१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

पक्षमा ३८ मत विपक्षमा एक मात्र

कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत

नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेशमा मुख्यमन्त्री रहेका राजकुमार शर्माले दोस्रोपटक सिंगो सदनबाट विश्वासको मत पाएका छन्। कर्णाली प्रदेशसभा सभामुखसहित ४० सदस्यीय छ। दोस्रोपटक विश्वासको मतका लागि मुख्यमन्त्री शर्माले शुक्रबार प्रदेशसभामा राखेको प्रस्तावको विपक्षमा राप्रपाका एक सांसद मात्र उभिए। सभामुखले मतदान गर्नुपर्ने अवस्था आएन। मुख्यमन्त्री शर्माले पहिलोपटक माघ ६ गते विश्वासको मत लिँदा उनलाई २५ सांसदले समर्थन गरेका थिए।

राप्रपाले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले शुक्रबार दोस्रोपटक विश्वासको मत लिएका हुन्। अघिल्लो पटक विश्वासको मत नदिएको प्रदेशसभाको ठुलो दल नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शर्मालाई यसपटक मत दिएको छ। कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसबाट १४, सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका १३ र नेकपा एमालेका १० (सभामुखसहित), नेकपा एकीकृत समाजवादी (नेकपा एस) का एक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक र स्वतन्त्र एक सांसद छन्। सभामुख नन्दा गुरुङले प्रदेशसभाका ३९ सदस्यमध्ये मुख्यमन्त्री शर्मालाई ३८ जनाले विश्वासको मत दिएको बताइन्।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारलाई संकट आइलागेकाले विश्वासको मत दिएको बताए। ‘हामीले विश्वासको मत नदिँदा एमालेले पनि नदिने संकेत पायौं,’ उनले भने, ‘केन्द्रमा बनेको समीकरण अनुसार नै हामीले माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएका हौं।’ शाहीका अनुसार यसअघि माघ ६ गते मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदा केन्द्रमा सत्ता र राजनीतिक समीकरण फरक थियो।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले केन्द्रमा राजनीतिक र सत्ता समीकरण बदलिए पनि कर्णालीमा अहिलेसम्म त्यसको असर नपरेको बताए। ‘मुख्यमन्त्रीसँग उहाँले नेतृत्व गरेको राजनीतिक दलसँग अहिलेसम्म सम्बन्ध राम्रै छ,’ उनले भने, ‘सम्बन्ध हार्दिकता हुँदासम्म हाम्रो अहिलेको भूमिका जे छ, त्यसैमा रहन्छौं।’

कँडेलले सत्ता पक्षको बेन्चमा बसेर विपक्षमा भोट हाल्न नसुहाउने भएकाले आसन अनुसारको निर्णय आफूहरूले गरेको बताए।

‘भोलिका दिनमा मुख्यमन्त्री र उहाँको दलले गर्ने भूमिकाका आधारमा हाम्रो रणनीति निर्धारण हुन्छ,’ उनले भने। उनले एमालेको सहयोग आवश्यक नरहेको भनेर मुख्यमन्त्री र माओवादी केन्द्रले बुझिने गरी भने अवस्था फरक हुने बताए। ‘तेरो सहयोग चाहिँदैन भन्ने कुरा बुझिने गरी मुख्यमन्त्री र उहाँको दलले भनेको भोलिपल्ट आफ्नो व्यवस्थामा र आफ्नो ठाउँमा रहने कुरामा नेकपा एमालेमा कुनै द्विविधा छैन,’ उनले भने, ‘तर अहिलेसम्मको अवस्था हेर्दा त्यो परिस्थिति आउनेछैन भन्नेमा हामी ढुक्क छौं।’

प्रकाशित: १८ चैत्र २०७९ ००:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App