प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै छन्। लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू चितवन आउन लागेका हुन्।
वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको चुनावी सभामा कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुखसहित मुख्य नेता चितवन आउन लागेका हुन्।
आज दिउँसो ३ बजे कालिका नगरपालिका-४ पदमपुरस्थित क्याम्पसको फुटबल मैदानमा चार दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू आउन लागेको कांग्रेस चितवनका सचिव सूर्य अर्यालले बताए।
प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै छन्। लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू चितवन आउन लागेका हुन्।
उनका अनुसार सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनीहरू बाराको चुनावी सभालाई सम्बोधन गरेर चितवन आउन लागेका हुन्।
त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमको सबै तयारी पूरा भएको सचिव अर्यालले बताए। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रधानमन्त्री हेलिकप्टरमा कालिका नगरपालिकामा आएर त्यहींबाट फर्कने कार्यक्रम रहेको बताए। रासस
प्रकाशित: ७ वैशाख २०८० ०४:२९ बिहीबार