संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक भएकाले सहमति कायम गरेर नयाँ राष्ट्रपति चयन गर्नुपर्ने बताएका हुन्।
नयाँ राष्ट्रपतिका लागि दलहरू बीच सरगर्मी बढिरहँदा मन्त्री किरातीले राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा नै चयन हुनुपर्ने बताउँदै राष्ट्रिय सहमतिको विकल्प नभएको उल्लेख गरे।
उद्योग वाणिज्य सङ्घ भोजपुरले गरेको जिल्लाको संस्कृति, पर्यटन प्रवर्द्धन र विकास विषयक अन्तर्क्रियामा सहभागी हुँदै मन्त्री किरातीले दलहरूका बीचमा पदको बाँडफाँट भएको र राष्ट्रिय सहमतिका लागि नेपाली कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीलाई उपराष्ट्रपति दिँदा पनि फरक नपर्ने बताए। राष्ट्रिय सहमति कायम गर्न सकिएमा मुलुक पनि सहजरूपमा अगाडि बढ्ने उनको धारणा छ।
सोही क्रममा उद्योगी व्यवसायीहरूले राखेका मागका विषयमा बोल्दै मन्त्री किरातीले आर्थिक विकासको मेरुदण्ड पर्यटन भएको बताए।
प्रकाशित: ११ फाल्गुन २०७९ १५:०२ बिहीबार





