३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने एमालेको निष्कर्ष

नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ।

मंगलबार केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको हो। सचिव रायमाझीको नाम पनि सो प्रकरणमा आएकाले उहाँले विधिपूर्वक, कानुनपूर्वक अनुसन्धानको काममा सघाउनुपर्ने निर्णय गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। पक्राउ पूर्जी जारी गरिएका एमाले सचिव रायमाझी फरार रहनु भएको छ। तर अनुसन्धानको प्रक्रियालाई उहाँले सघाउनुपर्ने पार्टीले निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए।

उनले भने, ‘त्यसमा हामीले लामो छलफल गरिराख्न परेन। नेकपा एमाले कानुनको शासनमा विश्वास गर्ने पार्टी हो। त्यसकारण कानुनको परिपालन गर्ने कुरामा हामीले निर्वाह गर्नुपर्ने भूमिकाहरु खासगरी हाम्रो कमरेड टोपबहादुर रायमाझी अनुसन्धानमा सन्दर्भमा उहाँको नाम आएको छ। यो कानुनको शासन, विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक, कानुनपूर्वक अनुसन्धानको प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ।’

यसैगरी बैठकले यही बैशाख २८ गतेदेखि सुरु हुने पार्टी केन्द्रिय कमिटी बैठकमा प्रस्तुत गर्ने १० वटा एजेण्डाहरु पनि तय गरेको छ। जस अनुसार भदौं १० र ११ गते सम्पन्न केन्द्रिय कमिटी बैठकयताको राजनीतिक घटनाक्रमहरुसहितको राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नु हुनेछ। त्यसैगरी मिसन ग्रासरुट अभियानको समिक्षा गरी पार्टी केन्द्रले र प्रदेश कमिटीहरुले वार्षिक कार्ययोजना बनाउने छ।

हालसम्म केन्द्रिय सचिवालय बैठकले गरेको निर्णयहरु पनि बैठकले अनुमोदन गर्ने एजेण्डा तय गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताए। बैठकमा नवप्रवेशीहरुको व्यवस्थापन गर्ने विषयमा पनि छलफल हुने एजेण्डा तय गरिएको छ। समसाययिक राजनीतिक परिस्थितिको समिक्षा गर्ने र अध्यक्ष ओलीको मन्तव्यसहित बैठक समापन गर्ने एजेण्डा एमालेले तय गरेको छ।

एमालेले अन्य पार्टीबाट प्रवेश गरेकाहरुलाई व्यवस्थापन गर्ने काम नभएकाले उनीहरुको कार्य विभाजनको काम पनि सो बैठकले गर्ने जनाएको छ। बैठकमा विभिन्न आयोगका अध्यक्षहरुको पनि समिक्षात्मक प्रतिवेदन पेश हुने र त्यसउपर पनि छलफल हुनेछ।

प्रकाशित: २६ वैशाख २०८० १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App