६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

चितवन २ मा उपनिर्वाचनको तयारी पुरा, मतगणना स्थलमा सिसी क्यामरासहित तारजाली जडान

वैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर–२ को उपनिर्वाचनको तयारी पुरा भएको छ।

निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री सहित मतदान केन्द्र तयार भइसकेको मुख्य निर्वाचन अधिकृत भरतपुरको कार्यालयले जानकारी दिएको छ।

‘निर्वाचन सम्पन्न गर्न कर्मचारी मतदान केन्द्रमा पुगी सक्नुभएको छ। मतपेटिकासहित मतदान सामाग्री मतदान केन्द्रमा पुगिसेकेका छन्,’ सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले भने, ‘निर्वाचनकालागि आवश्यक तयारी पुरा भइसकेको छ।’ 

उनले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूका लागि मतदान गर्न सहज बनाइएको बताए। सम्भव भएसम्म मतदान स्थलमा टेण्ड टाँग्न निर्देशन दिइएको उनले जानकारी दिए। 

निर्वाचन आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। निर्वाचन गराउन १ सय ३८ केन्द्रमा ६ सय ९० जना कर्मचारी खटिएका छन्। त्यसबाहेक ५ सय ३४ जना स्वयंसेवक निर्वाचनमा खटिने निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए। 

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेपछि पुनः निर्वाचन हुन लागेको हो। मंसिरमा भएको निर्वाचनमा लामिछाने ४९ हजार ३ सय मतका साथ विजयी भएका थिए।

निर्वाचनको लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको  जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। निर्वाचनका लागि १ हजार २७० प्रहरी परिचालन भएका छन्। त्यसबाहेक सशस्त्र प्रहरी, नेपाली सेनाले समेत बाहिरी घेराबाट सुरक्षा प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। प्रहरीले बजार क्षेत्रलाई अति संवेदनशील रुपमा लिएको छ।

मतगणना केन्द्रमा तार जालीसहित सिसी क्यामरा जडान

भरतपुर सदरमुकामदेखि ५ घण्टासम्मको दुरीमा मतदान स्थल रहेका छन्। मतदान सम्पन्न भइसकेपछि राति १२ बजेभित्र मतपेटिका मतगणना स्थलमा आइपुग्ने सहायक निर्वाचन अधिकृत तथा प्रवक्ता आचार्यले जानकारी दिए।

मतगणना चितवन उद्योग सङ्घको परिसरमा रहेको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ। मतगणना स्थलसमेत तयारी अवस्थामा राखिएको आचार्यले जानकारी दिए। उनका अनुसार मतगणना स्थलमा तार जाली र १२ वटा सिसी क्यामरा जडान गरिएको छ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६९५ मतदाता रहेका छन्। तीन दिनभित्र मतगणना गरिसक्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेका छ।

‘सुरुवाती चरणमा १ ठाउँबाट मतगणना गरिनेछ। पछि थप गर्दै ४ ठाउँबाट गणना गछौँ। अहिले थोरै भएकाले पहिलेजस्तो ढिला गर्दैनौँ,’आचार्यले भने।

भरतपुर माविमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म महिला 

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा भरतपुर महानगरपालिकाका १० वटा वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्दछ। यहाँ ४३ वटा मतदान स्थल र मतदान केन्द्र १ सय ३८ छन्।

त्यसमध्ये भरतपुर माध्यमिक विद्यालयमा महिला कर्मचारीले मात्रै मतदान गराउँदै छन्। ४ वटा मतदान केन्द्र रहेको भरतपुर माविमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवक समेत महिला मात्र रहेका छन्। यहाँ डा।सरस्वती न्यौपाने, विष्णुमाया बिके, शर्मिला पौडेल र पूर्णिमा क्षेत्रीको नेतृत्वमा मतदान हुँदै छ।

यहाँ निर्वाचन सम्पन्न गराउन ३४ जना महिला कर्मचारी खटिएको मतदान अधिकृत विष्णुमाया विकेले जानकारी दिइन्। यसअघिको निर्वाचनमा यहाँ महिला कर्मचारी मात्रै निर्वाचनमा खटिएका थिए। यहाँ ५ जना महिला सुरक्षाकर्मीसहित २४ जना प्रहरी खटिएका छन्। निर्वाचनका लागि आवश्यक तयारी सकिएको बिकेले जानकारी दिइन्। उनले महिलाले गराएको निर्वाचनलाई नमुना बनाउने समेत बताएकी छन्। भरतपुर माविबाट मतदान गर्ने मतदाता ३ हजार ४ सय ४४ जना रहेका छन्।  

राजमार्गसहित सबै सडकमा यातायात सञ्चालनमा रोक

उपनिर्वाचनको मतदानको दिनभर क्षेत्र नम्बर २ मा  अत्यावश्यक सवारी बाहेकका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी चितवन २ मा पर्ने राजमार्गसहितका सबै सडकमा अनुमति लिन नपर्ने अत्यावश्यक सेवा एम्बुलेन्स र दमकल बाहेकका अन्य सवारी साधनलाई रोक लगाउने बताएको हो।

यसअघि प्रशासन कार्यालयले राजमार्गमा गुड्ने लामो दुरीका गाडीलाई चल्न दिने बताएको थियो। गृह मन्त्रालयको निर्णय कार्यान्वयन र उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय बमोजिम पछिल्लो निर्णय भएको प्रहरीले बताएको छ।

आइतबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चितवन २मा सवारी सञ्चालनमा रोक लगाइएको हो। चितवन २ मा पूर्व–पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिङ सडक र पृथ्वी राजमार्ग पर्छन्। यी राजमार्ग प्रयोग गन्तव्यमा पुग्ने यात्रुहरू समस्यामा पर्नेछन्।

प्रकाशित: ९ वैशाख २०८० १२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App