काठमाडौं–भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सरकारले संविधान कार्यान्वयनका लागि संविधान संशोधन प्रस्ताव गर्दा गराएकाे भन्दै ‘संविधानको सर्वस्विकार्यतालाई फराकिलो बनाउने र कार्यान्वयन गर्नका लागि सरकार गम्भीर भएकाे बताएका छन्। शनिबार रिपाेर्टस् क्लबले अायाेजना गरेकाे साक्षात्कारमा मन्त्री लेखकले संसद अवरुद्ध गरेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राम्रो काम नगरेको आरोप लगाए ।
उनले भने, ‘संसदलाई र यसको अधिकारलाई कसैलेपनि बन्दी बनाउनुहुँदैन्, संसदभन्दा बाहिर गएर समस्याका समाधान खोजियो भने भने संसदको अधिकार कुण्ठित हुन्छ ।’ उनले संसद सर्वोच्च थलो भएकोले संविधान संशोधन प्रस्तावका बारेमा के गर्ने वा नगर्ने भन्ने अधिकार पनि उसलाई नै हुने बताए ।
उनले संविधान आँफैमा राम्रो भएको उल्लेख गर्दै थपे, ‘यो संविधान विश्वमै अनुकरणीय संविधान हो, यद्यपी यसमा केही असन्तुष्टिहरु देखा परेका छन, त्यसैले यो संविधानलाई कार्यान्वयन गर्नको लागि यसको सर्वस्विकार्यता बढाउने कुरामा सबै दलहरु सहमत छन्, त्यसैले सरकारले संशोधन प्रस्ताव ल्याएको हो।’ मन्त्री लेखकले सरकारले ल्याएको संशोधन प्रस्तावमा प्रमुख प्रतिपक्षी दलले विरोध गर्नुको कुनै तुक नरहेको समेत जिकिर गरे ।
उनले भने, ‘सरकारले अघि सारेको संशोधन प्रस्तावमा उल्लेख भएका ४ वटा विषय दलहरुवीच यसअघि नै सहमति भैसकेका विषय हुन् ।’ उनले नागरिकता, भाषा, राष्ट्रिय सभाको प्रतिनिधित्व र प्रदेशको सीमांकन लगायतका चार विषयमा केन्द्रित भएर आएको संशोधन प्रस्ताव सबैलाई मान्य हुने खालको र प्रमुख दलहरुवीच सहमति भैसकेको कुरा समेत स्पष्ट पारे ।
लेखकले प्रदेशको सीमांकन हेरफेरको प्रस्ताव त एमालेकै प्रस्ताव भएको जिकिर गरे । उनले थपे, ‘यो प्रस्ताव त तत्कालन काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको प्रस्ताव हो, बरु त्यतिवेला माओवादी सहमति थिएन, आज मधेशीमोर्चाले सहमति जनाउने स्थिति छ, तर एमाले किन भाग्न खोज्दैछ रु मलाई आश्चर्य लागेको छ ।’
फरक प्रसँगमा उनले सरकारले काठमाडौं–तराई द्रुत मार्ग निर्माणका लागि कार्यदल गठन गरिसकेको बताउँदै भने, ‘७ सदस्यीय कार्यदल गठन भैसकेको छ, कार्यदलले एक महिनाभित्र रिपोर्ट दिन्छ, डिपीआरको बारेमा, वित्तीय व्यवस्थापन कसरी गर्ने र टेण्डर प्रक्रियाको बारेमा रिपोर्ट दिन्छ।’
उनले सरकारले हुलाकी सडक निर्माण कार्य पनि अघि बढाइसकेको जनाए । उनले भने, ‘यसको लागि आवश्यक रकम छु्याईसकेको छ, करिब ७ सय किलोमिटरका १५ वटा सडक निर्माणको लागि ८० प्रतिशत ठेक्काको काम भैसकेको छ ।’
प्रकाशित: ९ पुस २०७३ ०९:०९ शनिबार