१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संशोधन पक्षमा लाग्न दबाब

काठमाडौं- संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक पारित गराउन भारतले मधेसवादी दलका नेतालाई दबाब दिएको छ। भारतीय राजदूत रन्जित रेले लैनचौरस्थित दूतावासमा शनिबार मधेसवादी दलका नेताहरूलाई लन्च खान बोलाई संविधान संशोधन प्रस्ताव पारित गर्न लचिलो हुन दबाब दिएका हुन्।

राजदूत रेले संशोधन प्रस्तावलाई आलोचनासहित समर्थन गर्न सल्लाह दिएको बैठकमा सहभागी एक नेताले बताए।

मधेसवादी दलका नेताले संशोधन प्रस्ताव दर्ता हुनु सकारात्मक भन्दै केही बँुदामा परिमार्जन भए पारित गर्न सघाउने प्रतिबद्धता जनाएका थिए।

बैठकको सुरुमै रेले आफ्नो धारणा राखेका थिए। 'संशोधन प्रस्तावको विरोधमा आन्दोलन भइरहेका बेला प्रस्तावबारे तपार्ईंहरूको धारणा के हो? तपाईंहरू नै किन संशोधन प्रस्तावको विरोधमा जानुभयो', बैठकमा सहभागी एक नेताले रेले आफूहरूसँग सोधेको प्रश्न उद्धृत गरे।

जवाफमा मधेसवादी दलका नेताहरूले संशोधन प्रस्तावका केही बुँदा अधुरो भएकाले परिमार्जनका लागि सरकारलाई दबाब दिन खोजेको स्पष्टीकरण दिएका थिए।

बैठकको अन्त्यमा  राजदूत रेले मधेसवादी दलका नेताहरूलाई शुभकामना पनि दिएका थिए। 'तपाईंहरूलाई मेरो शुभकामना छ। संशोधन प्रस्तावमा लचिलो भएर सहयोग गर्नुहोस्', एक नेताले रेलाई उद्धृत गर्दै भने।

भेटमा तमलोपा अध्यक्ष महन्थ ठाकुुर, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र यादव, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव  र नेपाल सद्भावना पार्टी अध्यक्ष अनिल झा सहभागी थिए।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी भने दूतावास गएनन्। यादवले आफू शनिबार बिहान विराटनगर भएकाले दूतावास नगएको बताए। तर, मोर्चाका अन्य नेताका अनुसार उनी शनिबार बिहान काठमाडौंमै थिए। भण्डारी भने नयाँदिल्लीमा छन्।

'भारतीय राजदूतले संविधान संशोधनबारे जिज्ञासा राख्नुभयो। हामीले संशोधन प्रस्तावमा परिमार्जन गरेमा पारित गर्न सहयोग गर्छौं भन्यौं', भेटपछि सद्भावना पार्टी अध्यक्ष महतोले नागरिकसँग भने, 'राजदूतसँगको भेटमा मधेसको विकास निर्माणबारे पनि कुराकानी भयो।'

स्रोतका अनुसार संशोधन  प्रस्तावको विरोधमा एमालेलगायत दलले सुरु गरेको आन्दोलनबारे भारतीय राजदूतले चासो देखाएका थिए।

प्रकाशित: १९ मंसिर २०७३ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App