अर्घाखाँची–पाँच नम्बर प्रदेशका पहाडी जिल्लाई तराइसँग अलग गराइ चार नम्बर प्रदेशमा लैजान खोजिएको बिरोधमा गत बुधबारदेखि जारी रहेको बन्द मंगलबारदेखि खुलेको छ। बन्द खुलेपनि बजार सुनसानै छ। गाउँबाट मानिसहरु बजार गर्नका लागि झरेका छैनन्। बुधबार देखिको लगातारको बन्दका कारण जनजीवन प्रभावित भएको भन्दै संयुक्त संघर्ष समितिले २५ गते सम्मका लागि बन्दका कार्यक्रमलाई स्थगित गरेको छ।
मंलबारदेखि शिक्षण संस्थाहरु पनि खुलेका छन्। बन्द खुलेपनि लामो दूरीका सवारी साधन सञ्चालनमा आएका छैनन्। कपिलबस्तु रुपन्देही गुल्मी, पाल्पा बन्द भएका कारण एक हप्ता देखि लामो दूरीका सवारी साधन चल्न नसकेका हुन्। संयुक्त संघर्ष समितिले मंगलबार र बुधबार अखण्ड पाँच नम्बर प्रदेश लेखेको डिजिटल नक्सालाई सन्धिखर्कका मुख्य÷मुख्य चोकमा राख्ने, बिहीबार र शुक्रबार मानव साङ्ग्लोले सरकारी कार्यालय घेर्ने कार्यक्रम सार्वजनिक गरेको नेकपा एमालेका जिल्ला कमिटी उपसचिव प्रेमनारायण गैरेले जानकारी दिए।
उनले त्यतिबेलासम्म पनि सरकारले संविधान संशोधन विधेयकलाई फिर्ता नगरे आन्दोलनलाई कडा रुपमा लैजाने बताए। नेपाली कांग्रेसका जिल्ला सभापति तथा संयुक्त संघर्ष समितिका संयोजक विष्णु खनाल मुस्कानले २५ गते शनिबार आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने बताए । गुल्मी पाल्पा कपिलबस्तु र रुपन्देहीमा बन्द सहितका आन्दोलनका कार्यक्रम भइरहेका बेलामा अर्घाखाँचीमा बन्द फिर्ता गराइएको भन्दै असन्तुष्टि बढेको छ। रुपन्देही र कपिलबस्तु बन्द भएपछि अर्घाखाँची खुल्ला रहनुको अर्थ नभएको भन्दै जिल्लाबासीले सबै जिल्लाका बिरोधका कार्यक्रम एकै खालका हुनुपर्ने बताएका छन्।
प्रकाशित: २१ मंसिर २०७३ ०८:२८ मंगलबार