६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपति/उपराष्ट्रपतिमा गठबन्धनले भारी मतले जित्छः काँग्रेस सहमहामन्त्री पाण्डे

नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी २५ गते हुने राष्ट्रपतिको निर्वाचन काँग्रेसको अहिलेको पहिलो प्राथमिकता रहेको बताएका छन्। यसै गरी उपराष्ट्रपतिको निर्वाचन र सुदूर पश्चिममा रहेको काँग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिलाउनु काँग्रेसको अहिलेको प्रमुख कार्यभार रहेको बताए। 

नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा पाण्डेले वर्तमान गठबन्धनमा ८ राजनीतिक दल सहभागी भएको र गठबन्धनका तर्फबाट राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारको जीत सहज हुने बताए। ‘अहिले गठबन्धनमा हामी ८ दल छौँ, राष्ट्रपति र उपराष्ट्रपतिमा गठबन्धनका उम्मेदवारको जीत सहज छ,’ उनले भने ‘मलाई लाग्छ यो गठबन्धनमा अन्य दलहरु पनि थपिने छन् र मत भार अझ बढ्ने छ, गठबन्धनले भारी मत भारले जित्छ।’  

यसै गरी उनले सत्ता समीकरण आफूहरूको प्राथमिकतामा नरहेको बताए। तर वर्तमान सरकारलाई टिकाउन विश्वासको मत दिनु पर्ने अवस्था आए सरकारलाई टिकाउन काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए। ‘सरकारको अस्थिरता हुनु राम्रो हैन,यसर्थ तत्कालको तत्काल सरकारको नेतृत्व फेरिनु हुन्न,’ पाण्डेले भने ‘यसर्थ अहिलेको सरकारलाई जोगाई राख्न विश्वासको मत दिनु पर्ने अवस्था आए काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ।’ 

एमालेले सरकार छोडेको र सरकारको समर्थन समेत फिर्ता लिने निर्णय गरेको प्रसंग उल्लेख गर्दै उनले यो अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने र त्यो बेला विश्वासको मत दिइने बताए। ‘एमाले सरकारबाट बाहिरिएको र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ,’ उनले भने ‘यो अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने हुन्छ, हामी मत दिन्छौँ र यसपछि मात्रै सत्ता समिरकणको छलफल प्रारम्भ होला।’ 

वर्तमान सत्ता गठबन्धन पुरानो अवस्थामा फर्किएको र यसले मतदाताको आदेशको लय पकडेको समेत पाण्डेले बताए। गत निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरुलाई एक दलले अर्को दलले सहयोग गरेको उल्लेख गर्दै उनले मतदाताले दिएको जनादेशको लय फेरी गठबन्धनमा आवद्ध दलहरुले पकडेको बताए। ‘हिजो काँग्रेसलाई माओवादीका साथीहरुले मतदान गर्नु भयो, माओवादीलाई काँग्रेसका साथीहरुले मतदान गर्नुभयो,यो गठबन्धनको निरन्तरताको जनादेश थियो,’ उनले भने ‘बिचमा केही साना त्रुटि भए , तर त्यो जनादेशको लय अहिले पकडिएको छ।’ साथै उनले यो गठबन्धनलाई कायम राख्नका लागि काँग्रेस प्रतिबद्ध रहेको समेत बताए। 

प्रकाशित: १५ फाल्गुन २०७९ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App