२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

धरानको कार्यपालिका बैठकमा ३ जना मात्र वडाअध्यक्ष उपस्थित, बैठक फेरि स्थगित

सोमबारको कार्यपालिका बैठकमा मेयर, उपमेयर। तस्बिर: रोहित राई

धरानको मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरुबीचको विवाद साम्य नहुँदा कार्यपालिका बैठक प्रभावित बनेको छ।  

मेयर साम्पाङले आह्वान गरेको कार्यपालिका बैठक आज (सोमबार) वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु अनुपस्थित भएपछि स्थगित भएको छ। बैठकमा मात्र ३ जना वडाअध्यक्षहरु उपस्थित भएपछि आवश्यक कोरम नपुगेर बैठक स्थगित भएको हो। बैठकमा मेयर साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा नं ४ का अध्यक्ष धनबहादुर राई, वडा ६ का अध्यक्ष भुपेन्द्र भट्टराई मात्र उपस्थित भएका थिए।

बैठक बस्न नसकेपछि मेयर साम्पाङले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै भोली र पर्सी पनि बैठक बोलाउने बताए। उनले सानातिना कुरामा विवाद गर्दै बस्न नहुने भन्दै वडाअध्यक्षहरुलाई पनि बैठकमा आउन आह्वान गरे। उनले भने,‘मैले छलफल पनि गरेकै थिए। आज बैठक पनि बोलाएकै हो, तर उहाँहरु आउनु भएन। भोली र पर्सि पनि बोलाउछुँ।’

उपमेयर बेघाले धरानको विकास र जनताको एजेण्डा बोकेर आएका जनप्रतिनिधिहरु सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। वडा नं ४ का अध्यक्ष राईले वडाको महत्वपुर्ण एजेण्डाहरु भएकोले आफु बैठकमा आएको तर अन्य वडाअध्यक्षहरु नआउदा बैठक नभएकोमा असन्तुष्टी जनाए। उनले आफ्नो वडामा खानेपानीको लागी प्रदेश र संघबाट आएको ७० लाख हाराहारीको बजेटबारे निर्णय गरेर पान नम्बर लिनुपर्ने तर बैठक नहुदा प्रभावित भएको बताए।

मेयर साम्पाङका स्वकिय सचिव सुर्दशन लिम्बुले वडाअध्यक्षहरुलाई सम्पन्न भएको योजना तथा कार्यक्रमहरुको सुची पठाइदिन पत्राचार गरेका थिए। नियम विपरीत सो पत्र पठाएको र आफुहरुको अपमान भएको भन्दै वडाअध्यक्षहरुले चैत १ गते कार्यपालिका बैठकमा कुरा उठाएका थिए। यो विवादले एजेण्डामा प्रवेश नगरि बैठक स्थगित भएको थियो भने वडाअध्यक्षहरुले विभिन्न ५ बुँदे माग राखेर आन्दोलन घोषणा गरेका थिए। आज बिहान पनि कांग्रेस, एमाले र माओवादीबाट निवार्चित वडाअध्यक्षहरुको छुट्टाछुट्टै बैठकले माग पुरा नभएकोले बैठकमा सहभागी नहुने निर्णय गरेको थियो।  

प्रकाशित: ४ वैशाख २०८० ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App