रकाशित: २९ वैशाख २०८० ११:०३ शुक्रबार

गण्डकी प्रदेश चारजना नयाँ मन्त्री