१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

आज राष्ट्रपति चुनिँदै

पौडेल र नेम्वाङ प्रतिस्पर्धामा, १० देखि ३ बजेसम्म मतदान

रामचन्द्र पौडेल सुवासचन्द्र नेम्वाङ

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि बिहीबार निर्वाचन हुँदैछ। संविधानसभाबाट २४० वर्ष लामो राजतन्त्रलाई सधैंका लागि २०६५ जेठ १५ गते बिदा गरेसँगै तेस्रो राष्ट्रपतिका लागि चौथो निर्वाचन हुन लागेको हो। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनबाट मुलुकले आगामी पाँच वर्षका लागि नयाँ राष्ट्रपति पाउनेछ।

नयाँ राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्। संघीय संसद् र प्रदेशसभा सदस्यहरूको अलगअलग मतभारबाट राष्ट्रपति निर्वाचित हुने व्यवस्था छ। संघीय संसद्का ३३४ सदस्यमध्ये राष्ट्रपति निर्वाचनमा ३३१ र प्रदेशसभाका ५५० सांसद गरी ८८१ जना मतदाता हुनेछन्।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिने भएसँगै बिहीबारका लागि तोकिएको निर्वाचनमा संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ। राष्ट्रपतिमा निर्वाचित हुन कुल मतभारको ५१ प्रतिशत ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। दुईमध्ये कुनै एक उम्मेदवारले आवश्यक मतभार पूरा गर्न नसके पुनः मतदान गर्ने संवैधानिक व्यवस्था छ। जसअनुसार राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २७५ मतभार ल्याउनुपर्छ। फागुन १२ गते बनेको नयाँ गठबन्धनको समर्थनसहित पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रपति निर्वाचन गोप्य मतदानबाट हुनुका साथै विभिन्न दलबाट संघीय र प्रदेशसभा सदस्यलाई ह्विप लाग्नेछैन। गठबन्धनमा रहेका सांसदहरूको मत प्राप्त भए पौडेल तेस्रो राष्ट्रपतिमा निर्वाचित हुने निश्चितजस्तै देखिन्छ। आठ दलीय गठबन्धनको मतभार ३१ हजारभन्दा बढी छ।

पौडेलसँग चुनावी प्रतिस्पर्धामा रहेका नेम्वाङको पक्षमा अहिलेसम्म उनकै दल एमालेबाहेक अरु खुलेको अवस्था छैन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेम्वाङको पक्षमा खुल्ने विश्लेषण गरिएको थियो। संघीय संसद्मा १४ र प्रदेशसभामा २८ सांसद रहेको राप्रपा कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनसहित केही नेता अहिलेको गठबन्धनको पक्षमा नभए पनि अधिकांश नेता पक्षमा रहेको जानकारी दिँदै एक  नेताले भने, ‘पार्टीको मत विभाजित हुने अवस्था भएकाले निर्वाचनमा मतदान नगर्ने निर्णयमा पुग्यौं।’

कुनै कारणले बिहीबार नयाँ राष्ट्रपति निर्वाचित हुन नसकेको अवस्थामा भने मुलुकलाई निकास दिन मतदान गर्ने जनाउँदै राप्रपा निकट स्रोतले भन्यो, ‘अहिले राष्ट्रपतिमा मतदान गर्नभन्दा नो भोटमा उभिँदा नै ठिक हुने देखियो।’

त्यस्तै रास्वपाले आफ्ना सांसदहरूलाई स्वविवेक प्रयोग गर्न भनेको छ। नयाँ राष्ट्रपतिका दुवै उम्मेदवारको पक्षमा बलियो धार देखिएको उक्त पार्टीले औपचारिक रूपमा कुनै निर्णय लिएको छैन। रास्वपाका प्रतिनिधिसभामा १९ सांसद छन्।

संघीय संसद्का ३३४ मतदातामध्ये मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा छन्। चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादले पदमुक्त भएपछि उक्त क्षेत्र रिक्त छ। जनता समाजवादी पार्टी (जसपा) का समानुपातिक सांसद सहनाज रहमानको फागुन १३ मा मृत्यु भएको थियो। सुरक्षाकर्मी हत्याको मुद्दामा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार छन्।

निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ। साँझसम्म राष्ट्रपति निर्वाचनको परिणाम आइसक्नेछ। फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरिएको छ। यसअघि २०६५ साउन ६ गते पहिलो राष्ट्रपतिका रूपमा रामवरण यादव निर्वाचित भएका थिए। दुई वर्षभित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्ने संवैधानिक व्यवस्था गरिएको थियो। तर थप दुई वर्ष कार्यकाल थप भए पनि बिनासंविधान संविधानसभा विघटन भएको थियो। २०७० सालमा दोस्रो संविधानसभा निर्वाचन भए पनि अन्तरिम संविधानमा नयाँ संविधान नभएसम्म राष्ट्रपति कायम रहने व्यवस्थालाई टेक्दै यादवले नै निरन्तरता पाएका थिए।

२०७२ असोजमा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि दोस्रो राष्ट्रपतिका रूपमा विद्या भण्डारी कात्तिक १२ गते शीतल निवास प्रवेश गरेकी थिइन्। एमाले, माओवादी केन्द्रसहितका दलहरूको समर्थनमा राष्ट्रपतिको जिम्मेवारीमा पुगेकी भण्डारी २०७४ सालमा नयाँ संविधानअनुसार भएको संघीय संसद् र प्रदेशसभा निर्वाचनपछि फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी थिइन्। उनको कार्यकाल फागुन २८ गते सकिँदैछ। निर्वाचन आयोगले नयाँ उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया फागुन २७ मा सुरु हुने र चैत ३ का लागि मतदानको मिति तय गरेको छ। राष्ट्रपतिमा जस्तै उपराष्ट्रपतिमा पनि संघीय र प्रदेशसभा सदस्यहरूले मतदान गर्नेछन् ।

प्रकाशित: २५ फाल्गुन २०७९ ००:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App