५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संविधान संशोधन विधेयक परिमार्जन सहित पारित हुन्छ: कमल थापा

खोटाङ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संसदमा प्रस्तुत संविधान संशोधन विधेयकलाई परिमार्जन सहित पारित गर्नुपर्ने बताएका छन्। खोटाङको दिक्तेल नगरपालिका–१० मेवाखोला दोभानमा शुक्रबार १ मेगावाट क्षमताको मेवाखोला हाईड्रोपावर उद्‍घाटन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले संशोधन विधेयकका कतिपय दफाहरु राष्ट्रिय हित अनूकुल नभएका कारण परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका हुन्।

अध्यक्ष थापाले साँच्चीकै वर्तमान गतिरोधहरु हल गरेर देशलाई चुनावतर्फ उन्मुख गराउने हो भने विधेयकलाई परिमार्जन गर्नुको बिकल्प नभएको बताए। उनले यथास्थितिमा संशोधन प्रकृया अगाडि बढाइए प्रत्यूत्पादक हुने चेतावनी दिए। ‘सरकारले संसदमा संविधान संशोधन विधेयक प्रस्तुत गरेपछि मधेस केन्द्रित दलहरु असन्तुष्ट छन्। प्रदेश नम्बर ५ का जनता आन्दोलित छन् । केही दलहरुले संसद अवरुद्ध गरिरहेका छन् । हाम्रो पार्टीको दृष्टिकोणमा पनि विधेयकका केही दफाहरु राष्ट्रिय हित अनूकुल छैनन्,’ पूर्व उपप्रधानमन्त्री थापाले भने, ‘त्यसर्थ साँच्चै समस्याको समाधान गरेर देशलाई चुनावतर्फ उन्मुख गराउने हो भने विधेयकलाई केही परिमार्जन गर्नुपर्छ। यथास्थितिमा अगाढि बढाउन खोजिए प्रत्यूत्पादक हुन सक्छ ।’ संविधान संशोधन विधेयक परिमार्जन नगरिए राप्रपा नेपालले सरकारलाई सहयोग गर्न नसक्ने अवस्था आउन सक्ने उनले बताए। थापाले संविधान संशोधन विधेयक संसदमा पेश गर्नेक्रममा सरकारमा भएको राप्रपासँग परामर्श नगरिएका कारण विधेयकका बिषयमा आफ्नो पार्टीको ‘नैतिक बन्धन वा प्रतिबद्धता’ नरहेको स्पष्ट पारे । नयाँ संविधानमा केही कमीकमजोरी भए पनि समावेशिताको दृष्टिकोणबाट अन्य देशका संविधानभन्दा अग्रगामी र प्रगतीशिल रहेको उनले दाबी गरे। 

अध्यक्ष थापाले अन्योल, अनिश्चितता र अराजताको दलदलबाट देशलाई बचाउनकालागि तत्काल चुनावको मिति घोषणा गर्नुपर्नेमा जोड दिए। २०७४ साल माघ ७ गतेभित्र स्थानीय, प्रदेश र संघीय संसदको चुनाव गर्न नसकिए संविधान कार्यान्वयन हुन नसक्ने र मुलुक फेरी अन्योल र अराजताकै दलदलमा फस्ने खतरा रहेको उनले औंल्याए।

नयाँ सरकारमा जाने वा नजाने बिषय टुंगो लगाउन बाँकी रहेको भन्दै अध्यक्ष थापाले सरकारमा राप्रपाको सहभागीता सत्तारुढ दलको भूमीकामा भर पर्ने बताए। ‘हामीसँग हाल भएका दुई सदस्यलाई निरन्तरता दिने अर्को थप नगर्ने, केही मन्त्री थप गर्ने वा भएकालाई पनि फिर्ता गर्ने बिकल्प छन्,’ थापाले भने, ‘सत्तारुढ दलले गर्ने व्यवहार र हामीबाट उहाँहरुले गर्नु भएको सहयोगको अपेक्षाको अधारमा हामी उपयुक्त समयमा उपयुक्त निर्णय गर्छौँ।’

प्रकाशित: २९ पुस २०७३ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App