८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

पूर्वराष्ट्रपतिसँग मुखर्जी

काठमाडौं– भारतीय राष्ट्रपति प्रणव मुखर्जीले दलीय सहमतिमा संविधान कार्यान्वयन हुनुपर्ने औंल्याएका छन्। नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका मुखर्जीले बिहीबार पूर्वराष्ट्रपति रामवरण यादवसँगको भेटमा शान्ति, स्थायित्व र सहभागितामूलक लोकतन्त्रको वातावरणमा मात्र आर्थिक विकास सम्भव हुने बताए।

‘सहमति गरेर जानुपर्छ, मिलेर समाधान खोज्नुपर्छ,’ पूर्वराष्ट्रपति यादवसँगको भेटमा मुखर्जीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘नेपालको शान्ति, स्थायित्व र प्रगतिमा हाम्रो चासो छ ।’

संविधानले समाजका सबै वर्ग/क्षेत्रलाई राजनीतिक प्रक्रिया र उपलब्धिमा समान रूपमा सहभागी बनाइएको जनाउँदै मुखर्जीले संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ नेपालको यात्रामा भारतको सधैं सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

पूर्वराष्ट्रपति यादवले हिंसात्मक आन्दोलनमा रहेका तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदै संविधानसभाबाट संविधान जारी गर्न नेपाल सफल भएको सुनाएका थिए । संविधानको सफल कार्यान्वयनले मात्र आन्दोलनका सबै उपलब्धि संस्थागत हुने जनाउँदै पूर्वराष्ट्रपति यादवले मुखर्जीसँगको भेटमा भनेका थिए, ‘समय अत्यन्त कम छ, सहमतिबिना संविधान कार्यान्वयन सम्भव देखिँदैन ।’

अन्तिम समयमा मिलेरै समस्या समाधान गर्ने विगतको दलीय परम्परा स्मरण गराउँदै उनले संविधान कार्यान्वयनमा पनि यसैगरी जुट्नेमा आफू आशावादी रहेको सुनाएका थिए ।

‘संविधानप्रति केही राजनीतिक दल र समुदायको असन्तुष्टि छ । त्यसलाई राजनीतिक दलले मिलेरै सम्बोधन गरेर संविधानको सफल कार्यान्वयन गर्नेछन् भन्नेमा पूर्ण आशावादी छु,’ मुखर्जीसँगको भेटमा यादवले भनेका थिए, ‘दलहरु मिल्नुको विकल्प छैन, सहमति नभए अब संविधान कार्यान्वयन हुँदैन ।’

पूर्वराष्ट्रपति यादवले भारतका राष्ट्रपति मुखर्जीसँग शिष्टाचार भेट भएको जनाउँदै दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल भएको जानकारी दिए । ‘दुई देशको आपसी हित र सम्बन्ध अझ कसरी प्रगाढ बनाउने विषयमा कुरा भयो,’ यादवले भने ।

अध्ययन क्रमका साथी पूर्व राष्ट्रपति यादव र राष्ट्रपति मुखर्जीबीच कोलकातामा रहँदा चिनजान भएको हो ।

प्रकाशित: १९ कार्तिक २०७३ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App