६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउँछ: वरिष्ठ नेता पौडेल

फाइल तस्बिर

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका छन्।  

आइतबार नेपाल ट्रेड युनियन काँग्रेसको ७७ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका हुन्।

उनले राष्ट्रलाई अगाडी बढाउनका लागि श्रमको सम्मान गर्नुपर्ने बताए। उनले आफ्नो गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए। उनले आफ्नो भुमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गरे।

वरिष्ठ नेता पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने र श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताए।  

उनले भने, ‘हामीले मलुकलाई अगाडी बढाउनको लागि सबैभन्दा बढी श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडी बढाउनु जरुरी छ। आज हाम्रा जम्मै गाउँघर, पाखाहरु बाँझो छन्। हामी विदेशबाट खानेकुरा ल्याएर खाइराखेका छौँ। अरबौँ, खरबौँको आयात गरेका छौँ। धान्ने कसरी हो? त्यसकारण श्रम गरेर, आफ्नै भूमिमा पाखुरा बजारेर हामीले हाम्रो राष्ट्रलाई उठाउनुपर्छ। यही नै राष्ट्रियता हो। यही नै देशभक्ति हो। यो देशभक्तिलाई तपाईहरुले पूर्ण रुपले अवलम्वन गर्नुहुनेछ। र श्रम गर्ने जनतालाई सम्मान गर्ने र प्रेरणा दिने, श्रम गर्नेलाई प्रेरित गर्ने काममा हामी सबै लागौँ। राज्य त्यतै उन्मुख होस्। समाजवाद उन्मुख राज्य भनेर हामीले भनेका छौँ। त्यो साकार हुनुपर्छ। शब्दमा मात्रै अब धेरै खेलेर काम छैन। यो देशमा शब्दहरु धेरै प्रयोग भए। तर ति शब्दको अर्थ निस्कनुपर्‍यो। शब्दको अर्थ साकार हुनुपर्‍यो।’

उनले श्रम गरेर बाँच्न सबैलाई आग्रह गरे। श्रम गर्दा शरीर स्वस्थ रहने भन्दै उनले शरीरलाई स्वस्थ बनाइराख्नका लागि पनि श्रम आवश्यक रहेको बताए। 

प्रकाशित: २१ फाल्गुन २०७९ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App