२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

पहिचान पक्षधरद्वारा इटहरीमा प्रदर्शन: पुनः नामाकरण नभएसम्म आन्दोलन नरोकिने उद्घोष

पुनः नामाकरणको माग गर्दै पहिचान पक्षधर इटहरीमा शनिबार प्रदर्शन गर्दै। तस्बिर: अमर/नागरिक

कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै पहिचानवादीहरुले आइतबार दिउँसो इटहरीमा प्रदर्शन गरेका छन्।  

पूर्वका विभिन्न जिल्लाबाट सहभागी भएका पहिचानवादीहरुले इटहरी मुख्य बजार क्षेत्रमा प्रदर्शन गरे । प्रदर्शनपछि कोणसभामा लेखक खगेन्द्र संग्रौलाले जनजाति सांसद राजनीतिक दलको गोटी भएकाले गर्दा पनि पहिचानको पक्षमा नाम सम्भव नभएको बताए। ‘पहिचान पक्षधरले पुरानै पार्टीका नेता काँग्रेस, एमाले र माओवादीका नेताहरुलाई भोट हालेर जिताउने हो भने पहिचानको मुद्दा छाड्दा हुन्छ,’ उनले भने, ‘अब पहिचान पक्षधरले गम्भीर भएर सोच्नुपर्छ।’

उनले राज्य चलाउनेको चित्त सानो भएको टिप्पणी गर्दै पहिचानवादीहरुको भने फराकिलो चित्त हुनुपर्ने बताए। ‘राई, लिम्बु वा अन्य कुनै पनि पहिचानवादीबीच कुनै पनि प्रकारको असमझदारी हुनु हुन्न्,’ उनले भने।

सो क्रममा पहिचानवादी नेता गोविन्द छत्यालले दलका नेताहरुले गरेको प्रतिबद्दता कुल्चिएको बताए। ‘हाम्रो आन्दोलन शीर उठाउने आन्दोलन हो, कोशी प्रदेश खारेज नभएसम्म आन्दोलन चलि रहनेछ,’ उनले भने।

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष सन्जुहाङ् पालुङ्वाले पहिचानको आन्दोलनलाई निश्कर्षमा नपु¥याएसम्म विश्राम लिन नहुने जिकिर गरे। पहिचानवादी नेता रघुविर ठकुनाले कोशी प्रदेश खारेजीको आन्दोलन उत्कर्षमा पु¥याउन देशभरीबाट आन्दोलन चर्काउनुपर्ने बताए।  

इटहरीको चौरास्त चोकमा पहिचानवादी समूहले प्रदर्शन गर्ने क्रममा दुई घण्टा बढी यातायातका साधन वैकल्पिक मार्ग भएर सुचारु गरियो पहिचानवादीको प्रदर्शनका कारण इटहरीको चौरास्त चोक आउनुपूर्व नै  धरानबाट इटहरीतर्फ जाने सवारी साधन आँपगाछीबाट पूर्वतर्फ हुँदै र विराटनगरबाट आउने सवारी साधन पनि इटहरीको विराटनगरबाट वैकल्पिक मार्गबाट सुचारु गरियो।

प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका कार्यकर्ता र प्रहरीबीच शनिबार विराटनगरमा झडप भएकाले गर्दा पनि प्रहरीले इटहरीमा उच्च सावधानी अप्नाएर चौरास्त चोकमा खुल्ला ढंगले कार्यक्रम सञ्चालन गर्न दिँदा कुनै खतरा हुन पाएन्। शनिबार विराटनगरमा झडपका क्रममा ११ जना घाइते भएका थिए। जसमा आन्दोलनकारी तर्फ ५ जना र प्रहरीतर्फ ६ जना घाइते भएका थिए। प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले ८१ सेल अश्रुग्याँस प्रहार गरेको  थियो।

पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा प्रदर्शन गर्दा पदम लिम्बु (लाजेहाङ) घाइते भएका थिए। घाइते भएका लाजेहाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो। लाजेहाङको मोरङको वेलवारीमा विराटनगरमा शव परिक्रमापछि अन्त्येष्टि गरिएको छ। कोशी प्रदेशको नामाकरण फागुन १७ गते भएपछि पहिचानवादी समूहले आन्दोलन चर्काउँदै आएका छन्।  

प्रकाशित: १० वैशाख २०८० ११:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App