परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन्।
आज शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विदेशी मुद्राको सञ्चिति १०/१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको सुनाए।
उनले देश श्रीलङ्का जस्तै हुन्छ भनेर हल्ला फिँजाइएको चर्चा गर्दै वास्तविकता त्यस्तो नरहेको उल्लेख गरे। भूमिसम्बन्धी आयोगले निर्धारण गरेको जग्गाको राजस्व पुनरावलोकन गरिने उनले बताए। जग्गाको राजस्वको दर निकै उच्च रहेकाले घटाउनका लागि काम अगाडि बढाइने उनको भनाइ थियो।
उनले आरक्ष विस्थापितको समस्या वर्षौंदेखि थाति रहेकाले सामाधानका लागि प्रतिबद्ध रहेको बताए। उनले आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउन पहल गरिने उल्लेख गरे। चौधर नदी नियन्त्रणका लागि चालू आवदेखि काम अगाडि बढ्ने उल्लेख गर्दै जिल्लाका सनबोरा, स्याली र दोदा नदी नियन्त्रणका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइने उनको भनाइ थियो।
प्रकाशित: १७ वैशाख २०८० १०:०९ आइतबार





