८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

कमाउ धन्दामा लाग्दा प्रहरी खोरमा नेता

नक्कली शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा बुधबार पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण प्रहरीका माझमा। तस्बिर: नागरिक

नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेता पनि प्रहरी अनुसन्धानमा तानिएपछि मुलुकको राजनीतिक वृत्त थर्थराएको छ। पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। खाणलाई उनका निजी सचिव नरेन्द्र केसीसहित काठमाडौंको मैजुबहालस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो।

खाण गृहमन्त्री हुँदा भुटानी शरणार्थीका विषयमा नक्कली प्रतिवेदन तथा कागजात तयार पारिएको, प्रहरी हिरासतमा रहेका सरकारका सचिव टेकनारायण पाण्डेले खाणको संलग्नता र निर्देशनमा आफूले काम गरेको बयान दिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। खाण गृहमन्त्री हुँदा पाण्डे गृह मन्त्रालयको सचिव थिए। प्रहरीले बुधबार खाणलाई काठमाडौं जिल्ला अदालतमा पेस गरी चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ।

सत्तारूढ दल कांग्रेसका नेता खाण पक्राउ परेपछि प्रतिपक्षी दल एमालेमाथि पनि दबाब बढेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्रउ पुर्जी जारी भएपछि फरार रहेका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई एमालेले सचिव पदबाट निलम्बन गरेको छ। पूर्वउपप्रधानमन्त्री रायमाझी प्रतिनिधिसभाका सदस्य पनि हुन्।

‘अमेरिकामा आवास, रोजगारी र सामाजिक सुरक्षा व्यवस्थासहित जान पाए नेपाली पैसा दिन तयार हुन्छन् भन्ने सबैलाई थाहा छ,’ प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘केशव दुलालले पैसा कमाउन नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर पठाइदिने आइडिया निकालेको देखिन्छ।’

रायमाझीले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग जोडिएर उच्चस्तरको राजनीतिक वातावरण मिलाउने भूमिका निर्वाह गरेको प्रमाण प्रहरीले फेला पारेको छ। सोहीअनुसार प्रहरीले रायमाझीलाई पक्राउ गर्न यही वैशाख २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। त्यसपछि उनी फरार छन्। एमालेले सचिवबाट बर्खास्त गरेपछि रायमाझीले आफू बिरामी भएर उपचारमा रहेको निवेदन पठाएका छन्।

यो प्रकरणमा संलग्न भएको आरोपमा तत्कालीन गृहसचिव (पछि उपराष्ट्रपति कार्यालयमा सरुवा भएका) टेकनारायण पाण्डे, एमाले उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार इन्द्रजित राई, फरार भउका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप, कांग्रेस नेत्री सुजाता कोइराला उपप्रधानमन्त्री हुँदा उनको निजी सचिवालयमा रहेका केशव दुलाललगायत १२ जना प्रहरी हिरासतमा छन्।

यो प्रकरणमा नेताहरू मुछिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र बालकृष्ण खाणकी पत्नी मञ्जु खाणलाई गिरोहका सदस्यले करोडौं रकम दिएको भनिएको अडियो पनि सार्वजनिक भएको छ। तर आरजु र मन्जुले उक्त अडियो ‘फेक’ भएको दाबी गरेका छन्। आरजुले उक्त अडियोबारे सत्यतथ्य पत्ता लगाउन माग गर्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्। यो प्रकरणमा पूर्वगृहमन्त्री थापा र उनका छोरा प्रतीक, गृह मन्त्रालयका कर्मचारी पनि तानिन सक्ने देखिएको छ।

प्रहरीका अनुसार हाई प्रोफाइलका व्यक्तिहरूलाई प्रहरी खोरमा पुर्‍याइरहेको नक्कली भुटानी शरणार्थी प्रकरणको जग भने एक व्यक्तिको ‘आइडिया’मा बनेको हो। ती व्यक्ति केशव दुलाल हुन्। मोरङ घर भई हाल ललितपुर बस्ने दुलाल पनि गत चैत १२ गतेदेखि प्रहरी हिरासतमा छन्।

उच्च तहका नेताहरू नै यो प्रकरणमा जोडिन थालेपछि प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले भेटघाटलाई तीव्रता दिएका छन्। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक शंका नगर्न आग्रह गरेका छन्।

संसद् सञ्चालनसहितका विषयमा शीर्ष नेताहरूबीच छलफल भइरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले तीनै दलका शीर्ष नेताबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको प्रहरी अनुसन्धानमा कुनै पनि प्रकारको दबाब नदिने सहमति भएको बताए।

प्रधानमन्त्री दाहालले यसो भने पनि एमाले अध्यक्ष केपी शर्मा ओलीकै दबाब र प्रभावमा रायमाझीलाई अहिलेसम्म पक्राउ नगरिएको स्रोतहरूको दाबी छ।

नेपाल प्रहरीले रायमाझीलाई पक्राउ गर्न पुर्जी जारी गरेलगतै ओलीले सांसद एवं पूर्वउपप्रधानमन्त्री रायमाझीलाई बाटैमा हतकडी लगाउनुनपर्ने प्रतिक्रिया दिएका थिए। एमालेकै निर्देशनमा रायमाझी फरार भएको आरोप लागेपछि बुधबार बल्ल उनलाई पार्टी सचिवबाट निलम्बन गरिएको छ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री खाण बुधबार पक्राउ परेपछि मात्र एमाले रायमाझीलाई निलम्बन गर्न बाध्य भएको हो। रायमाझीले बुधबार नै संसद् सचिवालयमा बिरामी भएको भन्दै बिदाका लागि निवेदन पठाएका छन्। यसैले एमाले यो विषयलाई विषयान्तर गरेर रायमाझीलाई जोगाउन लागिपरेको आशंका व्यक्त गर्न थालिएको छ। खाण पक्राउ परेपछि कांग्रेस पनि आन्तरिक छलफलमा जुटेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बुधबार बसेको पदाधिकारी बैठक बिहीबार दिउँसो पुनः बस्नेगरी सकिएको छ। बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पक्राउ परेका खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्न प्रस्ताव गरे पनि निर्णय भने हुन सकेन।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री खाण बुधबार पक्राउ परेपछि मात्र एमाले रायमाझीलाई निलम्बन गर्न बाध्य भएको हो।

प्रहरीका अनुसार हाई प्रोफाइलका व्यक्तिहरूलाई प्रहरी खोरमा पुर्‍याइरहेको नक्कली भुटानी शरणार्थी प्रकरणको जग भने एक व्यक्तिको ‘आइडिया’मा बनेको हो। यो प्रकरणमा जग बसाउने व्यक्ति केशव दुलाल हुन्। मोरङ घर भई हाल ललितपुर बस्ने उनी गत चैत १२ गतेदेखि प्रहरी हिरासतमा छन्। कांग्रेस नेत्री सुजाता कोइराला २०६६ जेठदेखि २०६७ माघसम्म उपप्रधान एवं परराष्ट्रमन्त्री हुँदा दुलाल उनको स्वकीय सचिव थिए। त्यसबेला नेपालस्थित भुटानी शरणार्थीलाई राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्त (युएनएचसिआर) ले तेस्रो मुलुक पुनर्वास गराइरहेको थियो।

सन् १९८७ देखि नेपालमा आएर बस्न थालेका भुटानी शरणार्थीलाई युएनएचसिआरले सन् २००७ देखि २०१६ सम्म तेस्रो मुलुकमा पुनर्वास गराएको थियो। युएनएचसिआरमा सुरुमा मान्यताप्राप्त भुटानी शरणार्थीको संख्या १ लाख १९ हजार ८८४ थियो। पुनर्वासका बेला १ लाख १६ हजार ३ सय ५७ शरणार्थी युएनएचसिआरमा दर्ता भएका थिए, जसमध्ये १ लाख १३ हजार ३०७ जना मात्रै तेस्रो मुलुक पुनर्वासमा गएका थिए। उनीहरूलाई ८ वटा देशमा पुनर्वास गराइएको थियो। ९६ हजार १ सय ७० जनालाई अमेरिका लगिएको थियो।

सुजाता परराष्ट्रमन्त्री हुँदा उनका स्वकीय सचिव भएका दुलालले शरणार्थी प्रमाणीकरण र तेस्रो मुलुकमा पठाउने प्रक्रियाबारे जानकारी पाएका थिए। नेपालमा रहेका भुटानी शरणार्थीको समस्या हेरिरहेको युएनएचसिआर सन् २०१६ मा पुनर्वासको काम रोकेर बाँकी काम नेपाल सरकारलाई जिम्मा लगाउँदै २०२० मा फर्किएको थियो। त्यसपछि भुटानी शरणार्थीको दायित्व नेपाल सरकारको काँधमा आयो। सरकारले सात स्थानमा रहेका भुटानी शरणार्थीलाई झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी र मोरङको पथरीशनिश्चरे शिविरमा राख्यो।

सन् १९८७ देखि नेपालमा आएर बस्न थालेका भुटानी शरणार्थीलाई युएनएचसिआरले सन् २००७ देखि २०१६ सम्म तेस्रो मुलुकमा पुनर्वास गराएको थियो।

यिनै शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाउन सके राम्रो कमाइ हुने ‘आइडिया’ दुलालमा पलायो। ‘अमेरिकामा आवास, रोजगारी र सामाजिक सुरक्षा व्यवस्थासहित जान पाए नेपाली पैसा दिन तयार हुन्छन् भन्ने सबैलाई थाहा छ,’ प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘केशव दुलालले पैसा कमाउन नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर पठाइदिने आइडिया निकालेको देखिन्छ। भुटानी शरणार्थीको सबै काम नेपाल सरकारले गर्ने भएपछि राज्य संयन्त्र मिलाए नेपालीलाई नै नक्कली भुटानी शरणार्थी बनाएर पठाउन सकिने आइडिया उनले शक्ति केन्द्रनिकटका व्यक्तिहरूलाई सुनाए।’

दुलालले यो आइडिया सुरुमा आफ्ना निकट मित्र ललितपुरका सानु भण्डारीलाई सुनाए। दुलालको तर्कमा भण्डारी पनि सहमत भए। त्यसका लागि शक्ति केन्द्रदेखि गृह मन्त्रालयसम्मको ‘सेटिङ’ मिलाउनुपर्ने थियो। सेटिङका लागि भण्डारी नै अग्रसर भए। सेटिङमा योजना सफल भए करोडौं कमाउन सकिने प्रलोभनमा राजनीतिक दलका नेता र निजामती प्रशासनका कर्मचारीलाई पारियो।

स्रोतका अनुसार भण्डारीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ‘मामा’ भनेर सम्बोधन गर्थे। यसकारण सबैभन्दा पहिला भण्डारीले रायमाझीलाई कन्भिन्स गरे। त्यसपछि शरणार्थीका नाममा कमाउने धन्दामा लागेको गिरोहमा रायमाझी जोडिन पुगे।

दुलालसँग पनि रायमाझीको राम्रो चिनजान थियो। जुन कुरा रायमाझी स्वयंले स्विकारेका छन्। त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र गृहमन्त्री रामबहादुर थापा थिए। रायमाझीले योजनाबारे तत्कालीन गृहमन्त्री थापा र उनका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई बताए। रायमाझीको योजनामा थापा र राई पनि सहमत भए। त्यसपछि मन्त्रालयभित्रबाट आवश्यक कुरा मिलाउने जिम्मेवारी सुरक्षा सल्लाहकार राईले लिएको प्रहरी स्रोत बताउँछ। उनले मन्त्रालयका उच्च कर्मचारीलाई योजनामा मिलाए।

दुलालले यो आइडिया सुरुमा आफ्ना निकट मित्र ललितपुरका सानु भण्डारीलाई सुनाए। दुलालको तर्कमा भण्डारी पनि सहमत भए।

यसरी संगठित बनेको गिरोहको पहलमा २०७६ जेठ ३० गते तत्कालीन गृहमन्त्री थापा (मन्त्रीस्तरीय निर्णय) ले ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन कार्यदल’ गठन गरे। जसको खाकासमेत गिरोहकै सदस्यले बनाएको खुलासा भइसकेको छ। गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा बनेको कार्यदलमा गणेशबहादुर केसी विज्ञ सदस्य र मन्त्रालयका सहसचिव दीपकप्रसाद न्यौपाने सदस्य थिए।

कार्यदल फिल्डमा खटिँदा गिरोहका सदस्य पनि सँगै गए। गिरोहका केही बैठकमा रायमाझी पनि सहभागी भएको स्रोत बताउँछ।

कार्यदल बन्दाताका गिरोहमा टंक गुरुङ, सागर थुलुङ राई, सन्देश शर्मालगायत पनि जोडिइसकेका थिए। त्यसपछि गिरोहमा एमाले सचिव रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक, थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज, तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पनि जोडिएको स्रोतको दाबी छ। गिरोहमा जोडिएकामध्ये केहीको पर्याप्त प्रमाण प्रहरीले फेला पारेको छ भने केहीको प्रमाण खोजी भइरहेको छ।

अमेरिका जाने व्यक्तिको खोजीमा पूर्वका मोरङ, सुनसरी, इलाम, झापालगायत जिल्लामा गिरोहका टंक गुरुङ, सागर थुलुङ राईसहितको टोली सक्रिय भयो। पश्चिमका दाङ, प्युठान, रुकुम, रोल्पालगायत जिल्लामा सन्देश शर्मालगायतको टोलीले मान्छे खोजेर पैसा उठायो। गिरोहका सदस्यले अमेरिका पठाइदिने प्रलोभनमा प्रतिव्यक्ति ५ लाख देखि ५० लाख रूपैयाँसम्म असुलेको पाइएको प्रहरी स्रोत बताउँछ।

पन्थी नेतृत्वको कार्यदलले २०७६ कात्तिकमा तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा युएनएचसिआरले पुनर्वासका बेला दर्ता गर्दा छुट भएका भन्दै ४२९ जनाको नाम राखिएको थियो। गिरोहका सदस्यले भने कार्यदलसमक्ष ८७५ जना शरणार्थी गणनामा छुटेको भन्दै निवेदन दिएका थिए। तर कार्यदलले प्रमाण नभेटिएको भन्दै ती नाम प्रतिवेदनमा राख्न इन्कार गरिदियो। यसरी गिरोहको योजना र चाहनाअनुसार कार्यदलको प्रतिवेदनमा नक्कली शरणार्थी समेटिएनन्।

सो प्रतिवेदन कार्यान्वयन भए गिरोहको योजना पूरा नहुने भएपछि गिरोहकै चलखेलमा प्रतिवेदन सार्वजनिक गरिएन। गिरोह यत्तिकैमा चुपचाप भने बसेन। गिरोह प्रतिवेदनमा ८७५ जनाको नाम थप्न लागिप¥योे। त्यतिन्जेल राजनीतिक घटनाक्रम विकसित भएर ओली नेतृत्वको सरकार ढल्न पुग्यो। गृहमन्त्री थापाको पद पनि गयो। कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए। त्यसपछि केही समय गिरोहका सदस्यको निद हराम भयो।

अमेरिका जाने व्यक्तिको खोजीमा पूर्वका मोरङ, सुनसरी, इलाम, झापालगायत जिल्लामा गिरोहका टंक गुरुङ, सागर थुलुङ राईसहितको टोली सक्रिय भयो।

अमेरिका जाने प्रलोभनमा लाखौं रकम बुझाएका व्यक्तिहरूले गिरोहका सदस्यलाई तारन्तार फोन गर्न थाले। त्यसैक्रममा केहीको रकम फिर्तासमेत भएको पाइएको प्रहरी स्रोत बताउँछ। ‘तर सबैको फिर्ता दिन सम्भव थिएन। सबै पैसा मन्त्री, नेता, उच्चपदस्थ कर्मचारीहरूको हातमा गइसकेको थियो। गिरोहका सदस्यको हातमा थिएन,’ प्रहरी स्रोत भन्छ, ‘त्यसपछि प्रहरीमा उजुरी आएको देखिन्छ ।’ केही पीडितले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएको स्रोत बताउँछ। उजुरी गृह मन्त्रालयमा पनि दिइएको थियो।

यसै क्रममा गृहमन्त्री भएका कांग्रेस नेता बालकृष्ण खाणले २०७८ साउन २७ गते गृह सचिवमा टेकनारायण पाण्डेलाई ल्याए। पाण्डे आएपछि गृह मन्त्रालयमा परेका उजुरीको जानकारी लिन थाले। जानकारी लिनेक्रममा उनीसँग गिरोहका नाइकेहरू केशव दुलाल र सानु भण्डारी सम्पर्कमा पुगे। सोही क्रममा उनीहरूले सचिव पाण्डेलाई पनि आर्थिक प्रलोभनमा आफ्नो काम गराउन सहमत गराए। त्यसपछि पाण्डेले नै गृहमन्त्री खाणलाई सहमत गराएको देखिएको प्रहरी स्रोत बताउँछ। ‘पाण्डे सचिवज्यूले आफ्नै पहलमा खाणजीलाई साढे चार करोड दिलाएको बयान दिनुभएको छ,’ अनुसन्धानमा खटिएको प्रहरी स्रोत भन्छ, ‘अहिले खाणज्यू पक्राउ पर्नुको एउटा कारण त्यो बयान पनि हो ।’

२०७८ पुस ३० मा मन्त्रिपरिषद्ले प्रतिवेदनका सुझाव कार्यान्वयन गर्ने निर्णय भएको देखिएको छ। यस्तै २०७९ जेठ २७ गते मन्त्रीस्तरीय निर्णयबाट पन्थी नेतृत्वको कार्यदल प्रतिवेदनमाथि पुनर्विचार गर्न भन्दै अर्को कार्यदल बनाइएको पाइएको प्रहरी स्रोतको दाबी छ। यसरी पूर्वगृहमन्त्री खाण यो प्रकरणमा जोडिन पुगेको प्रहरी स्रोतले बतायो। यी सबै कामका लागि हाई प्रोफाइल व्यक्तिहरूलाई करोड-करोडको प्रलोभनमा फसाएर काम गिरोहले काम गराएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन्।

प्रकाशित: २८ वैशाख २०८० ००:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App