२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आरोपित जोगाउन दबाब बढाउँदै राजनीतिक नेतृत्व

नक्कली भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाइदिने धन्दामा लागेको गिरोहलाई कारबाहीको माग गर्दै सडकमा युवा।तस्बिर: विजय राई/नागरिक

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर ठगी गर्ने गिरोहमा राजनीतिक दलका नेताहरूकै नाम जोडिएपछि उनीहरूलाई जोगाउन शीर्ष नेताहरू सक्रिय भएका छन्। ठगी गिरोहमा संलग्न भएको आरोपमा एमाले सचिवसमेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी बहालवाला सांसद पनि हुन्।  

रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनी कतै नभाग्ने भन्दै पक्राउ नगर्न घुमाउरो भाषामा दबाब दिएका थिए। अहिले रायमाझी सम्पर्कविहीन छन्। रायमाझीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुईपटक भेटिसकेका छन्। झन्डै डेढ वर्षदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रिक्त हुँदा नियुक्ति प्रक्रिया अघि बढाउन र मुलुकका यावत् समस्यामा कुनै चासो नदिएका ओली अहिले रायमाझीलाई जोगाउन भने सक्रिय छन्।

अहिलेसम्मको प्रहरी अनुसन्धानले ठगी गिरोहमा एमाले सचिव रायमाझी, उनका छोरा सन्दीप, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे (यसअघि गृह मन्त्रालयका सचिव), एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई, उनका छोरा निरजसहितको संलग्नता देखाएको छ। सचिव पाण्डे, पूर्वसुरक्षा सल्लाहकार राई, एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइसकेको छ। टोपबहादुर रायमाझी, प्रतीक थापा र निरज राईलाई अनुसन्धान दायरामा ल्याउन पक्राउ पुर्जी जारी भइसकेको छ। काठमाडौं जिल्ला अदालतबाट बुधबार पक्राउ पुर्जी जारी भएका एमाले सचिव रायमाझीसहितलाई अनुसन्धानको दायरामा ल्याउन सघाउनुको साटो एमाले नेतृत्व जोगाउन सक्रिय भएको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर ठगी गर्ने गिरोहमा राजनीतिक दलका नेताहरूकै नाम जोडिएपछि उनीहरूलाई जोगाउन शीर्ष नेताहरू सक्रिय भएका छन्।

ललितानिवास जग्गा प्रकरणमा तत्कालीन नेकपा महासचिव विष्णु पौडेल (हाल एमाले उपाध्यक्ष), कांग्रेस उपसभापति विजयकुमार गच्छेदारसहितका नेता तानिएका थिए। तर राजनीतिक नेतृत्वको बलमा पौडेलसहितका केही नेतालाई अनुसन्धानको दायरामा ल्याइएन। गच्छेदारसहितका केही नेता र कर्मचारीविद्ध मुद्दा दायर भए पनि त्यसपछिका प्रक्रिया अघि बढ्न नसकेको अवस्था छ। ३३ किलो सुन प्रकरणमा पनि अहिलेसम्म अनुसन्धान प्रभावकारी ढंगबाट हुन सकेको छैन।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहमा एमालेसहित प्रमुख दलका नेताहरूको संलग्नता देखिँदै गएपछि सत्ताको मोलमोलाइ गरेर दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको आशंकालाई शनिबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको भेटले बल पु¥याएको छ।

ओलीले बिहीबार पनि प्रधानमन्त्री दाहाललाई भेटेपछि रायमाझीलाई पक्राउ गर्ने कुरा रहस्यमय र  षड्यन्त्रपूर्ण रहेको बताउँदै पत्रकारसँग भनेका थिए, ‘चार वर्षअगाडि काटेका चेक अहिले पनि काट्ने मान्छे सँगै छन्। यस्ता कुरालाई लिएर सांसद, पटकपटक मन्त्री भएका पार्टीका नेता रायमाझीलाई षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने अवस्था रहस्यपूर्ण छ।’

ओलीले त्यस दिन आफूले रायमाझीसँग कुरा गरेको पनि बताएका थिए। तर बिहीबारदेखि रायमाझी सम्पर्कविहीन छन्।

प्रधानमन्त्री दाहालसँग शनिबार भेट गरेपछि ओलीले पत्रकारलाई नै रायमाझी खोज्ने जिम्मा लगाएका छन्। आरोपित रायमाझीलाई जोगाउन आफू नलागेको बताएका ओलीसँग पत्रकारले रायमाझी कहाँ छन्? भन्ने प्रश्न गरेका थिए। जवाफमा ओलीले भने, ‘तपाईंहरू खोज्नू न।’

उनले प्रधानमन्त्री दाहालसँग के विषयमा छलफल भयो भन्ने कुरा भने खुलाएनन्। यसअघि ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजिएको भन्ने कुरा आफू प्रधानमन्त्री भएकै बेला सुनिएको बताएका थिए। ‘त्यसबेला गृहमन्त्री र अनुसन्धान विभागका अधिकारीलाई पनि बोलाएर मैले भुटानी शरणार्थीका विषयमा कुरा राखें, त्यसमा राम्ररी खोजीनिती गर्न भनें। त्यसपछि हामी सरकारबाट हट्यौं। हामी सरकारबाट हटेपछि के भयो, थाहा भएन,’ ओलीले भनेका थिए।

ओलीसँग झन्डै डेढ घण्टा छलफल गरेपछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा दाहालले पछिल्लो प्रकरण (नक्लली भुटानी शरणार्थी) मा आफू कसैको दबाबमा नपर्ने बताए। प्रक्रिया र कानुन अनुसार सरकार अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री दाहालले भने, ‘प्रक्रिया, पद्धति र ऐनअनुसार सरकार दृढताका साथ अगाडि बढ्छ। दोषी कोही नछुटून्, निर्दोष कोही नपरून् भन्ने मान्यताबाट गइन्छ।’

ओलीले रायमाझीका विषयमा चासो राखेको स्वीकार गर्दै दाहालले भने, ‘अस्ति (बिहीबार) पनि उहाँको कन्सर्न थियो। तर आफ्नो दलका नेता जोगाइदिनू भनेर प्रधानमन्त्रीसँग भन्न सक्ने कुरा भएन। म दबाबमा पर्दिनँ।’

स्रोतका अनुसार प्रहरीले एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापालाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिन सक्ने सम्भावना छ। थापा गृहमन्त्री भएका बेला भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाइदिने धन्दामा लागेको गिरोहले संगठित रूपमा काम गरेको थियो। थापाका छोरा प्रतीक पनि अनुसन्धानमा तानिएका छन्। पूर्वगृहमन्त्री थापा पनि अनुसन्धानका लागि तानिनसक्ने सम्भावना रहेको स्रोत बताउँछ।

त्यस्तै कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री हुँदा गृहसचिव रहेका (हाल उपराष्ट्रपति कार्यालयका सचिव) पाण्डे पनि पक्राउ परिसकेका छन्। खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको शनिबार बताएका छन्।

स्रोतका अनुसार प्रहरीले एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापालाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिन सक्ने सम्भावना छ।

पुनर्बासका लागि तेस्रो देश नगईकन नेपालमा बसेका भुटानी शरणार्थीको समस्या समाधानका लागि २०७६ असार २९ गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले प्रतिवेदन बुझाए पनि सार्वजनिक गरिएन। तर ठगीमा संलग्न गिरोहले प्रतिवेदन हात पार्दै त्यसमा उपसूची थपेर छुटेका र तेस्रो मुलुकमा जान चाहने शरणार्थी भन्दै नेपालीको नाम राख्यो। जसमा झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङ लगायत जिल्लाका ८ सय ७५ जना नेपाली रहेको बताइएको छ। गिरोहले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रूपैयाँसम्म असुलेको प्रहरी अनुसन्धानले देखाएको छ।

पैसा लिएर पनि अमेरिका नपठाइदिएको भन्दै करिब डेढ महिनाअघि ८१ जनाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। सोही जाहेरीपछि प्रहरी अनुसन्धान चलिरहेको छ। जाहेरीका आधारमा प्रहरीले चैत १२ गते गिरोहका नाइके भनिएका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई पक्राउ गरेको थियो। ती तीन जनासँगको बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २४ वैशाख २०८० ००:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App