८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

श्रीलंकाली राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालले भने- 'नेपाली महिला तस्करी रोकिदिनुस्'

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले श्रीलंकालाई ट्रान्जिट बनाएर नेपाली महिलाको खाडीतर्फ हुँदै आएको ओसारपसार रोकिदिन श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरसेनासमक्ष आग्रह गरेका छन्। भारतको गोवामा जारी ब्रिक्सको आउटरिच सम्मेलनमा भाग लिइरहेका प्रधानमन्त्री दाहालले उठाएको विषयलाई सिरसेनाले चासोसाथ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा दुई नेताबीच दुई देशबीच सिधा हवाई सेवा सञ्चालन र स्थगित सार्क शिखर सम्मेलन शीघ्र आयोजनाबारे पनि छलफल भएको थियो।

त्यस क्रममा दाहालले भौगोलिक दृष्टिले नेपाल र श्रीलंका केही टाढा रहे पनि दुवै देशले दक्षिण एसियाको विकास र सम्बन्धमा मिलेर भूमिका खेल्नुपर्ने जोड दिए।

प्रधानमन्त्री दाहालले नेपाल र श्रीलंकाबीच सिधा हवाई सेवा सञ्चालनमार्फत दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनुपर्ने विचार राखेका थिए।

उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन शीघ्र आयोजना गर्नुपर्ने भन्दै त्यसका लागि सार्क राष्ट्रबीच साझा धारणा आवश्यक रहेको औंल्याए।

प्रधानमन्त्रीले लागुऔषध अभियोगमा श्रीलंकाले ललितपुरका चेतबहादुर थापालाई दिएको मृत्युदण्ड फैसलाबारे पुनर्विचार गर्न सिरसेनासँग अनुरोधसमेत गरे।

श्रीलंकाली राष्ट्रपतिले संविधानअनुरुप पाएको अधिकार प्रयोग गरी थापाको मृत्युदण्ड सजाय कटौती गर्नुपर्ने उनकोे आग्रह थियो।

भेटमा श्रीलंकाली राष्ट्रपति सिरसेनाले नेपालसँग श्रीलंकाको सम्बन्ध मैत्रीपूर्ण रहेको भन्दै सार्क सम्मेलन आयोजनाका लागि दुवै देश मिलेर पहल गर्नुपर्ने धारणा राखेका थिए।

प्रकाशित: १ कार्तिक २०७३ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App