३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद्मा हाजिर गरेर टाप हुने (हाटा) नचल्दे हुन्थ्यो: सांसद हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सांसदहरूको हाजिर गरेर टाप हुने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन्। 

उनले प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै भने,  ‘संसद्को बैठक सञ्चालन गर्न लाखौँ रुपैयाँ खर्च हुन्छ। यहाँ थिति बसाल्ने बहसहरू बेसमरी चल्छ। म आश्चर्य चकित भएको छु यो ४ महिना । गत २९ गतेको बैठकमा बिहान हाजिर गर्नेको सङ्ख्या १६२ । साँझ जम्मा ६१ जना। गजब लाग्यो, गजब लाग्यो र यसलाई चलनचल्तीको भाषामा हाजिर गरेर टाप कस्ने भन्दो रहेछ। हाटा भन्दो रहेछ। सदनमा यस्तो हाटा नचल्दे हुन्थ्यो भन्ने मेरो आग्रह।’

उनले यस्तो प्रवृत्तिले समाजमा गलत सन्देश जाने समेत बताए । ‘सबै चिज थिति बसाल्ने ठाउँमा पनि यो चिजले समाजमा कस्तो सन्देश जान्छ होला। अनि हामीले फेरी लोकतन्त्रको कुरा संसदीय गरिमाको कुरा मर्यादाका कुराका भाषणहरू यहाँबाट बाहिर निस्केर गरिरहँदा कस्तो सन्देश प्रवाह हुन्छ होला’, सांसद ढकालले भने। 

उनले यो प्रवृत्तिले विधेयकहरू प्रस्तुत भएका बेलामा गणपूरक सङ्ख्या नपुग्ने गरेको समेत बताए । ‘एक पटक होइन, दुई दुई पटक गणपूरक सङ्ख्या पुगेन विधेयक प्रस्तुत गरेको बेला यो अधिवेशनमा’, ढकालले भने, ‘म सम्मानित सदनलाई हार्दिक आभार गर्न चाहन्छु। बैठक सकेपछाडि पनि हाजिरी गर्ने व्यवस्था गरियोस्। म घोषणा गर्न चाहन्छु। म चाहिँ हाजिरी अब बैठक सकिएपछि मात्र गर्नेछु।’

प्रकाशित: ३ वैशाख २०८० ०८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App