५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेशको नामको विरोधमा आन्दोलन गर्नुको औचित्य छैन: ओली

इलाम सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै ओली।

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १ नम्बर प्रदेशको नाम ‘कोशी’ ले सबै जातजाति, भाषा, धर्म, क्षेत्र एकैठाउँमा समेटेको बताएका छन्। उनले प्रदेश सबैको साझा भएको भन्दै नाम परिवर्तन गर्न जनताको मत जितेर दुई तिहाई पुर्‍याउन आन्दोलनकारीलाई सुझाव दिए।

इलाम सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै ओलीले प्रदेशको नामको विरोधमा भइरहेको आन्दोलन औचित्यपूर्ण नभएको बताए। उनले अहिले प्रदेशको नामको विरोधमा भइरहेको प्रदर्शन आतंककारी क्रियाकलाप, उद्दण्डता भइरहेको जनाए। ‘प्रदेशको नाम एउटा प्रक्रियाबाट टुंगिएको हो,’ उनले भने, ‘परिवर्तन गर्ने हो भने भोट जित्नुस्, दुई तिहाई ल्याउनुस्, परिवर्तन गर्नुस्, हामी मान्छौं,’ उनले भने, ‘यो नाम सबै दलले दुईतिहाईभन्दा बढी मतले पास भएको हो।’

ओली इलामको कन्यामबाट सदरमुकाम जाँदा मेची राजमार्गको गोदक खण्डमा आन्दोलनकारीले रुख ढालेर बाटो अवरोध गरेका थिए। तर, ओली अवरोध चिर्दै इलाम बजार पुग्दा उनलाई कालोझन्डा देखाइएको थियो। अहिले ओली बैठकलाई सम्बोधन गरिरहेका छन्।

बैठकमा जिल्ला परिषद् तथा विभागीय पदाधिकारी र सदस्य, पालिका र इलाका कमिटीका पदाधिकारी, जनसंगठन, पेसागत संगठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवं वडा र शाखा कमिटी अध्यक्ष सहभागी हुने एमाले जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए।  

प्रकाशित: १४ वैशाख २०८० ०८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App