२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३३३ जना मतदाता

संघीय संसद्मा मतदाता ३ सय ३३, प्रदेशसभामा ५ सय ५० गरी ८ सय ८३ जना सांसद रहेका छन्। जसमा संघीय संसद्को मतभार २६ हजार २ सय २८ रहेको छ भने प्रदेशसभाको मतभार २६ हजार ४ सय रहेको छ। जसमा कुल मतभार ५२ हजार ६ सय २८ रहेको छ।

राष्ट्रपति निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन न्यूनतम २६ हजार ३ सय १५ मतको आवश्यकता पर्दछ। राष्ट्रपतिको निर्वाचन चैत २५ गते हुँदैछ। यसका लागि प्रदेशसभाका सांसदहरू काठमाडौं आउने क्रम बढेको छ।

कोसी प्रदेश सभाका सांसद रेवतीरमण भण्डारीले भने, ‘राष्ट्रपति निर्वाचनका लागि प्रदेशबाट आउनेक्रम जारी छ, कोसी प्रदेशका एमालेतर्फका सांसदहरू करिब–करिब काठमाडौं आइसकेका छन्।’

राष्ट्रपति निर्वाचनका लागि दुईजना उम्मेदवार रहेका छन्। कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ मैदानमा छन्। पौडेललाई माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको साथ रहेको छ। निर्वाचनमा कुल मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्दछ। गोप्य मतदानबाट निर्वाचन हुनेछ। पहिलो चरणमा कुनै पनि उमेदवारलाई ५० प्रतिशत मत पुगेन भने, दोस्रो चरणमा निर्वाचन हुनेछ। दोस्रो चरणमा हुने निर्वाचनमा कुल खसेको सदर मतको बढी मत प्राप्त गर्ने उमेदवार राष्ट्रपति निर्वाचित हुनेछ। ४५ वर्ष उमेर पुगेको व्यक्ति संघीय संसद्को सदस्य हुन योग्य भएको र कानुनले अयोग्य नभएको राष्ट्रपतिको योग्यता तोकिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गतेबाट सकिँदै छ। राष्ट्रपतिको २५ गते उपराष्ट्रपति चैत ३ गते हुँदैछ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्ने गरी अघिल्लो कार्यकालमा व्यवस्था गरेपनि यसपटक संघीय संसद भवन परिसर भित्र मतदानको तयारी गरिएको छ।

राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन १० गते, दाबी, विरोध, उजुरीलगायतका काम १० र ११ गते, निवेदन तथा उजुरीउपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका बनाएको थियो भने आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गर्ने १२ गते र उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने १३ गते रहेको बनाएको थियो।

त्यस्तै, मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते साँझ, उम्मेदवारविरुद्धमा उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गत साँझ र मतदान गर्ने २५ गते रहेको छ।

त्यस्तै, उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता फागुन २७ गते, मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित गर्ने सोही दिन २७ गते नै छ। त्यस्तै, उम्मेदवारको विरोधमा उजुरी दिने सोही दिन, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ गते रहेको छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिसँगै निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको छ।

प्रकाशित: २५ फाल्गुन २०७९ ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App