६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

उत्कृष्ट ढङ्गले जिम्मेवारी सम्पादन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन्।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिएका छन्।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा श्रेष्ठले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गरेका छन्। 

सो क्रममा उनले ‘सत्य सेवा सुरक्षणम्’ को मुल मन्त्रलाई आत्मसात गरी सेवाभावबाट ओतप्रोत भई नागरिकको जिउधनको सुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिएर प्रहरी सेवा प्रदान गर्न गरिएका प्रयास अत्यन्तै सराहनीय रहेको चर्चा गरे।

सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने नै प्रहरी भएको र सरकारको प्रतिनिधिको रुपमा नागरिकसँग प्रथम सम्पर्क हुने हुँदा कार्यस्थलमा सुरक्षाकर्मीले गर्ने व्यवहारबाट नागरिकको सरकारप्रतिको धारणा निर्माण हुने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले भने, ‘तपाईहरुले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधरणको भरोसा र विश्वास लुकेको छ। स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत नागरिकको भरोसा र विश्वासलाई कायम राख्न अझ मेहनत गर्नु हुनेछ भन्ने आशा लिएको छु।’

तस्करी र राजश्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीको भूमिका स्मरणीय र उल्लेखनीय रहेको बताउँदै उनले यसको गुणात्मक वृद्धिका लागि दृढ भई कारवाही गर्न समेत निर्देशन दिए।

कुनै पनि अवाञ्छित दबाब र चलखेलमा नपरी संगठनको उद्देश्यलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्माचारीहरू ऐक्यबद्ध भई कार्य गर्नुपर्ने बताउँदै उनले पेशागत मर्यादा र प्रतिष्ठालाई कायम गर्दै संबिधान र कानूनले संगठनलाई दिएको जिम्मेवारी पूरा गर्न निर्भिकता पूर्वक सिर्जनात्मक ढंगले दायित्व निर्वाह गर्न समेत बताए।

पदस्थापना बढुवा, सरूवालाई अधिकतम प्रणालीगत र संस्थागत ढंगले आगाडि बढाउन गृहमन्त्रालयले आवश्यक पहल गर्ने उनको भनाइ थियो।

साथै मिटरब्याजबाट पीडितहरुको उजुरी समयमा नै अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन र पीडितलाई उचित न्याय दिलाउने कार्यलाई उच्च प्राथमिकताका राखी कार्यसम्पादन गर्न उनले उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए।

प्रकाशित: २० चैत्र २०७९ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App