८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालविरुद्धका रिट निवेदकको प्रश्न: ५ हजार मार्ने देशको प्रधानमन्त्री बन्न मिल्छ?

फाइल तस्बिर

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। 

वि.सं. २०७६ साल माघ १ गते टुँडिखेलमा माघी पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए। 

सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएकाहरु कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। वि.सं. २०७६ साल माघ १ गते टुँडिखेलमा माघी पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भनेका थिए, ‘मलाई ताकेर यहाँ हुनत म प्रमुख अतिथि भएको हुनाले पनि होला, हिजो सबै उत्पीडित जाति, वर्ग, क्षेत्र, समुदायको पहिचान र अधिकारको निम्ति लडाईंको नेतृत्व गरेको पार्टीको नेता हुनुको नाताले पनि होला, मलाई ताकेर यहाँ धेरै कुरा साथीहरुले राख्नुभएको छ। मैले अहिले ती सबै विषयको एकएक जवाफ दिन सायद सम्भव छैन, तर पनि म केही कुरा भन्न चाहन्छु। हुनत मलाई बाहिर पनि साथीहरुले भन्ने गर्नुहुन्छ, म तथ्यांक मात्रै सच्याउन चाहन्छु, तथ्यांक के भने मलाई भन्ने गरिन्छ मैले १७ हजार मान्छे मारेर आएको भन्ने तथ्यांक भन्ने गरिएको छ। साथीहरु र आदरणीय जनसमुदाय यो सत्य होइन, सत्य के हो ? सत्य के हो ? मलाई भन्न दिनहोस्। सत्य के हो भने हिजोको सामन्ती राजाहरु १२ हजार मारेका हुन्, मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु। तर राजाहरुले मारेको १२ हजारको कुरा नहुने, हिजोको राज्यले मारेको १२ हजार, १७ हजार मध्ये १२ हजारको कुरा नहुने, राज्यले मारेको पनि मेरै टाउकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन। मैले सधैँ भनेको छु, युद्धको म जिम्मा लिन्छु, त्यहाँ भएका राम्रा, नराम्रा कामको म जिम्मेवारी छु । कहीँ र कतै भाग्नेकुरा हुनै सक्दैन।’  

रिट दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रिट निवेदक कल्याण बुढाथोकीले २६ जना भएर दुई वटा मुद्दा दर्ता गरेको बताए। उनले द्वन्द्वकालमा कानून विपरितका जघन्य अपराधका विषयमा रिट दर्ता गरेको बताए।  

उनले भने, ‘२६ जनाले दुई वटा रिट निवेदन दर्ता गरेका छौँ। हिजो द्वन्द्वकालमा कानून विपरितका जघन्य अपराधका जो गरेका थिए, माओवादीहरुले त्यही विषयमा रिट निवेदन गरेका छौँ।’

त्यस्तै रिट निवेदक शिवकुमार बुढाथोकीले द्वन्द्व पीडित सम्पती क्षतिबाट ८ जना र माओवादीको कारबाहीमा परी मरेका परिवारका १७ जनाले मुद्दा दर्ता गरेको बताए। उनले प्रधानमन्त्री दाहालले ५ हजार आफूले जिम्मा लिने भनिसकेकाले मानिस मारेको व्यक्ति कानूनको कठघरामा उभिनु पर्छ की पर्दैन? भन्दै प्रश्न गरे। उहाँले तत्कालीन समयमा आफ्नो सबै सम्पती माओवादीले लुटेको र अहिले प्रधानमन्त्री भएको बेलामा फिर्ता गर्न माग गर्दै आफूले रिट दर्ता गरेको बताए।  

उनले आफूहरु अदालतबाट नै न्याय पाइने भएकाले अदालत आएको भन्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द लगायतका नेताहरुलाई पनि विधिको शासन मान्छौँ भनेर शान्ति सम्झौतामा आइसकेपछि चोरी गरेको सम्पती फिर्ता गर्नुपर्दैन भन्दै प्रश्न गरे। उनले  ५ हजार मानिस मार्ने मानिस देशको प्रधानमन्त्री बन्न नसक्ने र पीडितले न्याय पाउनुपर्ने बताए।  

उनले भने, ‘द्वन्द्व पीडित सम्पती क्षतिबाट ८ जना र उहाँहरुले मारेको मृतक परिवारबाट १७ जना हुनुहुन्छ। प्रचण्डजीले सार्वजनिक रुपमा जिम्मा लिएका मानिसमध्ये हाम्रो मान्छे पनि पर्छ। मेरो त घरदेखि सबै लुट्नुभएको हो। उहाँले मेरो सम्पती अहिलेसम्म फिर्ता गर्नुभएको छैन। उहाँ प्रधानमन्त्री भएको बेलामा सबैथोक फिर्ता गरे हुन्थ्यो भन्नेकुरा हो। मैले सम्पतीसहितको माग मागेको छु। उहाँले ५ हजार मैले मारेको छु, म जिम्मा लिन्छु भनेपछि उहाँ कानूनमा उभिनुपर्ने की नपर्ने? भन्ने प्रश्न नै ठूलो हो। अदालतबाट न्याय पाइन्छ भनेर नै हामीले अदालत रोजेका हौँ। नेत्रविक्रम चन्द, डा.बाबुराम भट्टराईलाई पनि भनेको हो, उहाँहरुले मेरो सम्पती चोरेपछि फिर्ता गर्नुपर्छ की पर्दैन? विधिको शासन मान्छौँ भनेर हाम्रो फिर्ता गर्नुपर्दैन। ५ हजार मान्छे मार्ने मान्छे देशको प्रधानमन्त्री भएर बस्न मिल्छ? पीडितहरुले न्याय पाउनुपर्छ।’

प्रधानमन्त्री दाहालविरुद्धको रिटको पेशी सर्वोच्च अदालतले बिहीबार १० बजेका लागि तोकेको छ।  

प्रकाशित: २३ फाल्गुन २०७९ ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App