१३ कार्तिक २०८१ मंगलबार
image/svg+xml
राजनीति

देशको अस्तित्व रहन्छ कि रहँदैन भन्ने अवस्था छः प्रकाण्ड

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले देशको अस्तित्व संकटमा पर्न लागेको बताएका छन्।  

बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले देश असाध्यै संकटपूर्ण अवस्थामा रहेको बताए। उनले देशको अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताए। एमसीसी प्रोजेक्ट देशको विरुद्धमा केन्द्रित रहेको र भारतीयहरुले सीमाना मिचिरहेको भन्दै देशको स्वाधिनतामाथि नै प्रश्न उठेको उनले बताए। उनले विश्वका शक्ति राष्ट्रहरुको संघर्ष दुश्मनीपूर्ण अवस्थामा पुगेको उल्लेख गरे।  

प्रवक्ता विश्वकर्माले अमेरिका र चीनबिचको अन्तरबिरोधलाई नेपालले ठिक ढंगले विश्लेषण गर्न नसके नेपाल युक्रेनको अवस्थामा पुग्ने बताए।

उनले भने, ‘देश असाध्यै संकटपूर्ण घडीमा छ। यतिधेरै संकट देशको जीवनमा कहिल्यै पनि आएको थिएन। पञ्चायती व्यवस्थामा पनि यत्ति संकट आएको थिएन। त्यसका आफ्नै प्रकृतिका संकट थिए। ०४६ देखि ०६३ सम्म आउँदा पनि यति संकट आएको थिएन। यद्यपी संसदीय प्रतिक्रियावादी व्यवस्था थियो त्यो। एमसीसी जस्ता डरलाग्दा अमेरिकी प्रोजेक्ट पनि हाम्रा विरुद्ध केन्द्रित छन्। सिमाना मिच्ने भारतीय साम्राज्यवादीहरुको एकपछि अर्को हर्कत बढी नै राखेको छ। देशको स्वाधिनता के हुने? हाम्रो देशको अस्तित्व रहन्छ कि रहँदैन भन्ने छ। अहिलेको विश्वको ट्रेन्ड हेर्नुभयो भने पावर र सुपर पावरहरु बीचको संघर्ष, अन्र्तविरोध दुश्मनीपूर्ण ठाउँमा पुगेको छ। त्यो भनेको निल्ने र निलाइपाउने प्रक्रिया अगाडी बढ्छ। अमेरिका र चीन बीचको अन्तबिरोध जुन ठाउँमा जान खोजेको छ, नेपालका शासक वर्गहरुले ठिक ढंगले त्यसको विश्लेषण गर्न सकेनन् भने र ठिक ढंगले डिल गर्न सकेनन् भने नेपाल अर्को युक्रेन हुँदैन भन्न सकिने स्थिति छैन।’

प्रवक्ता विश्वकर्माले अहिलेको राजनीतिमा विचार, नीति, सिद्धान्त र नैतिकताको कुनै प्रश्न नरहेको बताए। राजनीति केवल सत्ता र कुर्सिको निम्ति गरिने षड्यन्त्रमुलक खेलको रुपमा स्थापित हुन पुगेको उनले बताए। उनले सत्ता र कुर्सिको स्वार्थको निम्ति विदेशी शक्तिहरुसँग सौदाबाजी भइरहेको उनले आरोप लगाए।

पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा वैशाख ९ गते आफ्नो पार्टीले काठमाडौंको खुलामञ्चमा कार्यक्रम गर्ने बताए। कार्यक्रममा देशका कम्युनिष्ट तथा वामपन्थी १० वटा राजनीतिक पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने उनले जानकारी दिए। करिव १५ हजार मानिसहरुको सहभागिता हुने सो कार्यक्रममा शिर्ष पार्टीका नेताहरुलाई समेत निमन्त्रण गरिएको उनले बताए।  

प्रकाशित: ७ वैशाख २०८० ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App