coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कार्की सरकारी निवास छाडेर भाइको घरमा

काठमाडौं- सर्वोच्च अदालतको फैसलासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त लोकमानसिंह कार्कीले  सकारी निवास छाडेका छन्। सर्वोच्चले पाँच दिनअघि कार्की अख्तियार प्रमुख आयुक्त हुन अयोग्य भएको फैसला सुनाएको थियो। फैसलासँगै स्वतः पदमुक्त भएका कार्कीले लगत्तै सरकारी निवास छाड्नुपर्ने भए पनि पाँच दिनपछि छाडेका हुन्। अख्तियार प्रमुख आयुक्तको निवास अख्तियार कार्यालयसँगै जोडिएको छ।

कार्की सरकारी निवासबाट बिहीबार साँझ साढे ६ बजे निस्केका हुन्। बा७च ७८५८ नम्बरको कालो कारमा सरकारी निवासबाट बाहिरिएका कार्कीको अनुहार मलिन थियो। स्रोतका अनुसार निवासबाट निस्कँदा कारको अघिल्लो सिटमा छोरी थिइन् भने पछाडिको सिटमा श्रीमतिसहित कार्की थिए।

आफू निस्कनुभन्दा करिब दुई घन्टाअघि कार्कीले आमा भूमालाई निवासबाट पठाएका थिए। स्रोतका अनुसार कार्की आफ्ना भाइ बालमानसिंह कार्कीको बानेस्वरस्थित घरमा गएका छन्। लोकमानका भाइ किस्ट मेडिकल कलेज सञ्चालक हुन्।

कार्कीको बानेश्वरमा घर छ। आफ्नो घरमा सामसुङ कम्पनीको गोदाम रहेका कारण उनी भाइको घरमा बस्न गएका हुन्। सामसुङले कार्कीलाई मासिक तीन लाख रुपैयाँ भाडा दिँदै आएको छ। भाडामा दिएको घर तत्कालै खाली हुने सम्भावना नभएपछि कार्की भाइको घरमा बस्न गएका हुन्।

अख्तियारमा कार्की नियुक्त हुनुपूर्व दाजुभाइबीचको सम्बन्ध राम्रो थिएन। तर, कार्की अख्तियार प्रमुख भएपछि किस्ट मेडिकल कलेजलाई नियमविपरीत विद्यार्थी कोटा बढाउन सहयोग गरेका थिए। त्यसपछि दाजुभाइबीचको सम्बन्ध सुधार भएको स्रोत बताउँछ।

कार्कीलाई सर्वोच्चले अख्तियार प्रमुख हुन आवश्यक पर्ने उच्च नैतिक चरित्र र २० वर्षे सेवा अवधि नपुग्ने भन्दै अयोग्य ठहर गरेको हो। कार्की अख्तियार प्रमुख भएको ४४ महिनापछि सो पदका लागि अयोग्य भएको फैसला आएको हो। अदालतको फैसलाअघि नै कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्ताव विचाराधीन छ।

संसद्मा कात्तिक ३ गते महाभियोग प्रस्ताव दर्ता भएपछि कार्की निलम्बनमा परेका थिए। निलम्बनमा परे पनि कार्की सरकारी निवासमै बस्दै आएका थिए।

स्रोतका अनुसार कार्कीले अदालतबाट आफू पदमुक्त हुने सम्भावना देखेपछि एक महिनाअघिदेखि नै निकटस्थ व्यक्तिलाई घर खोज्न लगाएका थिए।  भनेजस्तो घर नपाएपछि  उनी भाइको घरमा बस्न गएका हुन्। 'उहाँका लागि घर खोज्ने काम अझै जारी छ,' स्रोतले भन्यो, 'उहाँ भाइको घरमा केही दिन बस्नुहुनेछ।'

कार्की २०७० वैशाख २५ गते अख्तियार प्रमुखमा नियुक्त भएका थिए। दोस्रो संविधानसभा चुनाव गराउन गठित मन्त्रिपरिषद्का बेला संवैधानिक परिषद्ले कार्कीलाई अख्तियार प्रमुख आयुक्तमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही आधारमा तत्कालीन राष्ट्रपति रामवरण यादवले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरेका थिए। प्रधानमन्त्री परिषद्को अध्यक्ष हुने व्यवस्था छ। त्यतिबेला चुनावी मन्त्रिपरिषद्को अध्यक्ष हैसियतमा खिलराज रेग्मी परिषद्को पनि अध्यक्ष थिए। कार्कीलाई अख्तियारमा नियुक्त गर्न तत्कालीन राजनीतिक संयन्त्रले परिषद्लाई सिफारिस गरेको थियो।

प्रकाशित: २९ पुस २०७३ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App