४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

आगामी बजेटले उत्पादन र राजस्व बढाउने विषयलाई प्राथमिकता दिन्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम उत्पादन र राजस्व बढाउने विषयमा केन्द्रित हुने बताएका छन्।

पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले विराटनगरमा सोमबार आयोजना गरेको आर्थिक वर्ष ०८०/८१ को योजना तर्जुमा गोष्ठिलाई सम्बोधन गर्दै बजेट, नीति तथा कार्यक्रम उत्पादन बढाउने र राजस्व बढाउने विषयमा केन्द्रित हुने बताएका हुन्।

मुख्यमन्त्री कार्कीले भने ‘प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम उत्पादन वृद्धि, रोजगार प्रवर्द्धन, राजस्व वृद्धि, वातावरण संरक्षण र सौन्दर्यीकरणमा केन्द्रित हुने छ।’

राजस्व संकलन लक्ष अनुसार नहुने भएकाले बजेटको आकार चालु आर्थिक वर्षको भन्दा कमको हुने सम्भावना रहेको मुख्यमन्त्री कार्कीले बताए। स्थानीय तह र संघ सरकारको तुलनामा प्रदेश सरकार विकास आयोजना कार्यान्वयनमा अब्बल देखिएको मुख्यमन्त्री कार्कीको दाबी छ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले आगामी बजेटमा जनतालाई उत्पादनसँग जोड्ने खालका नीति तथा कार्यक्रम प्रदेश सरकारले ल्याउने बताए।

उनले जनतालाई उत्पादनसँग जोड्दै उत्पादन बढाउने र राजस्व संकलन पनि बढाउने विषयलाई नीति तथा कार्यक्रमले जोड दिने धारणा राखे। आचार्यले पर्यटन प्रवर्द्धनलाई फरक तरिकाले अगाडि बढाउने योजना रहेको बताए।

उनले संघीय सरकार मातहतका हलेसी, पाथीभरा, बराह क्षेत्रलाई प्रदेशको मातहतमा ल्याउन संघ सरकारसँग लविङ गरिरहेको जानकारी दिए।

आचार्यले विराटनगर स्थित विराट राजाको दरबार क्षेत्रमा १ सय ४० बिघा जग्गा अधिग्रहण गरेर विराट राजाको भव्य दरबार बनाउने योजना पनि अघि बढेको बताए।

उनले चुनावका वेला गरेको प्रतिबद्धता अनुसार प्रदेश र संघ सरकारको बिचमा पुल बनेर विकास निर्माण र प्रदेशका जनताको जीवनस्तर उठाउने काममा आफू लागि परेको पनि स्पष्ट पारे।

कार्यक्रममा निमित्त वन निर्देशक धनञ्जय लामिछाने, पर्यटन विकास आयोजनाका प्रमुख कुलदीप यादव, वन तथा वातावरण मन्त्रालयका सचिव संजिवकुमार राईले कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: २५ वैशाख २०८० १६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App