काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवं सामाजिक उपलब्धिहरूको जर्गेना गर्दै समुन्नत नेपाल निर्माण अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेकी छिन् ।
तिहार र नेपाल संवत्को अवसरमा राष्ट्रपति भण्डारीले दिएको छुट्टाछुट्टै शुभकामना सन्देशमा उल्लेख छ, ‘नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवं सामाजिक उपलब्धिहरूको जर्गेना गरी समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न यस उज्यालो पर्वले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्छु ।’
उज्यालको पर्व तिहारले सम्पूर्ण नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गर्दै राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘ यस पर्वले नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्ररेणा प्रदान गरोस् ।’
त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभाबाट जारी संविधानको सफल कार्यान्वयन गरेर पटक÷पटक भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै एकजुट हुनुपर्ने जनाएका छन् । ‘मुलुक यतिखेर इतिहासको एक महŒवपूर्ण मोडमा उभिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भई लोकतान्त्रिक आन्दोलनमार्फत प्राप्त उपलब्धिलाई कार्यान्वयन र संस्थागत गर्ने क्रममा हामी सबै प्रयत्नरत छौं,’ देउवाको शुभकामना सन्देशमा भनिएको छ, ‘सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायले आआफ्ना स्वार्र्थ त्यागेर मुलुकको समुन्नति र मुलुकवासीको हितलाई सर्वोपरी ठानी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सक्यौं भने मात्र मुलुकलाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सक्छौँ ।’
संविधान समय, काल, परिस्थिति, आवश्यकता र जनचाहना अनुसार परिवर्तनीय हुने जनाउँदै देउवाले मुलुकका सामु विद्यमान समस्याको शान्तिपूर्ण ढंगबाट आपसी सद्भाव र एकताका आधारमा समाधान गर्न आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक अग्रसर हुन पनि सबै पक्षलाई आह्वान गरेका छन् ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र भएको उल्लेख गर्दै देउवाले मौलिक भेषभूषासहितका यिनै विविधता राष्ट्रिय पहिचान बनेको स्मरण गरेका छन् । ‘हामीमा निहित बन्धुत्वभावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ,’ उनले भनेका छन्, ‘तिहारले पनि हामीबीचको एकतालाई अझ बलियो बनाएको छ ।’
प्रकाशित: १३ कार्तिक २०७३ १४:२८ शनिबार