नेकपा (माओवादी केन्द्र) का महासचिव देब गुरुङले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल विदेशीको क्रिडास्थल बन्ने भन्दै सचेत गराएका छन्। रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा गरेको साक्षात्कारमा गुरुङले प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरुले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउनु पर्ने बताए।
राष्ट्रपति त्यस्तो ब्यक्ति हुनु पर्ने जो सर्वमान्य, संविधानको रक्षक र मूलुकमा परिवर्तन भएको गणतन्त्रको संरक्षकका साथै राष्ट्रिय स्वधिनताको रक्षकसँगै सबै दलको साझा व्यक्तिको चयनतर्फ लाग्नु पर्नेमा गुरुङले जोड दिए।
बढ्दो राजनीतिक अस्वस्थ प्रतिस्पर्धा र दलहरुको निषेधको राजनीतिले निरन्तरता पाए देश अफगानिस्तान र युक्रेन बन्ने तर्फ स्वयम दलहरुनै लागि परेका उनको भनाइ छ। निषेधको राजनीति नभई सहमतिको राजनीतिलाई निरन्तरता दिनुपर्नेमा गुरुङले जोड दिए।
पछिल्लो समय सरकारमै बसेर गणतन्त्र समाप्त गर्ने योजनाहरु बाहिर देखिएको बताउँदै गुरुङले नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापामा देखाएको हर्कतले के संकेत गर्छ भन्दै प्रति प्रश्न गरे।
रास्वपाका सभापति रवि लामिछानेले अदालतको पूर्णपाठ नआउँदै गृह मन्त्रालय माग्नुले पनि संविधान उल्लंघन गर्ने काम भएको गुरुङको भनाइ छ।
पूर्व राजा ज्ञानेन्द्रले संविधानको उल्लंघन गर्दै बाहिर ल्याएको वक्तव्य तर्फ सरकारको ध्यान जान नसक्नु र सरकारमै बसेर निरन्तरता दिनेहरुको समुहले ढिला चाँडो गणतन्त्र उल्टाउने भन्दै समयमै यस तर्फ ध्यान दिनु पर्ने गुरुङले बताए।
प्रकाशित: ११ फाल्गुन २०७९ ११:४५ बिहीबार