१४ आश्विन २०७७ बुधबार
राजनीति

तरार्इ मधेसमा सक्रियता बढाउँदै एमाले

काठमाडौं– सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘मधेस छिर्ने’ तयारी गरेको छ । नयाँ संविधानको विषयमा जारी मधेस आन्दोलनक्रममा मधेसविरोधी दलको आरोप खेपेको एमालेले फागुन तेस्रो साताबाट मधेसमा राजनीतिक अभियान सुरु गर्ने लागेको हो ।

मधेस आन्दोलनयता एमाले तराईमधेसमा आम रूपमा पुग्नै सकेको छैन

अभियानको उद्देश्य संविधान कार्यान्वयनमा जनदबाब सिर्जना गर्दै पार्टी पकड बढाउने राखिएको छ ।आइतबार स्थायी कमिटी बैठकले पार्टीले सहिद दिवस मान्दै आएको फागुन २१ बाट देशव्यापी अभियान थाल्ने र यसलाइ मधेसकेन्द्रित गर्ने निर्णय लिएको हो ।

गत महिना राजधानीमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसकेन्द्रित हुने गरी देशव्यापी अभियान चलाउने घोषणा गरेका थिए ।

‘मधेसमा चल्ने अभियानको फोटो स्याटलाइटबाट खिच्नुपर्नेछ,’ अध्यक्ष ओलीले अभियानमा व्यापक सहभागिता हुने औंल्याउदै यसो भनेका थिए ।

संविधान जारी गर्दा प्रमुख दल नै आन्दोलनकारीको निसानामा परे पनि संशोधन तयारीसम्म आइपुग्दा त्यो निसानामा एमाले एक्लै पर्ने देखिएको छ । अन्य दल आन्दोलनकारीसँग नजिकिएका छन् ।

मधेस आन्दोलनयता एमालेले मधेसमा पार्टीका आन्तरिक गतिविधिबाहेक छिटफुट मात्र सार्वजनिक कार्यक्रम गरेको । संविधान कार्यान्वयनका लागि हुने बृहत अभियान तराई–मधेसका सबै जिल्लाका मुख्य सहर हुँदै अघि बढ्ने पार्टीले जनाएको छ ।

‘तराई–मधेसका सबै जिल्लाका मुख्य–मुख्य सहर हुँदै अगाडि बढ्ने र लाखौं जनताको सहभागिता रहने यस अभियानको मुख्य उद्देश्य संविधान कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्ने र राष्ट्रिय एकता एवं सामाजिक सद्भाव सुदृढ गर्नु हो,’ एमाले सचिव प्रदीप ज्ञवालीद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टी अध्यक्ष, वरिष्ठ नेतालगायत पार्टीका शीर्ष नेताले अगुवाइ गर्ने यस अभियानमा पार्टीका सबै कमिटी, जनसंगठन तथा सदस्य सहभागी हुनेछन् ।’
अभियान तयारी र व्यवस्थापनको नेतृत्व सम्बन्धित प्रदेशका प्रदेश संगठन कमिटी र मातहत जिल्ला कमिटीलाई निर्देशन दिइएको छ ।
मधेस पस्नुअघि एमालेले त्यहाँका समस्यासमेत पहिचान गरेको छ । उसका अनुसार सिके राउत नेतृत्वमा सुरु पृथक्तावादी गतिविधि, पहाड–मधेस फरक हुन् भन्दै राष्ट्रिय एकता कमजोर पार्ने मधेसवादी दलको व्याख्या र मधेसभित्रको विभेद प्रमुख समस्या हुन् ।
‘सानो संख्यामा पृथक्तावादी अभियान सुरु भएको छ । यो त्यति ठूलो रुपमा जाँदैन तर त्यस्ता प्रवृत्तिलाई बढावा दिन विदेशी शक्तिसमेत लाग्ने गरेको छ,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘दुई राष्ट्रियताको कुरा उठाएर पहाड–तराईबीच मिल्न नदिने गतिविधि गर्न खोजिँदै छ । त्यसका साथै मधेसभित्रै ठूलो असमानता छ । त्यसविरुद्ध हाम्रो अभियान केन्द्रित हुनेछ ।’  
मधेसी मोर्चाका नेताले पहाडे र मधेसीको दुई फरक राष्ट्रियता रहेको बताउँदै आएका छन् ।

विगतमा यस्तै व्याख्याका आधारमा दक्षिण एसियाली राष्ट्रमा समस्या देखिएको बुझाइ एमालेको छ । ‘मधेसमा एमालेको प्रवेशसँग सबै प्रकारको भ्रम चिर्नु छ,’ ज्ञवालीले भने ।

एमालेमाथि मधेसका माग पूरा गराउन बाधक बनेको आरोप आन्दोलनरत मधेसी मोर्चाका नेताले लगाउँदै आएका छन् ।
त्यसैले मधेसमा एमालेका लागि बाह्य र आन्तरिक दुवै प्रकारका चुनौती छन् । मधेस आन्दोलनयता एमाले आम रुपमा मधेस पुग्न सकेको छैन ।

पोलिटब्युरो सदस्य शत्रुघ्न महतोले पार्टीको आन्तरिक गतिविधि सञ्चालन भइरहेको पनि आम जनतामा सिर्जना गर्न खोजिएको भ्रम चिर्न विशेष अभियान आवश्यक रहेको बताए ।
‘केन्द्रसँग हामीले पहिलेदेखि नै अभियान चलाउन माग गर्दै आएका हौं,’ महतोले भने, ‘अभियानले एमालेविरुद्ध सिर्जना गर्द खोजिएको भ्रमलाई चिर्नेछ ।’

मधेसी मोर्चाका नेताले मधेसविरोधी शक्ति भएको भन्दै एमालेलाई ‘ब्यान्ड बाजा’ बजाएर तराईबाट लखेट्ने उद्घोष गर्दै आएका छन् । एमालेका लागि आन्तरिक समस्या पनि छन् । मधेसमा एमालेले पूरै मधेसमा चर्चित चेहरा एमालेको अभाव रहेको विश्लेषक बताउँछन् ।

एक दशकअघि पहिलो मधेस आन्दोलन सुरु भएलगत्तै मधेसमा नाम चलेका एमाले नेताले पार्टी छाडेका थिए ।
सीतानन्दन राय, जितेन्द्र देव, महेन्द्र राय यादवले पहिलो मधेस आन्दोलनपछि एमाले छाडे । ‘मधेस एक प्रदेश’ मागको सशक्त विरोध गर्दै आएका रामचन्द्र झा पनि दोस्रो सविधानसभा निर्वाचनअघि एमाले परित्याग गर्दै माओवादीतर्फ लागेका थिए ।

अहिले पदाधिकारी तहमा एक जना पनि मधेसी नेता छैनन् । नवौं महाधिवेशनमा उठेका मधेसी नेता पदाधिकारीमा मात्र होइन, केन्द्रीय सदस्यमा समेत जित्न सकेनन् । त्यतिबेला सामान्य प्रशासनमन्त्री बनेर निकै चर्चा कमाएका लालबाबु पण्डित उपाध्यक्षमा पराजित भएका थिए । पदाधिकारीमै उठेका धर्मनाथप्रसाद साह उपाध्यक्ष र रघुवीर महासेठ सचिवमा मात्र होइन, खुलातर्फको केन्द्रीय सदस्यमा समेत पराजित भएका थिए ।
२४ सदस्यीय स्थायी कमिटीमा एक जना मात्रै मधेसी नेता मनोनीत सदस्य छन् ।
‘मत मात्रै सबै विषय होइन । आठौं महाधिवेशनमा अशोक राईले सबैभन्दा बढी मत प्राप्त गर्नुभयो तर जातीय राजनीतिमा बहकिनुभयो,’ ज्ञवालीले भने ।

सचिव ज्ञवालीले अहिले पनि ‘मधेस र जनजातिहरुको राम्रो पंक्ति पार्टीमा रहेको जिकिर गरे ।’
एमाले उपमहासचिव भुसालले पनि मधेसी नेता अहिले पनि नेतृत्वमा प्रशस्त रहेको बताए । ‘कठिन समयमा समेत जनताबाट दुई–दुईपटक निर्वाचित भएर विभिन्न मन्त्रालय चलाएका मधेसी नेता पार्टीमा छन्,’ उपमहासचिव भुसालले भने, ‘उनीहरुलाई मधेसका नेता नदेख्नु समस्या हो ।’
एमालेकै नेताका अभिव्यक्तिका कारण समेत त्यसलाई बढी बल पुगेको छ । नेताहरुले मधेसको प्रदर्शनलाई ‘माखेसाङ्लो’, ‘धोती प्रदेश’ वा ‘कालो वर्णको’ जस्तो अभिव्यक्ति दिएको आरोप मधेसवादी दलले उठाउँदै आएका छन् जसले पार्टीमा मधेस क्षयीकरणलाई बढावा दिएको छ ।
‘पूर्वाग्रहपूर्ण रुपमा लखेट्ने काम भएको छ । अन्य प्रसंगमा भनेको विषय जोडेर त्यस्तो आरोप लगाउने काम भएको छ,’ ज्ञवालीले भने ।
पञ्चायतकालमा मधेसमा तत्कालीन नेकपा माले धनुषा र सिरहाका केही पकेट क्षेत्रमा मात्र एमालेको संगठन थियो । त्यसको परिणाम २०४८ सालको प्रतिनिधिसभा र २०४९ सालको स्थानीय निकायको निर्वाचनमा देखिन्छ । २०५१ मा नेकपा एमालेको नेतृत्वको अल्पमतको सरकारले ल्याएको ‘आफ्नो गाउँ, आफैँ बनाऊँ,’ र वृद्ध भत्ताजस्ता कार्यक्रमको प्रभावपछि मात्रै नेकपा एमाले मधेसमा नेपाली कांग्रेसलाई टक्कर दिन सक्ने अवस्थामा पुगेको हो ।
त्यसको परिणाम २०५४ सालको स्थानीय र २०५६ सालको आमनिर्वाचनको परिणाम देखिन्छ ।
पहाडबाट बसाइँसराइ गरी महेन्द्र राजमार्गको आसपास क्षेत्रको तुलनामा कोर मधेसी बस्ती रहेको हुलाकी राजमार्गको आसपासको क्षेत्रमा भने तुलनात्मक रुपम कमजोर रहँदै आएको छ ।
‘मधेसमा जे संगठन थियो । अहिले  पनि छ  त्यसमा कुनै विचलन छैन । कहिलेकाहीँ हावाहुरी आउँदा केहीलाई सबै उडायोजस्तो लाग्छ त्यस्तो मात्रै हो,’ भुसालले भने, ‘केही मनोवैज्ञानिक समस्या मात्रै हुन् । त्यो पनि चाँडै समाधान हुनेछ ।’

प्रकाशित: ३ माघ २०७३ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App