काठमाडौं–सरकारले आइतबार बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरेको छ। सो विषयमा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र मधेसी मोर्चाका नेताबीच अनौपचारिक छलफल भएको छ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग टेलिफोन वार्ता गरेका छन्। टेलिफोन वार्तामा प्रधानमन्त्री र कांग्रेस सभापति देउवाले आइतबार बस्ने संसद बैठकमा संशोधन प्रस्ताव पेश गर्ने बताएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।
शनिबार नै तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले पनि प्रधानमन्त्री र कांग्रेस सभापतिसँग अनौपचारिक छलफल गरेका छन्। स्रोतका अनुसार शुक्रबार एमालेले राजधानीमा गरेको शक्ति प्रदर्शनपछि सत्तापक्षको तयारीका विषयमा मधेसी मोर्चाले सरकार र सत्तापक्षको धारणाबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीले आइतबार बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव टेबल गर्ने बताएका थिए।
प्रकाशित: २३ पुस २०७३ ०८:१४ शनिबार