२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कार्की पक्षबाट सांसद शाहीलाई धम्की

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावको प्रस्तावक बनेका माओवादी केन्द्रका सांसद् महेन्द्रबहादुर शाहीले विपक्षीबाट आफूलाई धम्की आएको बताएका छन्। उनले विपक्षी कार्की पक्षबाट मात्र नभइ आफ्नै पार्टीभित्रैबाट पनि दबाब र धम्की आएको जनाए।

शाहीको प्रस्तावमा संसद्मा महाभियोग दर्ता भएको हो। सो प्रस्तावको समर्थक एमाले सांसद भानुभक्त ढकाल हुन्। महाभियोग प्रस्ताव दर्तापछि चर्चामा आएका शाही कालिकोटबाट निर्वाचित सांसद हुन्। उनी महाभियोग प्रस्ताव सफल हुनेमा दृढ छन्।

शाहीले  कार्कीका  पक्षबाट आफूलाई दबाब र धम्की आएको तर आफू पछि नहट्ने बताएका छन्।  उनका अनुसार महाभियोगको प्रस्तावक बनेपछि अनेक स्थानबाट दबाब आएको तर त्यसले आफूलाई कुनै पनि असर नपार्ने उनको भनाइ छ। 'महाभियोग प्रस्ताव दर्तापछि कार्कीका केही मान्छेले टेलिफोन गरी गलत कदम चालेको चेतावनी दिएका थिएँ,' शाहीले भने, 'तर मैले म माओवादी विद्रोहका बेला डिभिजन कमान्डर भइ कयौै लडाइँमा मरेर बाँचेकाले अब कतैतिरबाट आउने दबाब सुन्दिनँ  भन्ने जवाफ दिए।'

महाभियोग लगाउने निर्णय व्यक्तिगत नभई पार्टीको भएकाले कसैको दबाबले आफूलाई फरक नपारेको उनले बताए।  महाअभियोग प्रस्तावबाट माओवादी पछि हट्न सक्नेमा शंका नगर्न उनले आग्रह गरे।

उनले कांग्रेससहित तीन दलीय सहमति गर्न लागेको भए महाभियोग प्रस्ताव आउनै नपाउने भएकाले छापामार शैलीमा दर्ता गर्नुपरेको खुलाए।

महाभियोग प्रस्ताव दर्ता हुनुअघि नै कार्कीले प्रतिशोध साँध्ने तयारी गरेकाले आफ्नै पार्टीका कतिपय सांसदलाई पनि झुक्याउनुपरेको उनले स्पष्ट पारे। 'महाभियोग लगाउनुपर्छ भन्नेमा सबै सांसद अहिले पनि सहमत छन्,' शाहीले भने,  'दर्ता गर्नुअघि जानकारी नदिइएको भन्ने गुनासो स्वाभाविक हो। केही ढिला गरेको भए प्रस्ताव दर्ता हुनै पाउने थिएन, खेल अर्कै भइसक्ने थियो।'

उनले कांग्रेसलाई पर्खिएको भए महाभियोग प्रस्ताव दर्ता हुन नसक्ने देखेरै एमालेसँग मिलेर रातारात दर्ता गर्नुपरेको बताए। 'गुन्डाले टेन्डर कब्जा गरेजस्तै यो प्रस्ताव कब्जा हुन सक्थ्यो,' शाहीले भने, 'कांग्रेस अझै पनि अलमलमा पर्नु र त्यस पार्टीका नेताले अनेकथरी कुरा गर्नुले पनि त्यो आशंका पुष्टि गरेको  छ।'

मुख्यमुख्य नेतालाई अभियोग लगाएर जेल हाल्ने र सत्ता समीकरण राजनीतिमा उथलपुथल ल्याउने कार्कीको तयारी बुझेर नै उनीविरुद्ध महाभियोग लगाउन एमाले र माओवादी केन्द्र एकठाउँमा आएको शाहीले बताए।

उनले आफ्नै पार्टीभित्रबाट पनि दबाब आएको बताए पनि यसलाई खुलस्त पार्न चाहेनन्।

महाभियोग प्रस्तावबारे औपचारिक निर्णय  माओवादी केन्द्र र एमाले दुवै दलमा नभएको कुरा बु‰न जरुरी भएको उनले बताए। व्यक्तिगत ढंगले सांसदले आफ्नो अधिकार प्रयोग गरेका भएकाले यसलाई यही रुपमा बु‰नुपर्ने उनको भनाइ छ। 

शाही माओवादी विद्रोहका बेला तत्कालीन जनमुक्ति सेनामा डिभिजन कमान्डर थिए।

प्रकाशित: ८ कार्तिक २०७३ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App