coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पुनर्निर्माणमा सघाउन सेना खटाइँदै

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा सघाउन नेपाली सेना र सशस्त्र प्रहरीलाई परिचालन गर्ने योजना बनाएको छ। सेना र सशस्त्रको सहयोग लिए पुनर्निर्माणको गति तीव्र हुने निर्क्योलसहित प्राधिकरणले सम्बन्धित निकायसँग छलफल थालिसकेको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले सेना र सशस्त्रलाई पुनर्निर्माणका काममा सहभागी गराउन विस्तृत योजना बनाउन सुरु भएको जानकारी दिए। 'उहाँहरूको साथ लिएर अगाडि बढ्दा पुनर्निर्माण निकै छिटो अगाडि बढ्छ,' उनले भने, 'त्यही भएर उहाँहरूसँग अनौपचारिक छलफल भइसकेको छ। केही दिनमा औपचारिक निर्णयमा पुग्छौं।'

पोखरेलका अनुसार पुनर्निर्माणका लागि गाउँमा दक्ष कामदार अभाव हुँदा पीडितले घर निर्माण गर्न सकेका छैनन्। यो समस्या समाधान गर्न सेना र सशस्त्रले गाउँ पुगेर पुनर्निर्माणसम्बन्धी तालिम दिने तथा अन्य आवश्यक सहयोग गर्नेछन्। सेना तथा सशस्त्रले उपलब्ध गराउने जनशक्तिका आधारमा प्राधिकरणले गाउँमा परिचालन गर्नेछ।

पोखरेलले सेना तथा सशस्त्रसँग जनशक्ति, पूर्वाधार, उपकरणलगायतको सहयोग उपलब्ध गराउन औपचारिक आग्रह गर्ने तयारी भएको बताए। 'उहाँहरूसँग उपकरण तथा जनशक्ति छ,' उनले भने, 'पुनर्निर्माणमा सघाउन उहाँहरूले कति जनशक्ति दिने हो, केकस्ता उपकरण र सहयोग गर्ने हो भन्ने विस्तृत कार्ययोजना बन्न बाँकी छ।' उनका अनुसारसेना तथा सशस्त्रबाट पनि जनशक्तिलगायत अन्य सहयोगको विषयमा स्पष्ट जानकारी आएपछि प्राधिकरणले थप काम अगाडि बढाउनेछ।

प्राधिकरणका अनुसार भूकम्प प्रभावित ३१ जिल्लामा करिब ८ लाख घर पुनर्निर्माण गर्नुपर्ने छ। त्यसका लागि १ लाखभन्दा बढी निर्माणकर्मी आवश्यक रहेको प्राधिकरणले जनाएको छ। भूकम्प प्रभावित क्षेत्रमा ४० हजार डकर्मी सिकर्मी रहेको अनुमान गरिएको छ। तीमध्ये हालसम्म १५ हजारलाई तालिम उपलब्ध गराइएको छ। पुनर्निर्माणको काम ढिलो हुँदा तालिम लिएका जनशक्तिसमेत बिदेसिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले 'एक वडा–एक नमुना घर' को अवधारणामा प्रत्येक वडामा ६ देखि १० जना निर्माणकर्मीका दरले चालू आर्थिक वर्षभित्र ६० हजार निर्माणकर्मी उत्पादन गर्ने लक्ष्य लिएको छ। यस बीचमा सरकारले करिब २६ सय इन्जिनियरलाई तालिमसहित गाविस तथा नगरपालिकामा खटाएको छ।

भूकम्प प्रभावित जिल्लाहरूमा दक्ष कामदारको अभाव न्यून गर्न प्राधिकरणले इन्जिनियरिङका विद्यार्थीलाई स्वयंसेवकका रुपमा खटाउने तयारी पनि अगाडि बढाएको छ।

प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलको अध्यक्षतामा एक साताअघि बसेको कार्यकारी समितिको बैठकले एकमहिने पुनर्निर्माण अभियानअन्तर्गत स्वयंसेवकका रुपमा सिभिल इन्जिनिरिङका विद्यार्थीलाई खटाउने निर्णय गरेको हो। अभियानमा विभिन्न विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ संकायका कलेजमा सिभिल इन्जिनिरिङको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी खटिनेछन्।

पुनर्निर्माण अभियान माघ २१ देखि फागुन २० गतेसम्म चल्ने प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिए। उनका अनुसार कार्यकारी समितिले विद्यार्थीलाई खटाउने व्यवस्था मिलाउन विश्वविद्यालयहरूलाई निर्देशन दिन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्राधिकरण निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध गर्नेछ।

भूकम्पपछिको पुनर्निर्माण सुस्त गतिमा अगाडि बढेकोमा चिन्ता व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आगामी वर्षाअघि धेरैभन्दा धेरै पीडितको घर निर्माण गर्नुपर्ने र निर्माण प्रक्रियामा नरहेकालाई पनि घर बनाउन प्रेरित गर्न माताहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

कार्यकारी समितिले एकीकृत नमुना बस्ती विकास गर्न पुनर्निर्माणमा जागरण अभियान चलाउने, स्थानीय जनसहभागिता जुटाउने, स्वयंसेवक परिचलान गर्ने, समाज एकीकरण गर्ने, प्रचारप्रसार गर्नेजस्ता क्रियाकलाप सञ्चालन गर्न धुर्मुस सुन्तली फाउन्डेसनजस्ता गैरनाफामूलक सामाजिक संस्थाबाट सहकार्य गर्न प्रस्ताव प्राप्त गर्ने, आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधिअनुसार रेट्रोफिटिङको लाभग्राहीको सूचीमा परेकाको विश्लेषण गरी रकम वितरण कार्य बढाउने, गुनासो व्यवस्थापन गर्नेलगायतका निर्णय पनि गरिसकेको छ।

प्रकाशित: ६ माघ २०७३ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App