२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अंगीकृत नागरिकलाई मुख्य पद दिन मिल्दैन: गच्छदार

नेपालगन्ज–फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अंगीकृत नागरिकता प्राप्त गरेका व्यक्तिलाई मुख्य पद दिन नमिल्ने बताएका छन्। नेपालगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विश्वका कुनैपनि देशमा अंगीकृतलाई मुख्य पद दिइएको छैन, भारतमा पनि बंशजले मात्र मुख्य पद पाउने व्यवस्था छ।’ राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति र प्रधानन्यायाशधीशजस्ता पद संवेदनशील भएकाले अंगीकृतलाई दिन नमिल्ने उनको भनाइ छ।

‘केही पदमा उदारता देखाउन सकिएला, त्यसका लागि सबै दल सहमतिमा आउनुपर्छ, एक÷दुई वटा दलले भन्दैमा हुदैन,’ गच्छदारले थपे। नयाँ संविधानले नागरिकताका विषयमा गरेको व्यवस्था ठिक रहेको उनको भनाइ थियो। नागरिकताको समस्या पहिलेको जस्तो नरहेको जिकिर गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गच्छदारले भने, ‘अहिलेको अवस्थामा टोली नै खटाएर नागरिकता वितरण गर्न कुनै आवश्यक छैन।’ सरकारले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमार्फत आवश्यकता अनुसार नागरिकता वितरण गरिरहेकाले गाउँ–गाउँमा टोली खटाएर वितरण गर्नुको औचित्य नरहेको उनले प्रष्ट्याए।

वर्तमान सरकारले एक सय दिनको अवधीमा खासै उपलब्धि मुलक काम गर्न नसकेको उनको ठहर छ । फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले भने, ‘सरकारले संविधान संशोधनका लागि सहमति नै जुटाउन सकेको छैन, भारतीय राष्ट्रपतिको भ्रमण सफल पार्दैमा उपलब्धि हासिल गरेको भन्न मिल्दैन।’ उनी पार्टीको तीन दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न नेपालगन्ज आइपुगेको फोरम लोकतान्त्रिक बाँकेका अध्यक्ष फुलाराम थारुले जानकारी दिए।

 

प्रकाशित: २८ कार्तिक २०७३ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App