जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वैशाख १० मा हुने उपनिर्वाचनका लागि बारा २ बाट सत्तारूढ पाँच दलीय गठबन्धनको समर्थनमा उम्मेदवारी दिएपछि यस क्षेत्रको उपनिर्वाचनले धेरैको ध्यान तानेको छ।
यादवलाई उपनिर्वाचनमा पराजित गराउने र विजयी बनाउने गरी प्रमुख पार्टीका अध्यक्ष वा प्रतिनिधि चुनाव प्रसारका लागि बारा आउने गरेको कारण पनि यहाँको निर्वाचनले चर्चा पाएको हो।
पाँच दलीय गठबन्धनका नेताहरूले यादवलाई विजयी बनाउन मत माग्दै आएका छन्। त्यसबाहेक एमाले, रास्वपा, जनमतलगायत दलका नेताहरूले यादव हराउन जोडबल गरिहेका छन्।
बारा–२ मा पर्ने पिप्राबिर्ता घर भएका नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले गठबन्धको समर्थनमा उम्मेदवारी दिएका जसपाका अध्यक्ष यादवलाई पराजित गर्न देशकै राजनीतिक शक्ति लागेको बताए। तनहुँको किसान श्रेष्ठ बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुने र देशमा मधेसीप्रति गरिँदै आएको भेदभाव अन्त्यका लागि आन्दोलन गर्न उपेन्द्र यादव बारा–२ बाट उम्मेदवारी दिँदा त्यसविरुद्धमा अनावश्यक कुरा गरेर मतदातालाई भ्रमित पार्ने प्रयास गरिएको दासले बताए।
जनमत पार्टीका अध्यक्ष सिके राउत र आम जनता पार्टीका अध्यक्ष प्रभु साह मतदातासमक्ष आफूले गरेको कामभन्दा उपेन्द्र यादवको बारेमा नराम्रो कुरा गरेर मतदातालाई मत नदिन आग्रह गरिरहेको दासले बताए।
चैत २२ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न बरियारपुर पुगेका थिए। उनले उपेन्द्र यादवलाई लक्षित गर्दै मधेसमा धेरै मसिहा रहे पनि उनीहरूले मधेसको विकासभन्दा जनता ठग्ने काम मात्रै गरेको आरोप लगाउँदै यस्तालाई चुनावमा नजिताउन मतदातासँग ओलीले आग्रहसमेत गरेका थिए।
चैत ८ गते बारा आएका जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ बाट पनि पराजित गर्न मतदातालाई आग्रह गरेका थिए। ‘उपेन्द्र यादव ‘फिरंगी’ हुन्,’ राउतले भने, ‘सप्तरीका जनताले जसरी हराए, त्यसरी नै बारामा पनि हराउँछन्।’
जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहा स्थायी भएको बताउँदै उनले स्थानीय नेतालाई नै विजयी बनाउन र टुरिस्ट उम्मेदवारलाई बहिस्कार गर्नुपर्ने राउतले बताएका थिए।
आमजनता पार्टीका अध्यक्ष प्रभु साहले उपेन्द्र यादवलाई ‘बहुरुपिया’ रहेको बताएका छन्। मधेसी जनतालाई ठग्दै आएका मधेस विरोधी यादव बारामा चुनाव लड्न आएको भन्दै साहले यादवलाई पराजित गरी आमजनता पार्टीका उम्मेदवार अरूण कुमार ज्ञवालीलाई विजयी बनाउन मतदातसग आग्रहसमेत गरेका छन्।
एमाले अध्यक्ष ओली, जनमत अध्यक्ष राउत, आजपा अध्यक्ष साहसहितका नेताले यादवका विरोधमा उत्रेर पराजित गर्नको लागि प्रचारप्रसार गरिरहेका छन् भने यादवलाई विजयी बनाउन गठबन्धनका नेताहरू मत माग्दै चुनवी प्रचारप्रसारमा छन्।
चैत २३ गते बिहीबार कलैया पुगेका नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यकता रहेकाले बारा– २ का मतदाताहरूले यादवलाई नै मतदान गरेर विजयी बनाउनुपर्ने बताएक थिए।
१० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा–२ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न राजनीतिक दलका १२ र स्वतन्त्रतर्फ २४ गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। ३६ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा विभिन्न क्षेत्रमा ४ मंसिरको निर्वाचनमा पराजित नेताहरूकै बीचमा प्रतिस्पर्धा हुने देखिन्छ।
बारा–२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। ४ मंसिरको निर्वाचनमा यादव जनमत पार्टीका अध्यक्ष डा. राउतसँग सप्तरी २ मा पराजित भएका थिए। डा. राउतसँग झन्डै १८ हजारभन्दा बढी मतान्तरले पराजित यादवको प्रतिस्पर्धा अर्काहरूवा नेता शिवचन्द्र कुशवाहासँग हुँदैछ।
४ मंसिरको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा–२ मा रामसहाय यादवसँग ३ सय ५४ मतले पराजित भएका कुशवाहाले वैशाख १० को उपनिर्वाचनको लािग जनमत पार्टीको तर्फबाट उम्मेदवार बनेका छन्। यसअघि कुशवाहा माओवादी केन्द्रबाट तत्कालीन पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार थिए। कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याएका थिए भने रामसहाय १३ हजार ८ सय २२ मत ल्याएर विजयी भए। माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चाको समर्थन गत निर्वाचनमा कुशवाहालाई रहेको थियो। जसपा पार्टीका उम्मेदवार रामसहायलाई एमालेले समर्थन गरेको थियो।
उपेन्द्रलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपाले समर्थन गरेको छ। कुशवाहालाई कुनै पनि दलले समर्थन गरेको देखिँदैन। कुशवाहाले समर्थन जुटाउनको लागि विभिन्न दलका असन्तुष्ट नेताको मत तान्ने प्रयासमा रहेका छन्। जसपा अध्यक्ष यादव गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवलाई पार्टीमा प्रवेश गराउँदै सत्तारूढ गठबन्धनको पूरै मत लिएर संसद्मा प्रवेश गर्ने रणनीतिमा छन्। रामकिशोरले गत निर्वाचनमा ११ हजार ४३ मत ल्याएका थिए
४ मंसिरको निर्वाचनमा बारा २ बाटै पराजित अधिवक्ता ज्ञवाली स्वतन्त्र उम्मेदवार थिए। ७ हजार ६ सय ९८ मत ल्याएका ज्ञवाली यो उपनिर्वाचनमा प्रभु साहले नेतृत्व गरेको आजपाबाट उम्मेदवारी दिएका छन्। कुशवाहा, ज्ञवाली बारा २ कै स्थायी बासिन्दा हुन् भने यादव र खरेल अन्य जिल्लाका स्थायी बासिन्दा हुन्। बारा २ का मतदाताले स्थानीय उम्मेदवारलाई मतदान गर्ने बताउँदै गर्दा ‘टुरिस्ट’ उम्मेदवारलाई बहिष्कार गर्ने चेतावनी दिएका छन्। यहाँ जातीय नारा पनि जोडतोडले उठेको छ।
एमालेबाट पुरुषोत्तम पौडेल प्रतिस्पर्धामा छन्। निजगढ निवासी पौडेल पूर्वमन्त्री एवं पूर्व सांसद हुन्। एमाले पोलिटब्युरो सदस्य रहेका पौडेल २०७४, २०७९ को निर्वाचनमा उम्मेदवार हुन खोजे पनि पार्टीले पत्याएनन् ।
पौडेल माथि जिल्लाको उत्तरी भागको विकासमा मात्रै योगदान गरेको आरोपहरू लग्ने गरेको छ। जिल्लाकै सदरमुकाम समेत रहेको पुरानो कलैया नगरपालिकालाई नगरपालिकामै सिमित राखेर तत्कालीन गाविसहरूलाई मिलाएर उत्तरी भागमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका घोषण गराएर कलैया माथि बिभेद गराएको अरोप पौडेल माथि लाग्ने गरेको छ। केपी ओली नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेको बखत कलैयामा क्रिकेट स्टेडियमको लागि बजेत उपल्बन नगराएको आरोप पनि छ।
बारा २ मा करैयामाई, देवताल, सुवर्ण गाउँपालिका र महागढीमाई, पचरौता नगरपालिकाका सम्पूर्ण वडा पर्छन्। त्यस्तै, कोल्हवी नगरपालिका–८ पनि बारा २ मै पर्छ। गत स्थानीय तहको निर्वाचनमा जसपाले करैयामाई, देवताल गाउँपालिका जितेको थियो। कांग्रेसले सुवर्ण गाउँपालिका ,महागढीमाई नगरपालिका र एमालेले पचरौता नगरपालिका जितेका छ।
प्रकाशित: २८ चैत्र २०७९ ०३:०९ मंगलबार