२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लेखापरीक्षण सार्वजनिक गर्न दलहरूलाई निर्देशन

निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ। आयोगले लेखापरीक्षण प्रतिवेदन बुझाइसकेका ८२ वटा राजनीतिक दललाई एक साताभित्र सो प्रतिवेदन सार्वजनिक गरी त्यसको जानकारी गराउन निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

‘आयोगको बुधबार बसेको बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७८/८९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयभित्रै पेस गर्ने ८२ वटा राजनीतिक दललाई आयोगमा पेस गरेको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो र टेलिभिजन आदि) र सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, इन्स्टाग्राम) का माध्यमबाट सार्वजनिक गरी सात दिनभित्र त्यसको जानकारी आयोगमा गराउन निर्देशन दिइएको छ,’ प्रवक्ता पौडेलले भने।

निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराई त्यसको प्रतिवेदन एक महिनाभित्र आयोगमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।

आयोगले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन पेस नगरेका मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिकलाई स्पष्टीकरण सोधेको छ। उनीहरूले सात दिनभित्र स्पष्टीकरण दिनुपर्नेछ।

त्यस्तै आयोगले आव २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधि सकिएपछि पेस गरेका नौवटा राजनीतिक दल र सोही आवको लेखापरीक्षण प्रतिवेदन पेस नगरेका १६ वटा राजनीतिक दललाई पनि स्पष्टीकरण सोधेको छ। उनीहरूलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ।

प्रकाशित: २९ वैशाख २०८० ०१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App