९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

मेयरका स्वकीय सचिवको पत्रले कार्यपालिका बैठकमा लफडा, बैठक स्थगित

बुधबार भएको कार्यपालिका बैठक। तस्बिर : रोहित राई

मेयर हर्क साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बुले वडा कार्यालयहरूमा पठाएको एउटा पत्रले धरानको कार्यपालिका बैठक नै प्रभावित भएको छ।

स्वकीय सचिवले क्षेत्राधिकार नाघेर वडामा पत्र पठाएको भन्दै वडा अध्यक्षहरूले आक्रोश पोखेपछि बुधबार दिउँसो आह्वान गरिएको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो।

मेयरका स्वकीय सचिव लिम्बुले नगर कार्यपालिकाको लेटरप्याण्डमा हस्ताक्षरसहित फागुन २९ गते वडा कार्यालयहरुलाई सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको सुची पठाउन अनुरोध गर्दै पत्राचार गरेका थिए। उनको पत्र मंगलबार सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको थियो।

बुधबार ढिला गरी सुरु भएको कार्यपालिका बैठकमा एजेण्डा प्रस्तुत हुनु अघि नै वडा अध्यक्षहरूले उक्त पत्रबारे विषय प्रवेश गराएका थिए। वडा नं १९ का अध्यक्ष पूर्ण लिम्बुले मेयरको स्वकीय सचिवले उपमहानगरपालिकाको लेटरप्याण्ड दुरुपयोग गरेको र मेयरलाई सघाउन बसेका व्यक्तिले निर्वाचित वडा अध्यक्षहरुलाई मानमर्दन हुने गरी पत्र पठाएको भन्दै कारबाही गर्न वा माफी माग्न मेयर साम्पाङलाई आग्रह गरेका थिए।

उनी पछि बोलेका वडा १७ का अध्यक्ष एवं प्रवक्ता सूर्यबहादुर भट्टराई (मनोज), वडा १० का अध्यक्ष विवेक राई, वडा १६ का अध्यक्ष मुरारी भट्टराई, वडा १५ का अध्यक्ष नरेश इवारमले पनि मेयरका स्वकीय सचिवले वडा कार्यालयहरुलाई पत्राचार गर्दै निर्देशन दिन नमिल्ने भन्दै आक्रोश पोखेका थिए।

उनीहरुले मेयर, प्रमुख प्रशासकीय अधिकृत वा महाशाखा प्रमुखहरु मार्फत आउने पत्र मात्र मान्य हुने भन्दै स्थानीय सरकारको लेटरप्याड दुरुपयोग गरेकोले कारबाही हुनुपर्ने वा मेयरले माफी माग्नुपर्ने अडान राखेका थिए। त्यस क्रममा केही बेर मेयर साम्पाङ र वडा अध्यक्षहरुबीच चर्काचर्की परेको थियो।

मेयर साम्पाङले भने आफूले वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडालाई सम्पन्न भएको योजना र कार्यक्रमहरुको सुची माग गर्न भने पनि उनले सचिवालयमार्फत पत्र पठाउन सुझाव दिएपछि सोही अनुसार निर्देशन दिएको बताए।

प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएर नयाँ नआइसकेको कारण खतिवडालाई आफूले पत्र पठाउन भनेको साम्पाङले बताए। उनले सामान्य कुरालाई ठुलो इस्यु नबनाउन आग्रह गर्दै माफी नमाग्ने अडान लिएका थिए। साथै, कारबाही नै गर्नुपर्ने भए सचिवालयमार्फत पत्राचार गर्न सुझाव दिने वरिष्ठ प्रशासकीय अधिकृत खतिवडालाई गर्ने पनि बताए। बैठकमा उपस्थित खतिवडाले पनि आफूले सचिवालयमार्फत पत्र पठाउन मेयरलाई सुझाव दिए पनि पत्रमा कसले हस्ताक्षर गर्ने भनेर नभनेको जवाफ दिएका थिए।

वडा १७ का अध्यक्ष एवं प्रवक्ता भट्टराईले विधिसम्मतरुपमा नगर चल्नुपर्ने भन्दै निजी सचिवलाई पत्र लेख्ने अधिकार कसले दियो भनेर चित्त बुझ्दो जवाफ दिनुपर्ने वा निष्कासन हुनुपर्ने बताए। त्यसो नभए स्वकीय सचिवले नगरकार्यपालिकाको लेटरप्याड दुरुपयोग गरेकोले कानुन बमोजिम अघि बढ्ने पनि बताए। बैठकमा कुरा नमिलेपछि मेयर साम्पाङले बैठक स्थगित गरेका थिए।

प्रकाशित: १ चैत्र २०७९ १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App