१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्छ: अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्ने बताएका छन्।

आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा अहिलेको सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन्।

सरकारले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ। “सरकारको स्थिरताबिना मुलुकको आर्थिक, सुशासन र समृद्धि प्राप्त हुँदैन, त्यसैले सत्तामा रहेका राजनीतिक दलले मुलुक र जनताको हितमा परिवर्तनमुखी काम गर्नु पर्दछ।”

अध्यक्ष यादवले राजनीतिक दलका नेताप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेको बताउदै मुलुकले अत्यन्तै आर्थिक सङ्कट बेहोरिरहेकाले सरकारले आगामी बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित गर्नुपर्नेमा जोड दिए।

सरकार परिवर्तनको हल्ला व्यर्थ रहेको बताउँदै उनले भने, “दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाए कसैको हित हुँदैन। अब जनतालाई गरेर देखाउने बेला आएको छ, हाम्रो पाटी शिक्षा, रोजगारी, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्दछौँ।”

अध्यक्ष यादवले नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर विदेश पठाउँदै कमाउने प्रथा चलेकोबारे आफूले पहिलोपल्ट सुनेको भन्दै यसबारे सरकारले गम्भीररुपमा छानबिन गरेर जोसुकै दोषी भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

अध्यक्ष यादवले वर्तमान आर्थिक सङ्कटको समाधानका लागि सरकारले आफ्नो आर्थिक नीतिमा परिवर्तन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले व्यापारीले घरमा थुपारेको भनिएको रकम बाहिर ल्याउन सरकारले अर्थ नीतिमा परिवर्तन गर्नुपर्ने बताए।

उनले भने, “घरघरमा थुपारिराखेको रकमलाई बाहिर ल्याउन पाँचसय र एकहजारका नोट विमुद्रीकरण गर्ने जुन हल्ला बजारमा छ, त्यसो गरिए देशको आर्थिक सङ्कट झन बल्झिने मात्र नभई अर्थतन्त्र नै डामाडोल हुन्छ, त्यस्तो कदम सरकारकै लागि आत्मघाती हुनेछ।”

सांसद यादवले कोशी प्रदेशमा नामकरणलाई लिएर चलिरहेको असन्तोषलाई गम्भीरतापूर्वक ध्यान दिएर सम्बोधन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २३ वैशाख २०८० १४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App