५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

ढुक्क यादव, निसाना लगाउँदै राउत

विश्लेषक सिके लालले एक अनलाइन अन्तर्वार्तामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबारे टिप्पणी गरेका थिए, ‘उनी सक्षम छन् तर उनको एउटा मिसक्यालकुलेसन छ, देशभित्र मजबुत भएपछि बाह्य शक्तिसँग भिड्न सक्छु।’ लालले अझ प्रस्ट्याउँदै भनेका थिए, ‘देशभित्र मजबुत भएपछि अन्तर्राष्ट्रिय शक्तिसँग समान दुरी बनाएर अगाडि बढ्न सकिन्छ भन्ने यादवको अनुमान कायम राख्न नेपालको राजनीतिमा कठिन छ।’  

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी–२ मा जसपा अध्यक्ष यादव जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) सँग पराजित भएपछि लालले यस्तो टिप्पणी गरेका थिए। लालको टिप्पणीले यादवको राजनीतिक संघर्ष, अडान र निष्ठालाई दर्साउँछ। विदेशी शक्तिसँग समान दुरी कायम राख्ने अडानका कारण यादव आफ्नै पार्टी र बाहिरबाट निरन्तर निसानामा पर्दै आएका छन्। अहिले यादव प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा २ बाट उम्मेदवार छन्। यस क्षेत्रमा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेलबाहेकले यादवलाई निसाना बनाइरहेको पाइन्छ। राउत नेतृत्वको जनमत पार्टीको चुनावी अजेन्डा नै ‘यादव हराऔं’ बनेको छ।

जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार भए पनि उनलाई मत माग्न अध्यक्ष राउत सक्रिय छन्। उनले आफ्नो पार्टीको अजेन्डाभन्दा यादवबारे नकारात्मक भ्रम फैलाएर कुशवाहाका पक्षमा मत मागिरहेको बसबरियाका राकेश यादवले बताए। जनमतका उम्मेदवार कुशवाहा पनि आफ्नो अजेन्डा जनतासमक्ष प्रस्तुत गर्नुभन्दा यादवबारे भ्रम फैलाउन व्यस्त रहेको गन्जभवानीपुरकी बबिता साह बताउँछिन्। उनी भन्छिन्, ‘उपेन्द्र यादव सबै जाति, समुदायलाई साथ लिएर हिँड्ने नेता हो। उहाँ अरूजस्तो उत्तेजना फैलाउने, जातपात छुट्याउने नेता होइन, उहाँले आफ्नो अजेन्डासहित जनतासँग मत मागिरहनुभएको छ। अन्य उम्मेदवार उहाँको विरोध गरेर आफूलाई मत माग्दै छन्।’

विश्लेषक सिके लालले एक अनलाइन अन्तर्वार्तामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबारे टिप्पणी गरेका थिए, ‘उनी सक्षम छन् तर उनको एउटा मिसक्यालकुलेसन छ, देशभित्र मजबुत भएपछि बाह्य शक्तिसँग भिड्न सक्छु।’ 

यादव पनि आफू जनताको अजेन्डा लिएर चुनावी मैदानमा उत्रेको बताउँछन्। उनले भने, ‘म जनताकै अजेन्डा बोकेर आएको छु। विद्यालयमा स्तरीय पढाइ होस्, अस्पतालमा गुणस्तरीय उपचार होस्, खेतमा भरपर्दो सिँचाइ होस्, बेरोजगारी समस्या समाधान होस्, समावेशिता पूर्णरूपमा कार्यान्वयन होस्लगायत अजेन्डा बोकेर हिँडेको छु।’

चुनावी मैदानमा प्रतिस्पर्धीले जोडतोडले लगाइरहेको नारा हो–बाहिरिया। यसबारे यादव भन्छन्, ‘एउटै देशको नागरिक बाहिरिया भित्रिया हुन्छ र? सैद्धान्तिक, वैचारिक, राष्ट्रिय मुद्दाका आधारमा अगाडि नआएर, भित्रको, बाहिरको, यो जिल्लाको, त्यो जिल्लाको, यो जातको, त्यो जातको, यो टोलको, त्यो टोलको भन्नु सिद्धान्तविहीन राजनीति हो। विचारविहीन, नैतिकताविहीनले मात्र यस्ता कुरा गर्छन्।’

मतदान मिति नजिकिँदै आउँदा बारा २ मा को बलियो को कमजोर भन्ने अडकलबाजी तेज भएको छ। गत मंसिरमा सम्पन्न निर्वाचनमा दलहरूलाई प्राप्त मत र हालको चुनावी वातावरणलाई विश्लेषण गर्दा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादव बलियो उम्मेदवार देखिन्छन्।

बारा २ मा ६ वटा स्थानीय तहका ४४ वटा वडा छन्। अघिल्लो वैशाखमा सम्पन्न स्थानीय तह चुनावको नतिजाअनुसार ४४ मध्ये १५ वटा वडामा जसपा, १३ वटा वडामा नेपाली कांग्रेस, दुईवटा वडामा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टीले दुई र नेकपा एकीकृत समाजवादीले एउटा वडामा जितेका छन्। त्यस्तै एमालेले ११ वटा वडा जितेको छ।

एमालेले जितेका वडा र पालिकामा पनि कांग्रेस–जसपा गठबन्धन बन्दा एमालेको मत कम हुने देखिन्छ। बारा २ मा जसपा र कांग्रेस नै पहिलो र दोस्रो शक्ति हुन्। यसलाई वडा तहको शक्ति सन्तुलनले पनि पुष्टि गर्छ। क्षेत्र नम्बर २ मा पर्ने कोल्हबी नगरपालिकाको वडा नम्बर ८ मा २७ सय मतदाता छन्। यहाँ एमालेले वडाध्यक्ष जितेको छ। तर दोस्रो र तेस्रो मत पाएका कांग्रेस र जसपाको मत जोड्दा एमाले कमजोर हुन जान्छ। एमालेले पालिका प्रमुख जितेको पचरौता नगरपालिकामा पनि जसपा र कांग्रेसको गठबन्धन हुँदा एमाले अल्पमतमा पर्छ।

यस निर्वाचन क्षेत्रमा पर्ने करैयामाई गाउँपालिका र देवताल गाउँपालिका प्रमुख जसपाले जितेको छ। ३३ हजार मतदाता रहेको महागढीमाई नगरपालिकाको मेयर कांग्रेसले जितेको छ, जहाँ जसपाको मत दोस्रो स्थानमा छ। जसपाले प्रमुख जितेको देवताल गाउँपालिकामा ७ वडा छन्। जसमध्ये कांग्रेस र जसपाले ३–३ र लोसपाले एउटा वडामा जितेको स्थिति छ। करैयामाई गाउँपालिकाका ८ वडामध्ये सत्ता गठबन्धन दलले ६ वटा र एमालेले २ वटा वडामा जितेका छन्। पचरौता नगरपालिकामा एमाले र जसपाले ४–४ वटा वडा र लोसपाले एउटा वडामा जितेका छन्।  

यादवलाई हराउन राउतले सम्पूर्ण शक्ति, सूत्र र रणनीति प्रयोग गरिरहेका छन्। तर यस क्षेत्रमा यसअघि भएका दुईवटा निर्वाचनको नतिजा हेर्दा जनमत पार्टीको अवस्था एमालेको भन्दा कमजोर देखिन्छ।

गत मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा २ मा करिब २७ सय मत ल्याएको जनमत पार्टीले स्थानीय तहका ४४ वटा वडामध्ये एउटामा पनि जितेको छैन। स्थानीय तह निर्वाचनमा उसका उम्मेदवार प्रतिस्पर्धामै आएनन्।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफ्ना उम्मेदवार अरूण ज्ञवालीका पक्षमा माओवादीको मत तान्ने सम्भावना बढी छ। जनमत पार्टीका अध्यक्ष राउत उम्मेदवारी दर्तादेखि नै बारा २ मै बसेर यादवलाई हराउने रणनीतिमा लागेका छन्। राउतले गढीमाई मन्दिरछेउमा कार्यालय स्थापना गरेका छन्। 

राउतलाई अहिलेसम्मको गणितले पटक्कै साथ दिएको छैन। त्यसैले उनी आफ्ना उम्मेदवार कुशवाहाको पक्षमा मत माग्नुभन्दा पनि यादवबारे भ्रम फिँजाउन जोडतोडले लागेका छन्। यादव निर्वाचित भए मधेस प्रदेश सरकारको नेतृत्वबाट जसपा हट्छ भन्ने प्रचारसमेत गरेर राउतले जसपाभित्रै पनि कलह निम्त्याउने कसरत गरिरहेका छन्। यादवलाई हराउन राउतले सम्पूर्ण शक्ति, सूत्र र रणनीति प्रयोग गरिरहेका छन्। तर यस क्षेत्रमा यसअघि भएका दुईवटा निर्वाचनको नतिजा हेर्दा जनमत पार्टीको अवस्था एमालेको भन्दा कमजोर देखिन्छ।

करिब ३० प्रतिशत यादव जातिको बसोबास रहेको यो क्षेत्र भारतीय सीमासँग जोडिएको छ। विकासका पूर्वाधार खासै नबनेको र कृषिमा निर्भर रहेको यस क्षेत्रमा करिब दुईतिहाइ मधेसी समुदायको बसोबास छ। जसपाको बलियो संगठनात्मक पकड रहेको यस क्षेत्रमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपाले समेत साथ दिँदा यादव बलियो उम्मेदवार देखिन्छन्। तर राउतले अनेकथरी प्रचार गरिरहेकाले यादवलाई जित निकाल्न चुनौती भने पक्कै छ।

२ लाख ३ हजार जनसंख्या रहेको बारा २ मा १ लाख ५ हजार २ सय ४८ मतदाता छन्। यो क्षेत्रमा यादवपछि क्रमशः मुस्लिम, वैश्य, दलित समुदायका मतदाता बढी छन्। पहाडबाट झरेका समुदायको प्रभाव कमै छ।  

गत मंसिरमा भएको संसदीय निर्वाचनको नतिजाले पनि जनमत पार्टीलाई कमजोर देखाउँछ। मंसिरमा यो निर्वाचन क्षेत्रबाट जसपाका रामसहायप्रसाद यादव १३ हजार ८८२ मत ल्याएर निर्वाचित भएका थिए। जसपाबाटै बागी बनेका रामकिशोरप्रसाद यादव ११ हजार ४३ मतसहित तेस्रो स्थानमा आएका थिए। उनी अहिले जसपामा फर्किसकेका छन्। स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७ सय ५० मत पाएका थिए। उनी पनि अहिले यादवसँगै चुनावी प्रचारमा छन्। माओवादी–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले मंसिरमा भएको निर्वाचनमा १३ हजार ५६८ मत ल्याएका थिए। उनी अहिले माओवादी छाडेर जनमत पार्टीमा प्रवेश गरी उम्मेदवार बनेका छन्।

२०६४ सालभन्दा पहिला यो क्षेत्रबाट यादव समुदायका उम्मेदवार विजयी भएका थिए। २०६४ सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा यो क्षेत्रबाट माओवादीका शिवचन्द्र कुशवाहा (अहिले जनमत पार्टीबाट उम्मेदवार) ले जितेका थिए। २०७० मा दोस्रोपटक भएको संविधानसभा सदस्य निर्वाचनमा कांग्रेसका रामअयोध्या यादव यो क्षेत्रबाट विजयी भए। २०७४ र २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामसहायप्रसाद यादव निर्वाचित भएका थिए।

को हुन् यादव ?

उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष हुन्। उनको जन्म २०१६ सालमा सप्तरीको भागवतपुरमा भएको हो। उनी धनीलाल यादव र फुलनीदेवी यादवका कान्छा छोरा हुन्। यादवको बाल्यकाल सप्तरी जिल्लाको मधुवनमा बित्यो। अहिले त्यो ठाउँ सुनसरी जिल्लामा पर्छ। मधुवनको मोहन निमाविमा उनले प्रारम्भिक शिक्षा प्राप्त गरेका हुन्। त्यसपछि उनले जनता मावि मधुवन र वभवगमाकट्टी मावि सप्तरीबाट माध्यमिक शिक्षा प्राप्त गरे। २०३२ सालमा एसएलसी उत्तीर्ण गरेपछि यादव धरानको हात्तीसार क्याम्पसमा आइएससीमा भर्ना भए। उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट स्नातक र स्नातकोत्तर उत्तीर्ण गरेका हुन्।

विराटनगरमा विद्यार्थी हुँदादेखि नै वामपन्थी राजनीतिप्रति यादवको झुकाव रह्यो। बहुदल आएपछि एमालेको टिकटमा चुनाव लडेका उनी निर्वाचित हुन सकेनन्। उनले २०५४ सालमा ‘मधेसी जनअधिकार फोरम’ नामक गैरसरकारी संस्था गठन गरी त्यसको नेतृत्व लिए। यो अन्तरपार्टी सञ्जालजस्तो थियो। फोरममार्फत मधेसका विविध समस्यामाथि विमर्श गर्दै समाधानका सूत्रहरू पहिल्याउन उनी जुटे। उनले मधेसका धेरै बुद्धिजीवी र अभियन्तालाई फोरममा संगठित गरेका थिए। यही संस्थाको आवरणमा तत्कालीन विद्रोही माओवादीको राजनीति गरेको भनेर सत्तापक्षले उनलाई पटकपटक दुःख दिएको थियो। माओवादी भएकै आरोपमा उनी दिल्लीमा पक्राउ परेका थिए।

२०६३ साल माघ २ मा अन्तरिम संविधानमा संघीयतासहित मधेसको अधिकार नलेखिएपछि यादवले काठमाडौंमा संविधान जलाएर विद्रोहको उद्घोष गरेका थिए। संविधान जलाएपछि पक्राउ परेका यादवसहित २८ जनाको निःसर्त रिहाइको माग राखेर मधेस आन्दोलित भयो। झन्डै एक महिना चलेको आन्दोलन मत्थर पार्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक सातामा दुईपटक राष्ट्रका नाममा सम्बोधन गर्नुपरेको थियो। प्रधानमन्त्रीको दोस्रो सम्बोधनपछि केही समयका लागि स्थगित मधेस आन्दोलन पुनः सुरु भयो।  

२०६४ भदौ १३ गते सरकार र मधेसी जनअधिकार फोरमबीच २२ बुँदे सहमति भयो। तत्कालीन सरकारका तर्फबाट शान्तिमन्त्री रामचन्द्र पौडेल र फोरमका तर्फबाट यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। ‘ऐतिहासिक जनआन्दोलन २०६२-६३ कै निरन्तरताका रूपमा भएको मधेसी जनताको आन्दोलनको भावनालाई हृदयंगम गर्दै’ भन्ने वाक्यांश सहमतिको पृष्ठभूमिमा लेखियो। २०६४ फागुन १ देखि दोस्रो मधेस आन्दोलन सुरु भयो। समस्या समाधानका लागि आन्तरिक प्रयास भए पनि सफलता मिलेन। फागुन १८ गते प्रधानमन्त्री निवास बालुवाटारबाट आठ बुँदे सहमतिपछि आन्दोलन रोकियो। सहमतिमा ‘मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहनालगायत आकांक्षालाई स्वीकार गरी’ भन्ने वाक्यांश लेखियो। यही सहमतिले नै पहिलो संविधानसभाको चुनाव सुनिश्चित गर्यो।

२०६४ सालको पहिलो संविधानसभाको चुनावमा यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले संसद्मा बलियो उपस्थिति देखायो। प्रत्यक्षतर्फ ३० र समानुपातिकतर्फ २२ सिट जितेर फोरम संसद्को चौथो ठुलो शक्ति भयो। मधेस विद्रोह र सहमतिको जगमा मधेसलगायत क्षेत्रले आरक्षणको सुविधा पाए। मधेसले पहिचानसहितको मधेस प्रदेश पायो। मधेसी चेहरा मुखिया (सरकार) बने। यादव आफैंले मोरङ ५ र सुनसरी ५ बाट चुनाव जिते। त्यसपछि उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मोरङ ५, २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी २ बाट निर्वाचित भएका थिए। उनी २०७९ मंसिरको निर्वाचनमा भने सप्तरी २ बाट पराजित भएका थिए। जसपा अध्यक्ष यादव अहिले बारा २ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार छन्।  

को हुन् कुशवाहा

शिवचन्द्र कुशवाहा २०५५ सालदेखि माओवादीमा लागेका हुन्। कुशवाहा २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा माओवादीको टिकटमा बारा–२ बाट निर्वाचित भएका थिए। २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनताका उनले माओवादी छोडेका थिए। चुनावमा टिकट नपाएपछि तत्कालीन सद्भावना पार्टीबाट कुशवाहा उम्मेदवार बनेका थिए। त्यो चुनावमा कुशवाहाले २ हजार ९ सय मत ल्याएका थिए। उनी २०७४ सालमा पुनः माओवादीमा फर्किए।  

२०७४ को संसदीय निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी पार्टी (हाल जसपा) का उम्मेदवार रामसहायप्रसाद यादवसँग पराजित भएका थिए। त्यसबेला रामसहायप्रसादले २८ हजार १ सय ८५ मत ल्याउँदा कुशवाहा ४ हजार ७ सय १२ मतमा सीमित भएका थिए। प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा पनि बारा २ मा माओवादीबाट उम्मेदवार बनेका कुशवाहा पुनः रामसहायप्रसादसँग पराजित भए। जसपा–एमालेका साझा उम्मेदवार बनेका जसपा नेता रामसहायले १३ हजार ८ सय २२ मत पाएर जित हासिल गरेका थिए।  

कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका कुशवाहाले १३ हजार ४ सय ६८ मत पाएका थिए। जसपाबाटै बागी उठेका रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत पाए। कुशवाहा अहिले बारा २ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवार छन्।

प्रकाशित: ६ वैशाख २०८० ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App