६ वैशाख २०८१ बिहीबार
राजनीति

भूकम्पपीडितलाई दोस्रो किस्ता आजबाट

काठमाडौं- सरकारले भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्ताको डेढ लाख रुपैयाँ वितरण बुधबार सुरु गर्ने भएको छ। पहिलो किस्तामा ५० हजार अनुदान लिई घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएका पीडितले दोस्रो किस्ताको रकम पाउनेछन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो चरणमा मकवानपुर र सिन्धुलीका पीडितलाई दोस्रो किस्ताको डेढ लाख वितरण बुधबार सुरु गर्ने जनाएको छ । मकवानपुर र सिन्धुलीबाट सिफारिस भएका झन्डै ३ सय पीडितलाई रकम वितरण गरिने प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसालले जानकारी दिए । ‘दोस्रो किस्ताको रकम वितरण सुरु भयो,’ उनले भने, ‘घर निर्माण अगाडि बढाएर प्राविधिक जाँच भई सिफारिसमा आएकालाई क्रमशः रकम वितरण गर्दै जान्छौं ।’ उनका अनुसार घर निर्माण अगाडि बढाएका अन्य पीडितलाई समयमै दोस्रो किस्ताको रकम वितरण गर्न आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयमा पत्राचार गरिसकिएको छ ।

‘हामीसँग रहेको बजेटबाट केही पीडितलाई दोस्रो किस्ताको रकम वितरण सुरु गर्न लागेका हौं,’ उनले भने, ‘दोस्रो किस्ता वितरण सुरु भएको जानकारी पाउनेबित्तिकै धेरैको सिफारिस आउन सक्ने भएकाले आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयमा पत्र पठाएका छौं ।’ उनले अहिलेलाई २८ अर्ब रुपैयाँ उपलब्ध गराउन अर्थमा पत्र पठाइएको जानकारी दिए ।

सोमबारसम्मको तथ्यांक अनुसार भूकम्प अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधुरी पुनर्निर्माणका लागि अनुदान पाउने सूचीमा छन् । तीमध्ये ५ लाख ४८ हजार २ सय ५५ घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । सम्झौता भएकामध्ये ४ लाख ७६ हजार ८ सय १३ ले पहिलो किस्ताको ५० हजार पाइसकेका छन् ।

अनुदान पाएकामध्ये २० हजार ८ सय ७९ घरको निर्माण अघि बढेको छ । तीमध्ये धेरैले पहिलो किस्ताको रकम लिएर जग निर्माण गरिसकेका छन् । जग निर्माण सकेका पीडितको प्राविधिक जाँच हुँदै दोस्रो किस्ताका लागि सिफारिस हुने क्रम पनि बढ्दै गएको छ । ‘निर्माण अगाडि बढाएकामध्ये सिफारिस भएकालाई दोस्रो किस्ताको रकम वितरण गर्दै जानेछौं,’ भुसालले भने ।

मन्त्रिपरिषद्को पुस १४ गतेको बैठकले भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि तीन लाख अनुदान दिने कार्यविधि पास गरेपछि दोस्रो किस्ताका लागि डेढ लाख दिने बाटो खुलेको हो । भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि २०७३ लामो समयसम्म पास नहुँदा पहिलो किस्तामा ५० हजार पाएर घर निर्माण अघि बढाएका पीडितको काम रोकिन पुगेको थियो ।

कार्यविधि पास भएपछि अब भूकम्पपीडितले दोस्रो किस्तामा एक लाख ५० हजार, तेस्रो किस्तामा ७५ हजार तथा शौचालय र सोलार जडान गरेपछि थप २५ हजार रुपैयाँ गरी तीन लाख पाउने पक्का भएको छ । घर पुनर्निर्माण गरिसकेकाले एकमुष्ठ तीन लाख अनुदान पाउने बाटो पनि खुलेको भुसालले जानकारी दिए।

कार्यविधि पास भएपछि प्राधिकरणले अनुदान सम्झौता गर्ने क्रममा नाम छुटेका पीडितलाई समेट्ने, पीडितका २१ लाखभन्दा बढी गुनासा फस्र्योटका लागि घरधनीको वर्गीकरण गर्ने, आंशिक क्षति भएका घरको मर्मतसम्भार गर्न दुई किस्तामा एक लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । यस्तै जग्गाको गुठी विवाद, लाभग्राहीको अनुपस्थितिमा अनुदान सम्झौता हुन नसकेका र अनुदान पाउन नसकेकाले पनि अनुदान प्राप्त गरी घर निर्माण गर्नसक्ने बाटोसमेत खुलेको छ।

पुरानो कार्यविधिमा भूकम्पपीडितलाई आवास निर्माणका लागि दुई लाख रुपैयाँ तीन किस्तामा दिने उल्लेख थियो । उक्त कार्यविधिमा पहिलो किस्तामा ५० हजार, दोस्रोमा ८० र तेस्रोमा ७० हजार रुपैयाँ वितरण गर्ने भनिएको थियो । प्रधानमन्त्री भएलगत्तै पुष्पकमल दाहालले एक लाख थप्दै तीन लाख पु¥याउने निर्णय गरेका थिए।

प्रकाशित: ५ माघ २०७३ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App