२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपति निर्वाचनपछि देशको राजनीति स्थिर हुन्छ: रामकुमारी झाँक्री

कार्यक्रममा बोल्दै पूर्व मन्त्री झाँक्री। तस्विरः महेश्वर

नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीले नेपालको राजनीति राष्ट्रपतिको चुनावपछि स्थिर हुने बताएकी छिन्।

बुधबार खोटाङको हलेसीमा आयोजित ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उद्घाटन गर्दै नेतृ झाँक्रीले बिहीबार हुने राष्ट्रपति निर्वाचनपछि देशको राजनीतिले स्थिरता पाउने बताएकी हुन्।

हलेसी तुवाचुङ नगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई पूर्व मन्त्रीसमेत रहेकी झाँक्रीले वर्तमान राजनीतिक अवस्था अस्थिर र अन्योलपूर्ण रहेको स्विकार्दै तर, राष्ट्रपति चुनावपछि यस्तै नरहने बत्ताइन्।

‘अहिले जुन खाले अस्थिर र अन्यौलपूणै राजनीतिक परिस्थिति छ, त्यो सधैँ रहिरहँदैन र रहिरहन दिनु पनि हुन्न’ उनको भनिन् ‘भोलि हुने राष्ट्रपति चुनावपछि यो अस्थिरताको अन्त्य भएर स्थिर राजनीतिक कोर्ष सुरु हुन्छ, बनाउनु पर्छ।’

अहिलेको अस्थिर राजनीतिका कारण जनताले सुशासनको अनुभूति गर्नै नपाएको उनको भनाई थियो।

आफ्नो पार्टी नेकपा (एस) ले राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धनको निर्णय अनुसार काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई भोट हाल्ने निर्णय गरिसकेको उनले बत्ताइन्। गएको चुनावको मत परिणामले कुनै पनि दलले एकल सरकार चलाउने म्यान्डेट नदिएको भन्दै मिलेर देश चलाउनुपर्ने भएकाले गठबन्धन गर्नुपरेको बत्ताइन्। गठबन्धनले राष्ट्रपति निर्वाचनपछि निश्चित मानकहरु बनाएर सरकार चलाउन अघि बढ्ने बत्ताइन्। झाँक्रीले राजनीतिमा उच्च नैतिकता र राम्रो संस्कारको थालनी नेतृत्वतकबाटै सुरु हुनुपर्नेमा जोड दिइन्।

बाध्यता वा रहरले जे सुकै भए पनि सत्ताका लागि जहाँ जे गर्दा पनि हुन्छ भन्ने गरी अघि बढ्नु गलत भएको भन्दै  नेपालको निर्वाचन प्रणाली त्यस्तै खालको भएकाले समस्या आएको उनको भनाई थियो। निर्वाचन प्रणाली अनुसार कुनै एउटा दलले बहुमत प्राप्त नगर्ने भएकाले २ वा २ भन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने कानुनी बाध्यताका कारण राम्रा कामका अभ्यास पनि नैतिकताको कसीमा ठिक नदेखिएको उनले बत्ताइन्।

उनले अहिले पनि नेपालमा महिला र पुरुषबिच विभेद कायमै रहेको भन्दै समान काम गर्ने महिला र पुरुषले असमान ज्याला पाउने गरेको बत्ताइन्। एउटा पुरुषले गर्ने काम र महिलाले गर्ने काम समान भए पनि ज्याला फरक दिने व्यवस्थाले विभेद कायम रहेको पुष्टि गर्ने भन्दै झाँक्रीले यस्तो असमानता हटाउन महिलाहरू थप सशक्त भएर अघि बढ्न आग्रह गरिन्। ऐन कानुनमा महिला पुरुषलाई समान कामको समान ज्याला दिने व्यवस्था भए पनि त्यो कार्यान्वयनमा आउन नसकेको भन्दै आगामी दिनमा कार्यान्वयन गर्न संघदेखि स्थानीय तहसम्मले पहल गर्नुपर्ने उनको आग्रह थियो।

झाँक्रीले महिलाहरू कानुनी रूपमा मात्र नभएर सांस्कृतिक, लैङ्गिक र सामाजिक रूपमा पनि विभेदको सिकार हुँदै आएको बत्ताइन्। पुरुष सत्ताले महिलाहरूलाई सन्तान जन्माउने र घरको चुला चौकाभित्र सीमित भएर राख्दै गरेको परम्परा तोड्न एकत्रित र सशक्त भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो।

‘पोथी बास्यो भने धुरी कटाउनुपर्छ’ भन्ने समाजमा हुर्किएर पुस्ताका महिलाहरू अग्रजहरूको त्याग र बलिदानी ले गर्दा आज खुल्ला रूपमा बोल्न र हिँड्न पाएको भन्दै तर, यत्तिमा मात्र रोकिन नहुने झाँक्रीको आग्रह थियो ‘तर, यत्ति मात्र भएर पुग्दैन, अझै धेरै अधिकार पाउन बाँकी छ। त्यसैले समान अधिकार खोज्न हामी आफै अग्रसर होऔँ!’

हलेसी त्रि–धार्मिक स्थलकै प्राङ्गणमा आयोजित कार्यक्रममा झाँक्रीले हलेसी खोटाङको मात्र नभएर सम्पूर्ण देशको सम्पत्ति र गौरव भएको भन्दै त्यसलाई धार्मिक पर्यटन केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्। हलेसीक्षेत्रको धार्मिक पर्यटन विकास गर्न सके नगर र जिल्लावासीको आर्थिक समृद्धि हुने भएकाले यसतर्फ बढी ध्यान केन्द्रित गर्न उनको आग्रह थियो।

‘यहाँ रहेको हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसी जस्तो राष्ट्रिय सम्पत्ति छ’ पूर्व मन्त्री झाँक्रीले भनिन् ‘यसको चौतर्फी विकास गर्दै धार्मिक पर्यटन केन्द्र बनाउन लागी परौँ। त्यसका लागि मैले सक्ने र हुने जत्ति सबै पहल गर्न प्रतिबद्ध छु।’

कार्यक्रममा काँग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, हलेसी तुवाचुङ नगरप्रमुख विमला राई, उपप्रमुख रमेश राउतलगायतले नारी मुक्ति अझै हुन बाँकी रहेको भन्दै त्यसका लागि एकजुट हुन आग्रह गरेका थिए। कार्यक्रम गर्नुअघि विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो। कार्यक्रममा स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिलाई नगरले सम्मान गरेको थियो।

प्रकाशित: २४ फाल्गुन २०७९ १५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App