१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

तीन सातापछि नगरसभा, सात विधेयक पारित

विधेयक पास गर्ने सवालमा एमालेबाट विजयी जनप्रतिनिधि असन्तुष्ट भएर स्थगित भएको इटहरी उप-नगरपालिकाको १२ औं नगर सभा तीन सातापछि सात वटा विधेयक पास गर्दै टुङ्गिएको छ।

फागुन २७ गतेदेखि सुरु भएर चैत ३ गतेदेखि अनिश्चितकालिन समयका लागि स्थगित भएको नगर सभा दुई पक्षीय सहमतिका आधारमा सोमबार भएको हो।

नगर सभाले विनियोजन ऐन संशोधन विधेयक २०७९, इटहरी उप–महानगरपालिकाको केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९, रात्रि बजार सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र  बजार अनुगमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ पारित गरेको हो।

यस्तै, नगर खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, कर्मचारी आचारसंहिता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ छलफल पश्चात् पारित गरिएको हो। पारित भएका विधेयकमध्ये कर्मचारी आचारसंहिता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ मा एमालेबाट विजयी जनप्रतिनिधिले असन्तुष्टि जनाएका थिए। तर, सोमबार बसेको कार्यपालिका बैठकले अघिल्लो पटक असन्तुष्ट जनाएको कुनै पनि कुरालाई विना संशोधन सहज ढंगले पारित भएको मेयर हेमकर्ण पौडेलले जनाए।

अघिल्लो बैठक (चैत ३ गते) मै कर्मचारी सम्बन्धी विधेयको विषयमा इटहरीमा क्रियाशील राजनीतिक दलको नेतृत्वबीच सहमति भएकै आधारमा नगर सभाबाट टुङ्ग्याउने योजना रहेको थियो। यद्यपि, नगर सभाका क्रममा एमालेबाट विजयी जनप्रतिनिधि हाजिर गरेर निस्किएपछि मेयर पौडेललले अनिश्चितकालका लागि नगर सभा स्थगित भएको घोषणा गरेको थिए।

त्यस लगतै उनले सामाजिक सञ्जाल फेसबुकमा पनि नगर सभा स्थगित हुनुका कारण र कर्मचारीलाई व्यवस्थापन गर्ने ऐन पारित गर्ने सवालमा दलहरुबीच सहमति भएको बारेमा प्रस्ट्याएका थिए। नगर सभा स्थगित भएको साता पछि एमालेबाट निर्वाचित प्रतिनिधिले पनि पत्रकार सम्मेलन गरी मेयर पौडेलले एमालेमाथि गलत आरोप लगाएको जिकिर गरेका थिए। यद्यपि, लामो रक्सारक्सीपछि दुवै पक्षबाट सहमति भएर विधेयक पास हुन पुगेको हो।

प्रकाशित: २७ चैत्र २०७९ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App