२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

संघीयता भारतको भारी : केसी

संगम घर्तीमगर

बाग्लुङ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको डिजाइनमा नेपालमा संघीयता लादिएको बताएका छन्। उनले संविधान संशोधन प्रस्ताव पनि भारतकै इसारामा आएको बताए। बिहीबार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले नेपालमा संघीयता क्यान्सरजस्तै भएको टिप्पणी पनि गरे।

‘भारतले नेपालको तराईका भागलाई आफूमा मिलाउन गरेको डिजाइनमार्फत नेपाललाई संघीयताको भारी बोकाइएको हो,’ केसीले भने, ‘संघीयता कार्यान्वयन भए नेपाल सिक्कीमीकरण हुन्छ।’ केसीले नेपालमा संघीयता कुनै पनि दृष्टिकोणले उचित नहुने बताए। ‘संघीयता भए अखण्ड नेपाल हुँदैन', उनले भने।

नेपालको आर्थिक अवस्थाले पनि संघीयता थेग्न नसक्ने केसीको तर्क थियो। ‘देशको आर्थिक अवस्थाले पनि संघीयता थेग्न सक्दैन,’ उनले भने, ‘संघीयताको नाममा देशलाई भड्खालोमा हाल्ने प्रयास भइरहेको छ।’

संविधान संशोधन प्रस्ताव पनि भारतकै चाहनाअनुसार आएको उनले ठोकुवा गरे। ‘सरकारले अहिले जुन संशोधन प्रस्ताव ल्याएको छ त्यो भारतकै इसारामा आएको छ,’ उनले भने, ‘यसले देशको समस्या हल गर्नुभन्दा थप बल्झाउने काम गरेको छ।’ संविधान जारी गर्दाको दलीय एकता टुुटाउन भारत लागिपरेको उनको भनाइ थियो।

एर्क प्रसंगमा केसीले सांसदको तलबभत्ता छोटो बाटो प्रयोग गरेर बढाएको सरकारले भूकम्पपीडितलाई राहत दिन नसकेको आरोप लगाए। ‘सांसदका तलब त छोटो बाटो रोजेर बढाइयो,’ उनले भने,‘ भूकम्पपीडित अझै पालमुनि छन्, उनीहरूलाई छोटो बाटोबाट व्यवस्थापन गर्नुपर्नेमा सरकार रनभुल्लमा छ।’

प्रकाशित: १ पुस २०७३ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App