१० कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसबाट राज्यमन्त्रीकाे टुंगाे बिहीबार, शपथ शुक्रबार

काठमाडौं–  सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा राज्यमन्त्रीहरू पठाउने भएको छ। दाहाल नेतृत्वमा सरकार गठन भएको झन्डै चार महिना वित्नलाग्दा कांग्रेसले शुक्रबारसम्ममा दश जनासम्म नेतालाई राज्यमन्त्रीमा पठाउन लागेको हो ।

बिहीबार साँझसम्म सरकारमा सहभागी हुने नेताहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने र शुक्रबार राज्यन्त्रीको शपथ गराउने गरी कांग्रेसले तयारी थालेको छ । सकेसम्म बिहीबार नै थप नेतालाई सरकारमा सहभागि गराउने तयारी भइरहेको जनाउँदै केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, ‘कुनै कारणले सम्भव भएन भने शुक्रबार हुन्छ ।’

पार्टीभित्रका गुठ÷उपगुठको सन्तुलन कायम गरेर नाम पठाउने तयारी गरेको स्रोतको दाबी छ । सभापति शेरबहादुर देउवानिकटका कम्तीमा चार, नेता रामचन्द्र पौडेल पक्षबाट तीनका साथै कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का समुहबाट एक÷एक नेतालाई राज्यमन्त्रीमा पठाउने गृहकार्य भएको एक नेताले जानकारी दिए । नेता पौडेल निकटका चार नेतालाई राज्यमन्त्री बनाउन प्रस्ताव गरेको स्रोतको दाबी छ ।

तर केन्द्रीय सदस्य विकले पहिले जस्तो गुठ वा समुहगत आधारमा नाम नदिइने दाबी गरे । ‘पहिला जस्तो यति तेरो यति मेरो होइन शीर्ष नेताहरुबीच सहमतिमै नाम जान्छ,’ उनले भने ।

कांग्रेसले दिलिप गच्छदार, दीर्घराज भाट, इन्द्र बानिया, दिपक खड्का, सीताराम महतो, जीवन परियार, अब्दुल रज्जाक, तारामान गुरुङ, सुरेन्द्र आचार्य, सुवर्ण ज्वारचन, मिथु मल्लमध्येबाट राज्यमन्त्री पठाउने तयारी छ ।

प्रधानमन्त्री मातहतमा रहेका मन्त्रालयहरुमा पनि कांग्रेसबाट थप नेता सरकारमा सहभागि गराउँदा मन्त्री थप गर्ने सत्ता साझेदार दलले गृहकार्य थालेको छ । साना दलका लागि राखिएका मन्त्रालयमा दुई राप्रपा एक भएसँगै उनीहरुबाट केही मन्त्री र राज्यमन्त्री थप हुनसक्ने स्रोतको दाबी छ ।

दसैंअघि नै आठ नेतालाई राज्यमन्त्रीमा पठाउने गृहकार्य गरेपनि अन्तिम सयममा शपथ स्थगीत गरेको थियो । त्यसपछि पार्टी भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशनका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव पेस भएसँगै सरकार विस्तार अन्योलमा पर्दै आएको थियो ।

साउन २०गतेबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका दाहाल नेतृत्व वर्तमान सरकार हाल ३१ सदस्यीय छ । वर्तमान सरकारमा माओवादीबाट चार राज्यमन्त्रीसहित १३, कांग्रेसबाट १५, राप्रपा २ र नेकपा संयुक्तबाट एक जना मन्त्री छन् ।  
 

प्रकाशित: ८ मंसिर २०७३ १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App