७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

पुरानो गठबन्धन ब्युँताउने कांग्रेस-माओवादी समझदारी

प्रमुख राजनीतिक दलले नयाँ राष्ट्रपतिको उम्मेदवार तय गर्न राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्। राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएसँगै प्रमुख दलका शीर्ष नेताहरू मात्र होइन, विभिन्न शक्ति राष्ट्रका काठमाडौंस्थित प्रतिनिधिले पनि दलीय भेटलाई तीव्रता दिएका छन्। दलबीच नयाँ राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने र नयाँ समीकरणको औपचारिक र स्पष्ट आकार भने देखिएको छैन। पुस १० गतेको समझदारी अनुसार एमालेलाई राष्ट्रपति नदिने निष्कर्षमा पुगेको माओवादी केन्द्र र नेपाली कांग्रेसबीच प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघिको गठबन्धनलाई ब्युँताउने समझदारी बनेको नेताहरूको दाबी छ।  

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने आश्वासन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साँझ दिएका थिए। सोमबार बसेको पार्टी पदाधिकारी बैठकबाट राष्ट्रपतिबारे निर्णय लिने अधिकार आफैंले लिएका दाहालले बुधबार साँझ कांग्रेस नेताहरूसँगको भेटमा निर्वाचनअघिको पाँचदलीय गठबन्धनलाई ब्युँताउने समझदारी गरेको स्रोतको दाबी छ। ‘कांग्रेस र माओवादीबीच पाँचदलीय पुरानो गठबन्धनलाई निरन्तरता दिने समझदारी बनेको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘पुरानो गठबन्धन भनेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई पनि त्यसमा जोड्नुपर्छ। त्यसका लागि भोलि (बिहीबार) दुई पक्षीय र बहुपक्षीय छलफल हुन्छ।’ नेकपा एस, जसपासहितका दलहरूसँग छलफलपछि बिहीबार नै पाँच दलको बैठक बसेर एउटा समझदारीमा पुग्ने ती नेताको दाबी छ। ‘कांग्रेस र माओवादीबीच बुधबारको छलफल सकारात्मक रूपमा टुंगेको छ,’ छलफलमा सहभागी ती नेताले भने, ‘अन्य दलसँग छलफल गरेर भोलि (बिहीबार) साँझसम्म हामी लिखित समझदारी गरेर टुंगोमा पुग्नेछौं।’  

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने र माओवादी नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिनेसहितका विषयमा अरू दलसँग समझदारी गरेर अघि बढ्ने दुईदलीय तयारी रहेको नेताहरूको दाबी छ। ‘राष्ट्रपति कांग्रेसको उम्मेदवार नै हुने हो, सरकार यसैले निरन्तरता पाउँछ। अन्य दलहरूलाई पनि आश्वस्त बनाएर अघि बढ्छौं,’ ती नेताले भने, ‘पुस १० गते भएकोे गल्ती सच्याएर हामी अघि बढ्ने भयौं।’ दुई दलका शीर्ष नेताहरूको बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले कांग्रेसबाट राष्ट्रपतिमा को उम्मेदवार बन्ने हो भन्ने विषयमा चासो राखेका थिए। तर उनले कांग्रेसले गर्ने निर्णयमा आफूलाई कुनै समस्या नभएको पनि बताएका थिए। कांग्रेसले नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा अघि सार्ने तयारी गरेको छ। माओवादी नेताहरूसँग छलफल गर्नुअघि कांग्रेस सभापति देउवासहितका नेताहरू धुमबाराहीमा बैठकमा जुटेका थिए।

त्यसअघि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले कांग्रेस नेताहरूसँग देउवा निवासम छलफल गरेका थिए। घनश्याम भुसाल र वेदुराम भुसालसहित देउवा निवास धुमबाराही पुगेका नेकपा एसका अध्यक्ष नेपालले राष्ट्रपतिमा आफ्नो पार्टीको पनि दाबी रहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए। कांग्रेस नेताहरूसँगको भेटमा सहभागी नेकपा एसका महासचिव वेदुरामले संविधान र लोकन्त्रविरुद्ध प्रहार हुँदै आएको जनाउँदै संविधान र लोकतन्त्र पक्षधर शक्तिहरू विगतमाजस्तै मिलेर अघि बढ्नुपर्ने प्रस्ताव आफूले राखेको बताए। संविधान पक्षधरहरू मिलेर अघि बढ्नुपर्छ भन्नेमा कांग्रेस नेताहरू पनि एकमत रहेको बताउँदै उनले भने, ‘हाम्रो पार्टीको तर्फबाट राष्ट्रपतिमा स्वाभाविक दाबी पेस गरेका छौं।’ राष्ट्रपति निर्वाचनमा संविधान पक्षधरहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले थपे, ‘छलफल टुंगेको छैन, भोलि (बिहीबार) पनि कांग्रेस र हामीबीच, हामी र माओवादीबीच र बहुपक्षीय छलफल गरेर निष्कर्षमा पुग्छौं।’ नेकपा एसको बुधबार बसेको सचिवालय बैठकले नयाँ राष्ट्रपतिमा पार्टीले दाबी गर्ने अध्यक्ष नेपाललाई उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको थियो। अध्यक्ष नेपाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सार्ने निर्णय भएको जानकारी दिंदै उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले भने, ‘त्यसका लागि सबै राजनीतिक दलसँग संवाद गर्ने निर्णय भएको छ।’ सचिवालयको निर्णयपछि नेकपा एसका नेताहरू देउवालाई भेट्न गएका थिए।

सचिवालय बैठकमा अध्यक्ष नेपालले राष्ट्रपति निर्वाचनका क्रममा भइरहेको दलीय भेटघाट र छलफलको जानकारी गराउँदै एमाले अध्यक्ष केपी ओलीसँग आइतबार भेट भएको बताएका थिए। नेपालले नेता कृष्णकुमार श्रेष्ठ (किसान) को निवासमा ओलीसँग भेटेका थिए। भेटका क्रममा ओलीले पार्टी एकीकरणसहित राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेको बताइएको छ। त्यसलगत्तै राष्ट्रपतिका लागि सक्रियता बढाएका नेपालले बैठकमा भने ओलीले राष्ट्रपतिका लागि प्रस्ताव गरेको बताएनन्। पार्टी एकता गर्न ओलीले प्रस्ताव गरेको नेपाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘अध्यक्षज्यूले उहाँ (ओली) को प्रस्तावप्रति आश्वस्त नरहेको बताउनुभयो।’

बैठकमा नेपालले माओवादी केन्द्र पनि एमालेसँग सहकार्यको पक्षमा नभएको धारणा राख्दै कांग्रेस नेतृत्वमा रहेको निर्वाचनअघिको गठबन्धन ब्युँतिने अवस्था रहेको बताएका थिए। नेकपा एसका उपाध्यक्ष पाण्डेले एमाले अध्यक्ष ओलीबाट नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव नआएको र एमालेसँग तत्काल एकीकरणको पनि कुनै सम्भावना नरहेको बताए। पाण्डेले भने, ‘विभिन्न भ्रम फैलाउने काम भएको छ, त्यो सत्य होइन। एमालेसँग एकताको कुनै सम्भावना छैन।’

एमालेसमेतको समर्थनमा नेपाल राष्ट्रपतिको उम्मेदवार बन्ने प्रयासमा जुटेसँगै उनलाई बुधबार नै कांग्रेस नेता रामचन्द्र पौडेलले भेटे। पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न नेपालसँग आग्रह गरेका थिए। नेपालले यसबारे पार्टी बैठकमा छलफल गरेर अघि बढ्ने बताएका थिए। कांग्रेस नेताहरूसँग नेकपा एसका नेताहरूले भेट गर्नु पहिला जसपाका अध्यक्ष उपेन्द्र यादवले देउवासहितका नेतालाई भेटेका थिए। उनले राष्ट्रपतिमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एसबीच सहमति भए आफ्नो पार्टीको पनि समर्थन र सहयोग रहने आश्वासन दिएको बताइएको छ। राज्यको प्रमुख पदमा पहाडे समुदायको मात्र प्रतिनिधित्व भएको भन्दै यादवले आफ्नो दलले उपराष्ट्रपति पाउनुपर्ने प्रस्ताव देउवासँग राखेका थिए। प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा कांग्रेस नेतृत्वको तत्कालीन सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेको जसपा वर्तमान सत्ता गठबन्धनमा भए पनि सन्तुष्ट छैन।  

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बुधबार नै राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल भयो। नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री दाहाललाई भेटेलगत्तै ओली बालुवाटार पुगेका थिए। एक घण्टा लामो छलफलमा ओलीले पुस १० गतेको समझदारीमा अडिन दाहाललाई आग्रह गरेका थिए।  

एमालेबाट अलग भएका माधवकुमार नेपाललाई आइतबार साँझ भेटेर राष्ट्रपतिमा प्रस्ताव गरेका ओलीले दाहालसँगको भेटमा पार्टी उपाध्यक्ष सुवाचन्द्र नेम्वाङसहितका नेताहरूको नाम प्रस्ताव गरेको स्रोतको दाबी छ। नेता नेपालको नाम पनि उनले राष्ट्रपतिका रूपमा लिएको तर त्यसमा गम्भीरता नभएको स्रोतको दाबी छ। कांग्रेसबाहेक आफ्नै पार्टी एमालेका नेम्वाङ, ईश्वर पोखरेल, महेन्द्रबहादुर पाण्डे, अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, केशव वडालसहितका नेताहरू मात्र होइन, अन्य पार्टीका नेताहरूको नाम पनि लिँदै आएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो पार्टीबाट राष्ट्रपति बन्ने अवस्था नभए एमालेको समर्थन रहने ओलीले आश्वासन दिएका छन्। सोही अनुसार लोसपाले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारेको छ। एमाले अध्यक्ष ओलीसँग मात्र होइन, प्रधानमन्त्री दाहालसँग मंगलबार नै उनीहरूले भेटेर सहयोग मागेका छन् भने बुधबार बिहान कांग्रेस सभापति देउवालाई पनि भेटेका छन्। राष्ट्रपतिमा ठाकुर उपयुक्त उम्मेदवार भएको जनाउँदै लोसपाका नेताहरूले कांग्रेससँग सहयोग मागेका हुन्। कांग्रेस नेताहरूले लोसपा विपक्षी गठबन्धनमै रहेको भन्दै सहमति गरेर अघि बढ्ने आश्वासन दिएका छन्।

ओलीले यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, अमिक शेरचनका साथै वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनसहित विभिन्न नेताहरूलाई पनि राष्ट्रपतिमा सहयोग गर्ने आश्वासन दिएको नेताहरूको दाबी छ। शक्ति केन्द्रहरूको चासोका साथै दलहरूभित्र आशंका र विवाद ल्याउन ओलीले विभिन्न व्यक्तिलाई राष्ट्रपतिमा प्रस्ताव गर्नेक्रम नरोकिएको जनाउँदै माओवादी एक पदाधिकारीले भने, ‘कहाँ कसलाई अघि सार्दा अफ्ठेरो पार्न सकिन्छ भन्ने हिसाब गरेर राष्ट्रपतिमा उहाँले नाम प्रस्ताव गर्दै आउनु भएको छ।’

चिनियाँ राजदूत सक्रिय

प्रमुख राजनीतिक दलका नेताहरू नयाँ राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन छलफलमा व्यस्त रहेका बेला नेपालका लागि चिनियाँ राजदूत चेन सङले राजनीतिक भेटलाई तीव्र बनाएका छन्। दाहाल नेतृत्वमा नयाँ सरकार गठन भएसँगै शक्ति राष्ट्रहरूको चासो बढको छ। शक्ति राष्ट्र नेताहरू नेपाल भ्रमणमा आउने क्रम जारी छ। चिनियाँ राजदूत चेनले बुधबार प्रधानमन्त्री दाहाल र नेकपा एसका अध्यक्ष नेपालसँग भेट गरे। नयाँ राष्ट्रपति निर्वाचनप्रति चिनियाँ चासो बढ्दै गएका बेला उनले एकैदिन दाहाल र नेपाललाई भेटेका हुन्। चिनियाँ राजदूतले दाहाललाई भेटेलगत्तै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका थिए। चिनियाँ राजदूतले शिष्टाचार भेट गरेको बताइए पनि उनले यसअघि माघ २ गते दाहालसँग र ओलीसँग शुक्रबारसँग उनकै निवास बालकोट पुगेर भेटेका थिए। माओवादी केन्द्र एमालेसँगको सहकार्य तोडेर कांग्रेससहितका दलहरूसँग मिलेर अघि बढ्ने समाचार बाहिरिएपछि राजदूत चेनको सक्रियता बढेको हो। एमाले, माओवादी केन्द्रसहितका कम्युनिस्ट पार्टीहरूबीचको गठबन्धनको पक्षमा रहेको भनिएको चिनियाँ राजदूतको सक्रियतालाई सोहीरूपमा हेरिएको छ।  

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा फागुन १ गते काठमाडौं आएका थिए। उनको भेटले कांग्रेस, माओवादीसहितको नयाँ गठबन्धन निर्माणमा भूमिका खेलेको कूटनीतिक जानकार बताउँछन्। काठमाडौंमा उनले प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओलीसहितका नेतालाई भेटेका थिए। नयाँ सरकार बनेपछि अमेरिका, बेलायतसहित विभिन्न देशका प्रतिनिधि र उच्च अधिकारीको भ्रमण पनि बाक्लिएको छ।

प्रकाशित: ११ फाल्गुन २०७९ ००:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App