७ वैशाख २०८१ शुक्रबार
राजनीति

माघ ९ मै भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को?

भारतमा पक्राउ परेका फरार सांसद् लक्ष्मी महतो कोइरी।

हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन पुस २६ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगै कोइरी पनि संसद् भवनमा लाम लागेका थिए। कोइरीलाई पक्राउ नगरी त्यतिकै जान दिएपछि गृहमन्त्री लामिछानेको आलोचना भएको थियो। त्यसपछि कोइरीलाई गिरफ्तार गर्न लामिछानेले प्रहरीलाई निर्देशन दिँदै विज्ञप्ति जारी गरेका थिए।

कोइरी भारत गएको थाहा पाएपछि नेपाल प्रहरीले उनलाई निगरानी गर्दै पक्राउका लागि भारतीय प्रहरीलाई आग्रह गरेको थियो। हत्या अभियोगमा अदालतबाट दोषी ठहरिएका कोइरी भारतमा भएकाले गिरफ्तार गरिदिन भारतीय पक्षलाई नेपाल प्रहरीले आग्रह गरेको थियो।

हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।

भारतीय प्रहरीको वाराणसी स्पेसल टास्क फोर्स (एसटिएफ) ले उनलाई पक्राउ गरेपछि तत्कालीन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले गृहमन्त्री लामिछानेलाई जानकारी गराएका थिए। त्यतिबेला लामिछाने सशस्त्र प्रहरी बलको वार्षिकोत्सव कार्यक्रममा भाग लिन हल्चोक पुगेका थिए।

कोइरीले भारतीय प्रहरीलाई आफू राजनीतिक व्यक्ति रहेको र मधेसका निम्ति क्रियाशील रहेको बताउँदै आफ्नो उद्देश्य भारतलाई समेत सहयोग गर्ने रहेको भनेपछि त्यहाँको प्रहरीले उनलाई नेपाल प्रहरीका प्रतिनिधिलाई हस्तान्तरण गर्न अस्वीकार गरेको थियो। नेपाल प्रहरीले मात्र नभएर कर्मचारीतन्त्रको माथिल्लो तहबाट पनि उनलाई नेपाल प्रहरीसमक्ष बुझाइदिन आग्रह गरिएको थियो।

तर भारतीय प्रहरीले नबुझाउँदा नेपाल प्रहरीको हातबाट कोइरी उम्किएका थिए। दोस्रोपटक सांसद बनेर प्रतिनिधिसभामा प्रवेश गरेका लामिछानेले शुक्रबार फेरि यस विषयलाई प्रवेश गराएका छन्। लामिछानेले बैठकमा कोइरी वाराणसीमा उनकै सालासँग रहेको थाहा भएको बताउँदै एउटा तस्बिरसमेत मोबाइलमा देखाएका थिए।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार माघ ९ गते बिहान नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर कोइरीलाई पक्राउ गरी वाराणसीस्थित एसटिएफ अफिसमा लगेको थियो। नेपाल प्रहरीले भारतीय प्रहरीसँग कोइरीलाई हत्या अभियोगमा अदालतले दोषी ठहर गर्दै जेल सजाय तोकेकाले जसरी पनि फिर्ता गर्न आग्रह गरेको थियो। सो आग्रहप्रति सुरुमा भारतीय प्रहरी सहमत भए पनि कोइरीले भारतीय प्रहरीलाई आफू नेपालको सांसद भएको र नेपालमा आफ्नो पार्टीको सरकार रहेको बताउँदै केही दिनपछि आफैं नेपाल जाने बताएका थिए।

नेपाल प्रहरीका तत्कालीन आइजिपी सिंहले पनि त्यतिबेला गृहमन्त्री रहेका लामिछानेसँग कोइरीलाई ल्याउन पहल गरिदिन आग्रह गरेका थिए। ‘सशस्त्र प्रहरीको स्थापना दिवस थियो, त्यही दिन मैले उहाँलाई कोइरी पक्राउ परेको जानकारी गराएको थिएँ, उहाँले त्यतिबेला सुन्नु मात्रै भयो, कुनै उत्तर दिनुभएन। उहाँले पहल गर्नुभएको भए कोइरीलाई त्यही बेला नेपाल ल्याउन सकिन्थ्यो,’ नेपाल प्रहरीको उच्च स्रोतले सिंहलाई उद्धृत गर्दै भन्यो।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार माघ ९ गते बिहान नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर कोइरीलाई पक्राउ गरी वाराणसीस्थित एसटिएफ अफिसमा लगेको थियो।

संसद् बैठकमा लामिछानेले उनी कसरी भारत गए भन्नेबारे आफूलाई जानकारी रहेको र आवश्यक परे सम्बन्धित निकायलाई उक्त जानकारी दिने बताए पनि आफू गृहमन्त्री भएका बेला प्रहरीले भारतमा कोइरी पक्राउ परेको तस्बिर, प्रमाण सबै पठाउँदा पनि उनी किन मौन बसेका हुन् भन्ने बारेमा केही बोलेनन्। ‘हाम्रो प्रहरीले माघ ९ गते बिहानै उनी बसेको स्थान लोकेट गरेर पक्राउ गरी दिउँसो एसटिएफ अफिस लगेर पाँच घन्टा राखेको थियो, त्यहीबेला नै उच्च तहको पहलकदमी आवश्यक परेको जानकारी गराइएको थियो,’ स्रोतले भन्यो, ‘उहाँ (तत्कालीन अवस्थामा गृहमन्त्री रहेका लामिछाने) ले कुरा सुन्नु मात्रै भयो, प्रतिक्रिया दिनुभएन।’

कोइरीले वाराणसीस्थित एसटिएफ कार्यालयमा आफू हत्यारा नभएको र मधेसको हितमा लडेको बताएका थिए। उनले मधेसको हितमा लड्नु भनेको भारतको पनि हितमा लड्नु रहेको भन्दै नेपाल प्रहरीसँग नपठाउन र केही दिनमै आफैं जाने बताएपछि एसटिएफले हस्तान्तरण गर्न मानेन। त्यही जानकारी प्रहरी नेतृत्वले तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई गराएको थियो।

त्यसअघि माघ ६ गते लामिछानेले गृह मन्त्रालयका तत्कालीन प्रवक्ता फणीन्द्रमणि पोखरेलमार्फत कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचारसहित निर्देशन दिएका थिए।

कर्तव्य ज्यान मुद्दाका दोषी फरार कोइरी महोत्तरी क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। फरार प्रतिवादी संसद्मा उपस्थित भएको विषयमा प्रश्न उठेपछि तत्कालीन गृहमन्त्री लामिछानेले गृह मन्त्रालयका प्रवक्ता पोखरेललाई विज्ञप्ति जारी गर्न लगाएर पक्राउ गर्न निर्देशन दिएका थिए।

कोइरीले वाराणसीस्थित एसटिएफ कार्यालयमा आफू हत्यारा नभएको र मधेसको हितमा लडेको बताएका थिए।

माघ ६ अघिबाटै प्रहरीको एउटा टोली भारतीय प्रहरीसँग समन्वयमा थियो। कोइरीले घरमा पत्नीसँग कुराकानी गरेको थाहा पाएपछि प्रहरीले त्यसलाई आधार मानेर उनी बसेको स्थानसम्म पुगेको थियो। त्यतिबेला कोइरी आफ्नो सालाका साथमा रहेको प्रहरीले जनाएको छ। स्रोतका अनुसार एमालेका एक सांसदले कोइरी पक्राउ परेको विषयमा माघ ९ गते साँझ गृहमन्त्री लामिछानेलाई सोध्दा उनले आफूलाई सुरक्षा निकायले केही जानकारी नगराएको बताएका थिए।

प्रतिनिधिसभा बैठकमा शुक्रबार सांसद कोइरीकै विषयलाई लिएर हंगामा भयो। सभामुख देवराज घिमिरेले अन्य सांसदसँगै कोइरी पनि स्वास्थ्य उपचारमा रहेको जानकारी गराउँदै उनको बिदा पनि अनुमोदन भएको घोषणा गरेपछि विरोध भएको थियो।

सभामुखको घोषणालगत्तै माओवादी केन्द्रका हितराज पाण्डेले कोइरीबाहेकको नाम मात्र अनुमोदन गर्न माग गरेका थिए। नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले पनि टेबुल ठोकेर उक्त मागप्रति सहमति जनाएका थिए। तर सभामुखले कार्यसूची अघि बढाए। लगत्तै सत्तापक्षका सांसदहरूले उभिएर विरोध गरे।

नेपाली कांग्रेसका प्रमुख रमेश लेखकले फरार मान्छेलाई बिरामी बिदामा रहेको बताउँदा जगहँसाइ हुने बताए। रास्वपाका लामिछानेले पनि नयाँ पुस्ताका सांसद अहिले संसद्मा आएको उल्लेख गर्दै ‘राजनीतिको नाममा लाजनीति’ नगर्न आग्रह गरे। उनले आफू गृहमन्त्री भएका बेला कोइरी फरार रहेको र भारतमा रहेकोसम्म सूचना आएको बताए पनि पक्राउ परेको र ल्याउन नसकेको कुराचाहिँ लुकाएका थिए। एमाले सांसद रघुजी पन्तले ‘फरारलाई बिरामी भन्नुपर्छ’ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको उल्लेख गरे। तर उनले गृहमन्त्रीले पक्राउ गर्नुपर्ने बताए।

सभामुखको घोषणालगत्तै माओवादी केन्द्रका हितराज पाण्डेले कोइरीबाहेकको नाम मात्र अनुमोदन गर्न माग गरेका थिए।

कोइरीको पक्राउका लागि माघ ८ गते प्रहरी प्रधान कार्यालयले देशभर सर्कुलर जारी गरेको थियो। मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या गरेको अभियोग कोइरीमाथि छ। कोइरीले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतसमेत दिएका थिए। उनले विश्वासको मत दिएको थाहा पाएपछि तत्कालीन समयमै विरोध भएको थियो।

एमालेका तर्फबाट महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा कोइरी निर्वाचित भएका हुन्। उनले माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेललाई पराजित गरेका थिए। उनलाई महोत्तरी जिल्ला अदालतले एक लाख धरौटीमा रिहा गरेको थियो। तर पुनरावेदनपछि उच्च अदालत जनकपुरबाट उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको थियो। त्यसयता उनी फरार छन्।  उच्च अदालतको आदेशपछि भने प्रहरीले उनलाई पक्राउ पर्न सकेका छैन।

सांसद कोइरी महोत्तरीको गौशाला नगरपालिका–२ का स्थानीय हुन्। २०७२ भदौ २५ गते हेटौंडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीका लागि महोत्तरी जाँदै गरेको अवस्थामा असई थमन विकमाथि मधेसी मोर्चाका कार्यकर्ताले कुटपिट गरेका थिए।

कोइरीको पक्राउका लागि माघ ८ गते प्रहरी प्रधान कार्यालयले देशभर सर्कुलर जारी गरेको थियो। मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या गरेको अभियोग कोइरीमाथि छ।

विकलाई हेटौंडाबाट एक साथीले मोटरसाइकलमा राखेर महोत्तरी लिएर जाँदै गरेको अवस्थामा प्रदर्शनकारीले लखेटेर आक्रमण गरेका थिए। प्रदर्शनकारीले लखेटेपछि ज्यान जोगाउन पोखरीमा हाम फाले पनि विकलाई प्रदर्शनकारीले त्यहाँबाट निकालेर कुटपिट गरेका थिए। त्यसपछि जलेश्वर अस्पताल लगिएको र त्यहाँ उपचार हुने अवस्था नभएपछि अर्को अस्पताल लैजाने क्रममा पुनः आन्दोलनकारीले अनैठा गाविसमा एम्बुलेन्सबाट निकालेर उनलाई निर्घात कुटेका थिए। जसका कारण उनको त्यही नै ज्यान गएको थियो। सो हत्या अभियोगमा कोइरी दोषी ठहरिएका थिए।

प्रकाशित: १६ वैशाख २०८० ००:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App