६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्माण व्यवसायीले गरेका उपेक्षा टुलुटुलु हेरेर बस्न सक्दिनँ, आवश्यक कारबाहीको प्रक्रियामा जान्छु: मन्त्री श्रेष्ठ

फाइल तस्बिर

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्शान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरुले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले निर्माण व्यवसायीहरुले सम्झौता अनुरुपको काम नगरेर उपेक्षा गरेका छन् भने आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए। उनले काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने बताए। मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरुसँग ठेक्का रद्द गर्नसक्ने तर्फपनि सचेत गराए। उनले निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफु जुन कुनै मन्त्रालयसँग समन्वय गर्ने भन्दै निर्माण व्यवसायीहरुले पनि जिम्मा लिएको काम सम्झौता अनुरुप समयमै पूरा गर्ने संकल्प गर्नुपर्ने बताए।

उनले भने, ‘दश वर्ष अगाडी बिड गर्ने एउटा पुलको एउटा पिल्लर खडा गरेर बस्न मिल्छ? राजधानिकै अगाडी यही टेकुमा एउटा पुल छ, जो क्राइटीस्मा मेल खाँदैनन् त्यसलाई बुझाउन खोज्नु मिल्छ? सरकारले लिन मिल्छ? बाटाघाटा बुझाउन नपाइकन पर्सिदेखि टाल्नुपर्ने स्थिति पैदा हुन्छ। त्यो मिल्छ? मैले भनेको हामी सबै मिलेर गरौँ न। मलाई त अहिले निन्द्रा लाग्दैन। तपाईहरुलाई भुक्तानी पनि दिन नसक्दा, फाइल पेन्डिङ भयो, न्यायोचित छ भने किन समय लगाइदिने? किन तुरुन्तै नगर्ने? राज्यले दु:ख दिन पाए, लम्ब्याइदिन पाए, अलि अलि के–के, के–के गर्न पाए भनेर हुन्छ र? राज्य, सरकारले त जिम्मेवारीबोध गरेर विलम्ब नगरीकन नियमसंगत हुने काम छिटोछिटो गरिदिनुपर्‍यो नि। त्यसमा जे कमजोरी भएको छ, त्यसलाई सच्याइन्छ। तर यति कुराचाहीँ तपाईहरुसँग भन्नै पर्छ मैले राज्यलाई, राष्ट्रलाई, जनतालाई नोक्शानी हुनेगरी निर्माण व्यवसायीले गरेका उपेक्षा छन् भने त्यसलाई पनि म टुलुटुलु हेरेर बस्न सक्दिनँ।’

उनले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु, पुँजीगत खर्चको वृद्धि र व्यापार घाटा न्युनिकरण गर्नु सरकारको कार्यभार रहेको बताए। निर्माण व्यवसायीहरुलाई आफ्नो निवासमा नभेट्ने भन्दै कसैको उपेक्षा नगरेको उनको भनाइ छ।  

प्रकाशित: २८ फाल्गुन २०७९ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App