९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौँ: अर्थमन्त्री

फाइल तस्बिर।

अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार केन्द्रित हुने बताएका छन्।

आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) सँग आज अर्थमन्त्रालयमा भएको भेटमा उनले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सरकार लागिरहेको बताएका हुन्।

'अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी सरकार लागिरहेको छ, मेरो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रीत रहेको छ', उनले भने। उनले अर्थतन्त्रमा लगानी, बैंकको ब्याजदर, पूँजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको उल्लेख गरे। मुलुकको अर्थतन्त्रमा बाह्य र आन्तरिक समस्याले गर्दा राजस्व सङ्कलन कम भएको उनको भनाइ छ।

अर्थमन्त्री डा.महतले मुलुकको राजस्व सङ्कलन भन्सारमा निर्भर भएको भन्दै यो वर्ष आयात प्रतिबन्ध लगायतको कारण लक्ष्य पूरा हुन नसकेको उल्लेख गरे। उनले साधारण खर्चमा समस्या देखिए पनि विदेशी मुद्रा सञ्चितिकोलगायत अन्य अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेकाले निराशा भइहाल्ने अवस्था नरहेको बताए।

अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा सरकारको वित्त नीति र मौद्रिक नीति निश्चित लक्ष्यका साथ सकारात्मक दिशामा उन्मुख गराउने उनको भनाइ थियो। उनले सरकारको दायित्वभित्र रहेका तलब, भत्ता, शिक्षा, स्वास्थ्यलाई चाहेर पनि कम गर्न नसक्ने बताए।

अर्थमन्त्री डा.महतले बजेटको प्रभावकारिता कार्यान्वयन गर्ने र उत्पादनशील क्षेत्रमा लगानीको सुनिश्चित हुनेतर्फ सरकारको ध्यान केन्द्रित हुने बताए। उनले उद्योग व्यवसायमा लगानी गरी आम्दानीको दायरा वृद्धि, वैदेशिक तथा आन्तरिक लगानी प्रवर्द्धन हुनुपर्ने उल्लेख गरे। 

सरकारले राजस्वमा वृद्धि गर्नसके मात्रै सामाजिक सुरक्षामा खर्च गर्न सकिने उनको भनाइ थियो।

प्रकाशित: २६ चैत्र २०७९ १५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App